|

पर्वत : पर्वतको कुश्मास्थित पर्वत अस्पतालले बिरामी र सेवाग्राहीहरूको सहजताका लागि नयाँ ‘टोल फ्री नम्बर’ सेवा सुरु गरेको छ।
‘हेल्लो पर्वत अस्पताल’ नाम दिइएको यो सेवा अस्पतालसँग सम्बन्धित जानकारी उपलब्ध गराउन लक्षित गरिएको छ। अब अस्पताल सेवा, सुविधा र अन्य जानकारीका लागि सेवाग्राहीहरूले १८१०५०००१४१ नम्बरमा निःशुल्क फोन गरेर आवश्यक जानकारी लिन सक्नेछन्।

यस सेवाको शुभारम्भ गण्डकी प्रदेश सभा सदस्य भक्त बहादुर कुँवरले गरेका हुन्। सो अवसरमा बोल्दै उनले आफ्नो अस्पतालले थालेको यो प्रयास बिरामीहरूको हितका लागि महत्त्वपूर्ण कदम भएको बताए। विगतमा सामान्य रोगको उपचारको लागि पनि पर्वतका बिरामीहरू पोखरा रिफर गर्नुपर्ने अवस्था रहेकोमा अहिले अस्पतालले भौतिक र गुणस्तरीय सेवामा मारेको फड्को महत्त्वपूर्ण रहेको उनको भनाई छ।

१५ शय्या क्षमताको अनुमति पाएको अस्पतालले भौतिक रूपमा ठुलो परिवर्तन गरेपछि अहिले ६० शय्याबाट सेवा प्रदान गरिरहँदा पर्वतवासीहरूले केही अवस्था बाहेक सबै सेवाहरू पर्वतमा नै पाउनु खुसीको कुरा भएको बताए। अस्पतालले सुरु गरेको टोल फ्री नम्बरले अस्पतालको सेवा, सुविधा र अवस्थाका बारेमा सामान्य नागरिकले पनि जानकारी लिनका लागि सहज हुने प्रदेश सभा सदस्य कुँवरको भनाइ छ।

कार्यक्रममा सहभागीहरूले पनि यो सेवाको प्रशंसा गर्दै यसको प्रभावकारी कार्यान्वयनमा सघाउने प्रतिबद्धता जनाएका छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले अस्पतालमा ‘टोल फ्री नम्बर’ राख्दा संस्था र सेवाग्राही दुबैलाई लाभ हुने बताए। सेवाग्राहीसँग सहज सम्पर्क गर्न, विश्वास र पारदर्शिता बढाउन, समय र खर्चको बचत गर्न,  सेवाको पहुँच विस्तार गर्न, सुझाव र प्रतिक्रिया सङ्कलन गर्न, सेवाग्राहीलाई सन्तुष्ट पार्न, समयको पहुँच बढाउनको लागि अब झनै सजिलो हुने उनको भनाई छ।

यो सेवाले ग्रामीण क्षेत्रमा रहेर अस्पतालसँग केही कुरा बुझ्न खोज्ने सेवाग्राहीहरूको लागि झनै सहज हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले बताए। सेवा सुरु गर्नुको मुख्य उद्देश्य बिरामी र सेवाग्राहीहरूको समय बचत गर्नु, उनीहरूलाई अस्पतालमा पुग्नु अघि नै सही जानकारी दिनु र सेवामा पारदर्शिता कायम गर्नु रहेको उनको भनाइ छ। आगामी दिनमा सेवा उपयोगकर्ताहरूको सुझाव र आवश्यकताका आधारमा यसलाई अझ प्रभावकारी बनाउन पहल गरिने र अस्पताललाई ‘डिजिटल’ सेवामा आधारित बनाउन आफूहरूको प्रयास जारी रहेको अध्यक्ष गिरीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.