|

काठमाडौँ : इरानको यू–१८ टिमले काभा मेन्स भलिबल क्लब च्याम्पियनशिपमा लगातार तेस्रो जित हात पार्दै काभा मेन्स भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेको छ। 

भारतको क्यालिकटलाई सोझो सेटमा पराजित गर्दै इरानको युवा टिम एक खेलअगाडि नै सेमिफाइनलमा पुगेको हो। राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको क्यालीकट र इरानको टिमबीचको खेल प्रतिष्पर्धात्मक हुने अनुमान गरिएको थियो तर इरानका युवा खेलाडीको प्रदर्शन उत्कृष्ट रह्यो। 

पहिलो सेट प्रतिष्पर्धात्मक बने पनि २७–२५ ले इरानले जित्यो। एक सेट गुमाएपछि दोस्रो सेटमा पनि क्यालीकट खेलमा फर्कन सकेन र सहजै इरानको यू–१८ टिमले २५–२२ ले जितेर खेलमा २-० को स्पष्ट अग्रता कायम बनायो। २५–२० ले तेस्रो सेट पनि सहजै इरानले जित्यो। 

यो सोझो सेटको जितमा इरानले लगातार तेस्रो जितसहित ७ अंक बनाएको छ। 

इरानले यसअघि पहिलो खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई र दोस्रो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३–२ को सेटमा हराएको थियो। 

पराजित क्यालिकटको भने यो दोस्रो हार हो। क्यालिकट पहिलो खेलमा टिमटप हेल्प नेपालसँग हारेको थियो। 

दोस्रो खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई हराए पनि आज इरानसँग सोझो सेटमा पराजित भयो। उसले ३ खेलबाट मात्र ४ अंक बनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.