|

काठमाडौँ : बेथिति, विसङ्गति तथा जनसरोकारका विषयमा निरन्तर प्रश्न गरेर साढे दुई वर्ष अघि जवाफ दिने ठाउँमा पुगेका हर्क साम्पाङ पछिल्लो समय ‘अहङ्कारी’का रुपमा चिनिन थालेका छन्।

२०७९ वैशाखको स्थानीय तह निर्वाचनमा प्रमुख तथा पुराना दलहरूलाई पाखा लगाउँदै धरान उपमहानरपालिका प्रमुखमा बाजी मारेका उनी अहमताकै कारण विवादमा छन्। 

साम्पाङको ‘बढी बोल्ने’ स्वभावलाई लिएर सुरुदेखि नै आलोचना हुने गर्थ्यो भने सबैले कम बोल्न सुझाव दिन्थे तर पछिल्लो समय ऐन–कानुनलाई समते कम आँकेपछि भने उनी सर्वत्र आलोचित छन्।

विवादास्पद पृष्ठभूमि र धरानका सन्दर्भमा तयार पारिएको रिपोर्ट सार्वजनिक भएसँगै त्यसलाई लिएर पत्रकारविरुद्ध खनिएपछि मेयर साम्पाङ थप आलोचित बनेका हुन्। 

आफूविरुद्ध लागेको आक्षेपको प्रतिकारका लागि कानुनी बाटो अपनाउनुको साटो तल्लो स्तरको शब्द प्रयोग गरेर सामाजिक सञ्जाल र पत्रकार सम्मेलनमार्फत आक्रोश पोखेपछि उनलाई ‘अराजक’ भनेर धेरैले टिप्पणी गरेका छन्। 

साम्पाङले समाचार रिपोर्टको एउटा सानो अंशलाई लिएर सुरुमा मंसिर १९ गते आफूमाथिको आरोपबारे सत्यतथ्य खुलाउने भन्दै सामाजिक सञ्जालमार्फत पत्रकाहरूलाई धरान १८ को ग्रीन-टीमा बोलाए तर उनी त्यत्तिमा मात्र रोकिएनन्। 

त्यसपछि बरु श्रृंखलाबद्धरुपमा फेसबुकमार्फत तल्लो स्तरको शब्द प्रयोग गरेर धम्किपूर्ण सन्देश लेख्दै गए। उनको सुरुवातको धम्किपूर्ण सन्देश थियो, ‘पत्रकार भेटमा मलाई आरोप लाउने त्यो खोज पत्रकारिता गर्ने पत्रकार पनि आउनु होला ! नत्र तँ ...को यस्तो बेइज्यत गर्छु कि शीर ठाडो पारेर हिँड्न सक्दैनस् नेपालमा!’

त्यसपछि भोलिपल्टको पत्रकार सम्मेलनमा साम्पाङ पत्रकार र संचारमाध्यममाथि खानिए। उनले पत्रकारलाई ‘चोर, फटाहा’को संज्ञा दिँदै उल्टै आर्थिक स्रोत के हो त्यसबारे खुलाउन चुनौती दिए। 

अधिकांश समय धरानका सन्दर्भमा तयार भएको त्यही रिपोर्ट र पत्रकारमाथि आक्रोश पोखेका उनले शान्ति प्रक्रियापछि नक्कली माओवादी बनेर चन्दा उठाएको आरोप अस्वीकार गरे। 

आफूमाथि उठेका अन्य प्रश्नको जवाफ दिने क्रममा साम्पाङले कानुनभन्दा आफूलाई माथि देखाए। बेलायत भ्रमण गएका बेला वडाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिएको प्रसंगमा उनले आफूलाई शुभयात्रा नभनेकाले उपमेयरलाई उक्त जिम्मेवारी नदिएको अनौठो तर्क गरे। 

पत्रकारले ‘ऐनले त उपमेयरलाई जिम्मेवारी दिनुपर्छ भनेर लेखेको छ नि?’ भन्ने प्रश्न गर्दा साम्पाङले आफूले ऐन नै नमान्ने बताए।

‘त्यस्ता नाथे ऐन त हामी बनाउँछौँ, जनताद्वारा निर्वाचित मान्छे हुँ म’, उनले थपे, ‘धरानेलाई समोसा मन परेको छ, उता मःमः खुवाएर हुन्छ? जसले जेसुकै भनोस् त्यस्ता ऐन हामी मान्दैनौँ।’

रिपोर्टमा कानुनी प्रक्रिया पूरा नगरी धरान २० र १३ मा श्रम संस्कृति पार्क निर्माण गरिएको उल्लेख थियो। त्यस विषयमा सोधिएको प्रश्नमा पनि साम्पाङले कानुनलाई नै कम आँक्दै भने, ‘कानून त मैले लेख्छु, त्यो वन कहाँ छ? धरानभित्र छैन? धरानको प्रमुख हैन म? के समन्वय गर्नुपर्ने हो?’

रिपोर्टमा अपारदर्शी चन्दा संकलनको आरोप पनि साम्पाङमाथि लगाइएको थियो। त्यसबारे उनले विना बजेट धरानमा विकास भइरहेको दाबी गर्दै भने, ‘यस्तो स्रोत व्यक्तिलाई चमत्कारी सत्ता भन्छु, हर्क साम्पाङले जत्तिको यो देशमा कुनै पालिकाले विकास गर्न सकेको छ?’

अहंकारी र छुद्र स्वभाव बदल्नुपर्ने सुझावबारे पत्रकारले सोधेको प्रश्नमा साम्पाङले आफू पटक्कै नबदलिने अडान राखे। ‘त्यो परिमार्जन गर्न मिल्दैन। मैले बारम्बार भन्ने गर्छु नि नुनलाई ढिक्कामा चाख्दा पनि नुनिलो नै हुन्छ, पानी लगाएर चाखे पनि नुनिलो हुन्छ, पाउडर पिसेर मसिनो धुलो बनाए पनि यस्तै हो।’

नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगाना जोसुकै जनप्रतिनिधि दम्भी र अहंकारी हुन नहुने बताउँछन्। धरानमा मेयर साम्पाङलाई सुझाव दिँदै उनी भन्छन्, ‘दम्भ र घमण्डले आफैँ खिइने र सिद्धिने काम हुन्छ। धरानको मेयर मेरो मित्र हुनुहुन्छ। उहाँलाई सम्मान गर्छु र सुझावको रुपमा त्यसो नगर्दा राम्रो हुन्छ। उहाँ मात्रै होइन, कुनै पनि जनप्रतिनिधिले दम्भ र घमण्ड देखाउनु हुँदैन। कानुनको पालना सबैले गर्नुपर्छ। कानुनभन्दा माथि कोही हुँदैन।’

पत्रकारलाई नधम्क्याउन पत्रकार महासंघले मेयर साम्पाङलाई चेतावनी दिएको छ भने प्रहरीमा उजुरीसमेत परेको छ। पत्रकार महासंघ सुनसरीको भेलापछि नेपाल पत्रकार महासङ्घ सुनसरी जिल्ला अध्यक्ष जनक ऋषि राई र केन्द्रीय पार्षद गोपाल दाहालले शान्ति सुरक्षासहित आवश्यक कारबाहीको माग गर्दै प्रहरीमा कार्यालयमा उजुरी दिएका हुन्। 

तर मेयर साम्पाङले भने निरन्तर सामाजिक संजालमार्फत व्यांग्यात्मक टिप्पणी लेख्दै आइरहेका छन्। पत्रकार महासंघले चरित्र हत्या गर्ने गरी तथ्यहीन आरोप लगाएर समाचार लेख्ने पत्रकारलाई बरु उल्टै स्पष्टीकरण सोध्नुपर्ने र त्यस्ता पत्रकारलाई सबैले बहिस्कार गर्न आह्वान गर्दै आएका छन्। 

आखिर मेयर साम्पाङले किन यस्तो अहमता देखाइरहेका छन् ? कानुनलाई पनि किन कम आँकिरहेका छन्? 

राजनीतिक अध्यता पिताम्बर भण्डारी यसका मुख्य तीन कारण औँल्याउँछन्। पुराना तथा नयाँ भनिएका राजनीतिक दलको कार्यशैली र त्यसैकारण निर्माण भएको भाष्य, जे गरे वा भने पनि एक तप्काबाट पाउने वाहवाही र पदको सुनिश्चिततालाई उनी प्रमुख कारण ठान्छन्। 

‘नेपालमा राजनीतिक दलहरूका कारण सबै बिग्रेको वा भत्केको भनेर सबै दलहरूबारे नकारात्मक भाष्य निर्माण भएको छ। त्यसकारण धरानका मेयर मात्र होइनन्, बेला–बेला यसरी स्वतन्त्र रुपमा उदाएका जनप्रतिनिधिहरूले दम्भी र घृणाभाव फैलाउने गरी शासकीय अनुशासनभन्दा बाहिर गएर अभिव्यक्ति दिएका देखिन्छन्’, उनी थप्छन्, ‘अर्को चाहिँ जति बोले पनि सार्वजनिक रुपमा कतै न कतैबाट वाहवाही पाइराख्ने र पाँच वर्षका लागि ढुक्कका साथ पदमा रहन पाउने सुनिश्चितता भएकाले पनि त्यस्तो अहम्ता जन्मेको देखिन्छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.