प्लेअफबाट बाहिरियो ‍लुम्बिनी

|

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सविरूद्ध जनकपुर बोल्ट्सले लज्जास्पद हार बेहोरेको छ।

टीयू क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध जनकपुरका कप्तान अनिलकुमार शाहले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका थिए। शुरूमा ब्याटिङमा आएको सुदूरले ९ विकेट गुमाएर १२३ रन बनाएको थियो।

जनकपुरका किशोर महतोले १७औँ ओभरमा ३ विकेट र १९औँ ओभरको पहिलो बलमा थप एक विकेट लिएपछि सुदूरपश्चिम सस्तैमा समेटिएको थियो।

सुदूरका लागि विनोद भण्डारीले ३३ रन, सैफ जेवले २१ रन, ब्राण्डेन  म्याकलेनले ११ रन, स्कट कुगेलेइनले ७ रन, आरिफ शेखले ६ रन, नरेन साउदले ३ रन, हर्मित सिंहले १ रन बनाए भने कप्तान दिपेन्द्रसिंह ऐरी शून्यमा आउट भए। नरेश बुढायर ९ रनमा र अविनास बोहरा २ रनमा अविजित रहेका थिए।

जनकपुरका लागि शेर मल्ल र अर्निको यादवले २/२ विकेट र हर्ष थाकरले एक विकेट लिए। 

जितका लागि १२४ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले पावरप्लेमा ५ विकेट गुमायो। जनकपुर १२ ओभरमा सबै विकेट गुमाएर अलआउट हुँदै जम्मा ५१ बनाउँदा सुदूरसँग ७२ रनले पराजित भएको हो।

जनकपुरका लागि जोसुया ट्रम्प १३,  लाहिरू मालिन्था  सात,  हर्ष ठाकर पाँच, जेम्स निसम, ललित राजवंशी, आशिफ शेख समान चार, अर्निको यादव एक,  कप्तान अनिल साह, शुभ कन्सकार र शेर मल्ल शून्यमा आउट भए।

सुदूरका लागि हर्मित सिंह, इसान पाण्डे र दिपेन्द्रसिंह ऐरीले २/२ विकुट, स्कट कुगेलेइन,  सैफ जेव र नरेन साउदले १/१ विकेटले लिए। पहिलो खेलमा दुवैतर्फका ब्याट्सम्यानमाथि बलरहरू पूरै हावी भए।

आज भएको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई काठमाडौँ गुर्खाजले १८ रनले पराजित गरेको छ। टस जितेर शुरूमा ब्याटिङमा उत्रिएको काठमाडौँले सबै विकेट गुमाएर १०३ रन बनायो।

१०४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको लुम्बिनीले सबै विकेट गुमाएर ८५ रनमात्र बनायो र खेल १८ रनले हार्न पुग्यो। लुम्बिनीका लागि सन्दीप जोरा २६,  उन्मुक्त चन्द १४, कप्तान रोहित पौडेल ८, टम मुर्स ६, आशुतोष घिरैया ४, अर्जुन साउद ३, विवेक यादव २ रनमा तथा रामोन सिमोण्ड र साद विन जफर शून्यमा आउट भए।

काठमाडौँका लागि करण केसीले ४, दिपेश कँडेलले ३, जेरार्ड इरासमसले २ र रासिद खान एक विकेट लिए।

१०३ रन बनाउने क्रममा काठमाडौँका लागि भीम सार्की ३१, डान डौथवेट २१, प्रतिक श्रेष्ठ २०, स्टेफेन एस्किनाजी १३, साहब आलम ८, सुमित महर्जन ४, करण केसी, जेराड इरास्मस १ रनमा तथा रासिद खान, अभिशेष गौतम र  माइकल लेभिट शून्यमा आउट भए।

लुम्बिनीका लागि साद विन जफरले ३, अभिशेष गौतम र रामोन सिमोण्डले २/२,  विवेक यादव र सूर्य तामाङले १/१ विकेट लिए।

आजको खेल

राम्रो शुरूवात गरे पनि सुदूरका मिडल अर्डरका ब्याट्सम्यान चल्न सकेनन्। सुदूरपश्चिमले विना विकेटको क्षतिमा पावरप्लेमा ४२ रन बनाएको थियो। तर सुदूरपश्चिमको पहिलो विकेटका रूपमा सैफ जेव आउट भए। दुई छक्कासहित २१ बलमा २१ रन बनाएका उनलाई ७.२ ओभरमा हर्ष ठाकरको बलमा अर्निको यादवले क्याच गरिदिए। यतिबेला सुदूरको ५५ रन बनेको थियो।

दोस्रो विकेट भने हर्मित सिंहको गुम्यो। शेर मल्लको बलमा उनी ३ बलमा एक रन बनाउँदै पेभेलिएन फर्किन बाध्य भए। सुदूरले १० ओभरमा ६२ रन बनाएको थियो।

११.४ ओभरमा मल्लले नै ४ चौका र एक छक्कासहित ३७ बलमा  ३३ रन बनाएका विनोद भण्डारीलाई आउट गरे। यतिबेला सुदूरको ७५ रन पुगेको थियो।

१२.४ ओभरमा कप्तान दिपेन्द्रसिंह ऐरी शून्यमा आउट भए। ३ बलमा खेलेका उनलाई अर्निको यादवको बलमा जोसुया ट्रम्पले क्याच गरिदिए।

१४.५ ओभरमा ब्राण्डेन  म्याकलेन १७ बलमा ११ रन बनाएका आउट भए। उनलाई यादवको बलमा ट्रम्पले उत्कृष्ट क्याच गर्दै आउट गरिदिएका हुन्।

यतिबेला सुदूरको ८४ रन बनेको थियो। सुदूरले ५ विकेटको क्षतिमा १६.३ ओभरमा १ सय रन बनाएको थियो। तर १७.१ मा किशोर महतोले ९ बलमा ६ रन बनाएका आरिफ शेखलाई यादवबाट क्याच आउट गरिदिए।

लगत्तै महतोले नै १२ बलमा १६ रन बनाएका इशान पाण्डेलाई पनि पेभेलियन फर्काइदिए। जेम्स निसमले क्याच गर्दा उनी आउट हुन पुगेका थिए।

१७ ओभरमै महतोले ७ रन बनाएर खेलेका स्कट कुगेलेइनलाई पनि आउट गरिदिए। लगत्तै १९औँ ओभरको पहिलो बलमा महतोले नै नरेन साउदलाई ३ रनमा आउट गर्दै खेलमा व्यक्तिगत ४ विकेट आफ्नो नाममा राखे।

नरेश बुढाएर ९ र अविनास बोहरा २ रनमा अविजित रहँदा सुदूरपश्चिमले पूरा ओभर खेल्दै १२३ रनमात्र बनाउन सक्यो। सुदूरले १३ रन एक्स्ट्रा प्राप्त गर्‍यो।

१२४ रनको सामान्य लक्ष्य लिएर मैदानमा उत्रिएको जनकपुरका लागि पहिलो विकेट कप्तान अनिल साहको गुम्यो। ६ बल खेलेका साह शून्यमा आउट भए। उनलाई सैफ जेवले बोल्ड गरे।

२.३ ओभरमा कप्तान ऐरीले जनकपुरका अर्का ओपनर आशिफ शेखलाई स्कटले क्याच आउट गरिदिए।

शेखले ५ बलमा ४ रन बनाएर आउट हुँदा जनकपुरको २० रन बनेको थियो। लगत्तै २.५ ओभरमा २ बलमा ५ रन बनाएका हर्ष ठाकर रन आउट भए। यतिबेला जनकपुरको २२ रन बनेको थियो।

इशान पाण्डेले ७ बलमा एक चौकासहित ७ रन बनाएका लाहिरू मिलान्थालाई शेखबाट क्याच आउट गर्दा जनकपुरको ब्याटिङ खराब स्थितिबाट गुझ्रिएको थियो। यतिबेला ४ विकेट गुमेर जनकपुरको ३.४ ओभरमा २७ रन बनेको थियो। ३.६ मा पाण्डेले नै ३ बल खेलेका शुभ कन्साकारलाई शून्यमा आउट गराए।

६.२ मा ऐरीले ८ बलमा एक चौकासहित ४ रनमा जेम्स निसमलाई आउट गरे भने ४ बलमा एक रन बनाएका अर्निको यादव हर्मित सिंहको बलमा ऐरीबाट क्याच आउट भए।

यतिबेला जनकपुरको ७.५ ओभरमा ४५ रन बनेको थियो। ओभरको अन्तिम बलमा शून्यमा शेर मल्ल पनि आउट भएका थिए। उनलाई नरेन साउदले आउट गरे भने ९ ओभरमा जोसुया ट्रम्प सिंहको बलमा आउट भए। उनले १३ बलमा १३ रन बनाएका थिए।

९.१ ओभरमा १३ बलमा १३ रन बनाएका जोसुया ट्रम्पलाई सिहले एलबिड्ब्लु धरापमा पारे। यतिबेला ५१ रन बनेको थियो।

१२औँ ओभरमा ललित राजवंशी ४ बलमा आउट भएपछि समग्र जनकपुर ५१ रनमा आउट हुन पुग्यो। यसरी अपराजित रहेको जनकपुरलाई सुदूरपश्चिमले ८ ­ओभरको खेल बाँकी छँदै अलआउट गर्दै ७२ रनको जित हासिल गर्‍यो।

जनकपुरले पनि १३ रन नै एक्स्ट्रा पायो।

दोस्रो खेलमा टस जितेर शुरूमा ब्याटिङ गर्न आएका काठमाडौँ गुर्खाजका माइकल लेभिट शून्यमा आउट भए। उनलाई रामोन सिमोण्डसले २ बल खेलेर पेभेलियन फर्काइदिएका हुन्।

दोस्रो विकेट भने अभिशेष गौतमले लिए। उनले १६ बलमा दुई चौकासहित १३ रन बनाएका स्टेफेन एस्किनाजीलाई आउट गरे।

तेस्रो विकेट साद विन जफरले जेरार्ड इरासमसको लिए। ३ बलमा एक रन बनाएका उनलाई सन्दीप जोराले क्याच आउट गरेका हुन्। यतिबेला काठमाडौँको ३ विकेट गुमेर १९ रन बनेको थियो।

लगत्तै जफरले सुमित महर्जनलाई पनि पेभेलियन फर्काइदिए। उनले ४ बलमा एक चौका हान्दा जफरले एलबिड्ब्लु धरापमा पारे। पावरप्लेमा काठमाडौँले ४ विकेट गुमाएर २३ रन बनाएको थियो।

१० ओभरमा काठमाडौँले ४ विकेट गुमाएर ४२ रन बनाएको थियो। १२.५ मा विवेक यादवले दुई छक्कासहित २१ रन बनाएका डान डौथवेटलाई रोहित पौडेलबाट क्याच आउट गराए।

यतिबेला काठमाडौँको ६६ रन बनेको थियो। लगत्तै रासिद खान शून्यमा आउट भए। उनलाई रोहितले नै रन आउट गरेका हुन्। कप्तान करण केसी एक रन बनाउँदै आउट भए। उनले ५ बलमा १ रन हान्दा सूर्य तामाङको बलमा सन्दीप जोराले क्याच गरेका हुन्।

यतिबेला १५.२ ओभरमा काठमाडौँको ७३ रन बनेको थियो। १८.२ ओभरमा ४० बलमा एक चौकासहित ३१ रन बनाएका भीम सार्कीलाई अभिशेष गौतमले आउट गरे।  त्यसपछि १८.५ ओभरमा साद विन जफरले साहब आलमलाई ८ रनमा आउट गरे।

१९.२ ओभरमा प्रतिक श्रेष्ट २ छक्कासहित १४ बलमा २० रन बनाउँदा सिमोण्डबाट आउट हुँदा काठमाडौँले सबै विकेट गुमाएर १०३ रन बनाउन सक्यो।

काठमाडौँले ३ रन एक्स्ट्रा प्राप्त गर्‍यो।

१०४ रनको लक्ष्य लिएर दोस्रो जितको खोजीमा उत्रिएको लुम्बिनीका लागि पहिलो विकेट आशुतोष घिरैयाको गुम्यो। १२ बलमा ४ रन बनाएका उनलाई दिपेश कंडेलको बलमा माइकल लेभिटले क्याच गरेका हुन्।

लगत्तै कंडेलले नै १० बलमा ३ रन बनाएर खेलिरहेका अर्जुन साउदलाई पनि आउट गरे। यतिबेला लुम्बिनीको जम्मा ९ रन बनेको थियो।

जेरार्ड इरास्मसले ५ बलमा एक चौकासहित ६ रन बनाएका टम मुर्सलाई आउट गरिदिए। यतिबेला ५ ओभरको खेल हुँदा १५ रन बनेको थियो। पावर ओभरमा लुम्बिनीले ३ विकेट गुमाएर १८ रन बनाएको थियो।

९.४ ओभरमा कंडेलले नै १५ बलमा ८ रन बनाएका कप्तान रोहितलाई एलबिड्ब्लु धरापमा पार्दै पेभेलियन फर्काए। यतिबेला लुम्बिनीको ४ विकेट गुमेर ३८ रन बनेको थियो। लुम्बिनीले १० ओभरमा ३९ रन बनाएको थियो।

१०.५ ओभरमा कप्तान करण केसीको बलमा उन्मुक्त चन्द आउट भए। १९ बलमा १४ रन बनाएका उनलाई साहव आलमले क्याच आउट गरेका हुन्। यतिबेला ५ विकेट गुमेर लुम्बिनीको ४२ रन पुगेको थियो। पुन जेरार्डले ११.२ ओभरमा साद विन जफरलाई आउट गरे।

१२.५ ओभरमा करण केसीको बलमा विवेक यादव आउट भए। उनले ८ बलमा  रन बनाएका थिए। १८.४ ओभरमा करण केसीले २९ बलमा दुई चौकासहिन २६ रन बनाएका जोरालाई आउट गरे।  लगत्तै सिमोण्डलाई पनि करणले आउट गरे।

अन्तिममा अभिशेष गौतम रासिद खानको बलमा एलबिड्ब्लु धरापमा परपछि १९.२ ओभरमा लुम्बिनी अल आउट भयो।

दोस्रो खेलमा पनि बलरहरू ब्याट्सम्यानमाथि हावी भए।

लुम्बिनीका लागि बुधवार छैटौँ खेल थियो। प्लेअफको झिनो आस बोकेको लुम्बिनीलाई जितबाहेक अन्य विकल्प थिएन। गर या मरको स्थितिमा रहेको लुम्बिनी काठमाडौँविरुद्ध पराजय बेहोरेसँगै लिग चरणबाट बाहिरिने पहिलो टोली बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.