काठमाडौँ : प्रहरीले भन्सार छलीको गाडी र स्रोत नखुलेको १४ लाख ६० हजार रुपैयाँसहित एकजना चिनियाँसमेत गरी ३ जनालाई पक्राउ गरेको छ।
भन्सार छलीको गाडी निर्वाध गुडिरहेको सूचनाका आधारमा प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिकाबाट एकजना चिनियाँसहित ३ जनालाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेका तीनै जनालाई आज सार्वजनिक गरेको छ। सो प्रकरणमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका ४३ वर्षीय चिरञ्जीवि पौडेल, धनुषाको लोहोना गाउँपालिकाका ३० वर्षीय रञ्जन जैसवाल र दक्षिणकाली बस्ने २४ वर्षीय चिनियाँ सुइजुम्लुङ पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट भन्सार छलीको बा २४ च ३२९३ नम्बरको गाडी, बि एए ७७७९ नम्बरको कार, १४ लाख ६० हजार रुपैयाँ नगद, ल्यापटप ५ थान, मोबाइल ८ थान र स्मार्ट वाच २३ थान बरामद गरेको छ।
नौजना जुवाडे पक्राउ
काठमाडौँको टोखा नगरपालिका–१० गोँगबुस्थित मिहिर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जना जुवाडे पक्राउ परेका छन्।
प्रहरी वृत्त महाराजगन्जबाट खटिइएको प्रहरी टोलीले उनीहरूलाई ५० हजार नेपाली रूपैयाँ, ७ सय अमेरिकी डलर र ४ बुक ताससहित पक्राउ गरेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।