जनकपुरधाम : आज जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदानमा जानकीको स्वयंवर सम्पन्न भएको छ।
शुक्रबार जनकपुरधामको जानकीमन्दिरबाट बाजागाजासहित कडा सुरक्षाबीच निस्केको डोला रंगभूमि मैदानमा पुगेपछि राम मन्दिरबाट गएको डोलालाई तीनपटक प्रदक्षिणा गरेर स्वयंवर सम्पन्न भएको हो।
रातिदेखि जानकी मन्दिरको परिसरमा निर्माण भएको आकर्षक विवाहमण्डपमा मिथिला परम्पराअनुसार भगवान् श्रीराम तथा माता सीताको प्रतीकात्मक विवाह हुने कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले बताए।
तत्कालीन मिथिलाका राजा जनकले गरेको प्रतिज्ञा अनुसार अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र भगवान् श्रीरामले भगवान् शिवको पीनाक धनुषमा प्रत्यञ्चा चढाउँदा तीन टुक्रा भएको थियो। धनुषमा प्रत्यञ्चा चढाएपछि मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको शुभ विवाह आजैको पावन तिथिमा माता सीतासँग सम्पन्न भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाह पञ्चमी महामहोत्सव सप्ताहव्यापी रूपमा मनाउने चलन छ।
आज राति हुने उक्त वैवाहिक कार्यक्रममा महिलाहरू विवाहका गीत गाउने गर्छन्। विवाह पञ्चमीको सातौँ दिन भारतको अयोध्याबाट जन्तीको रूपमा आएका साधु सन्तलाई भोजन गराउँदै बिदाइ गरिन्छ। जसलाई रामकलेवा भनिन्छ।
रामकलेवामा बेहुला पक्षबाट आएकाहरूलाई गाली गर्ने परम्परा रहेको छ। मन्दिरका पुजारी तथा मैथिल नारीहरू गीतकै माध्यमले गाली गर्छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।