|

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले विवाह पञ्चमी महोत्सवको धार्मिक, पौराणिक र सांस्कृतिक वैशिष्ट्यलाई अक्षुण्ण राख्न तथा पर्वप्रति आस्था अभिव्यक्त गर्न मंसिर २१ गते हरेक घरमा दीपोत्सव गर्न जनकपुरधामवासीलाई आह्वान गरेका छन्।

बिहीबार भिडियो सन्देश जारी गर्दै मुख्यमन्त्री सिंहले विवाहपञ्चमीका दिन एघार वा एक्काइसवटा दीप भए पनि जनकपुरधामका प्रत्येक घरआँगनमा जलाएर रामजानकी विवाहप्रतिको श्रद्धाभक्ति तथा अनुष्ठान परम्परालाई थप भव्य बनाउन आग्रह गरेका हुन्।​

जनकपुरधाममा अयोध्याबाट आएका जन्ती विभिन्न कार्यक्रममा सरिक भइरहेको भन्दै देश तथा विदेशका विभिन्न ठाउँबाट मेला भर्न जनकपुरधाम आएका श्रद्धालुलाई आफ्नै घरमा भए पनि वासको व्यवस्थापनमा सघाउन मुख्यमन्त्री सिंहले जनकपुरधामवासीसँग आग्रह गरेका छन्।

सन्देशमा उनले भनेका छन्, ‘घरपरिवारका सदस्यले उपयोग गर्नेबाहेकका अतिरिक्त कोठामा बाहिरबाट आएका श्रद्धालुलाई जनकपुरवासीलाई वासको व्यवस्था गरिदिन म अनुरोध गर्छु।’

मुख्यमन्त्री सिंहले बाहिरबाट आएका श्रद्धालुलाई होटल तथा धर्मशाला आदिमा वास व्यवस्थापन नभए प्रदेश सरकार र जनकपुरधाम उपमहानगरले शहरका विभिन्न ठाउँमा बनाएका पालमुनि आराम गर्न सुझाएका छन्।

उनले प्रदेश सरकारले जनकपुरधामका रेल्वे स्टेशन, तिरहुतिया गाछी, कलवार कुट्टी र मणिमण्डप तथा जनकपुरधाम उपमहानगरले बाह्रबिघा मैदानमा बनाएका अस्थायी आवासमा आवश्यक भएकाहरूलाई बस्न सुझाएका हुन्।

उनले हिँड्डुल गर्न नसक्ने र श्वासप्रश्वासजस्ता रोगका समस्या भएकालाई मेला भर्न यो वर्ष पालो पर्खन भन्दै विवाहोत्सवमा सहभागी हुन आउने श्रद्धालु तथा साधुसन्तलाई न्यानो लुगा, कम्बल‚ तन्ना‚ चादर आदि ल्याउन आग्रह गरेका छन्

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.