|

काठमाडौँ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान आर्थिक प्रगतिसँग आफू सन्तुष्ट नभएको बताएका छन्।

बुधवार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा भएको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले पछिल्लो समय अर्थतन्त्रमा देखिएको केही सुधारमा अर्थ समिति मात्रै नभएर आफू स्वयं सन्तुष्ट नभएको स्पष्ट पारे।

उनले अर्थतन्त्रमा समस्या भए पनि पछिल्लो समय सुधार हुँदै गएको बताए। उनले सरकारले अर्थतन्त्रमा देखिएका समस्या क्रमशः समाधान गर्दै गएको उल्लेख गरे।

उनले लामो समय लागेर थलिएको अर्थतन्त्र रातारात परिवर्तन गर्न नसकिने भन्दै अर्थतन्त्र सुधारका लागि केही समय लाग्ने बताए। उनले विदेशी मुद्राको सञ्चिति, तरलता, बैंकको ब्याजदर एकल अंकमा आएको र मूल्यवृद्धि नियन्त्रणमा रहेको बताए। उनले शेयर बजार लगायत अर्थतन्त्रका केही पक्षमा सकारात्मक अवस्था रहेको दाबी गरे।

उनले सरकारले समस्याका चाङलाई एक–एक गरेर पन्छाउँदै उपलब्धि आर्जन गर्नुपर्ने र त्यसका लागि सार्थक प्रयास चालिरहेको बताए। उनले राजस्व परिचालनका सन्दर्भमा पनि चालू आर्थिक वर्षको तीन महिनामा १७ प्रतिशत वृद्धि गरेको बताए।

राजस्वको लक्ष्य पूरा गर्न ३०-३१ प्रतिशतको वृद्धि गर्नुपर्ने बाध्यता सरकारलाई रहेको बताए। उनले त्यसका लागि सरकारले राजस्व चुहावट, अनियमितता, अपराधजस्ता गतिविधि नियन्त्रणमा निरन्तर काम गरिरहेको बताए।

उनले भने, ‘अर्थतन्त्रमा केही कठिनाइ छ। यो अस्वीकार गर्नुपर्ने विषय होइन। क्रमशः हाम्रा समस्या समाधान हुँदै गएका छन् र सुधारका काममा सफल हुँदै पनि गएका छौँ। लामो समय लागेर थलिएको अर्थतन्त्र रातारात परिवर्तन गर्न सकिँदैन। यसका लागि केही समय लाग्छ। अहिलेको आर्थिक प्रगतिसँग म स्वयं सन्तुष्ट छैन र यहाँहरू पनि हुनुहुन्न। सरकारले अर्थतन्त्र सुधारमा धेरै प्रगति गर्नु छ। समस्याका चाङलाई एक–एक गरेर पन्छाउँदै उपलब्धि आर्जन गर्नुछ। त्यसका लागि सार्थक प्रयास चाल्नुछ।’

अर्थमन्त्री पौडेलले शेयर बजारमा हुने सर्कुलर ट्रेडिङ, कर्नरिङ र म्यानुपुलेसन नियन्त्रणमा निरन्तर काम भइरहेको दाबी गरे। उनले शेयरबजारमा हुने पम्पिङ एण्ड डम्पिङ, सर्कुलर ट्रेडिङ, कर्नरिङजस्ता गतिविधि नियन्त्रणमा राख्ने बताए।

उनले पछिल्लो समय शेयरबजार केही सुधार हुँदै गएको भन्दै नेपाल धितोपत्र बोर्डले पनि लामो समयपछि नेतृत्व पाएको बताए। उनले बजारमा अनियमित काम भएको गुनासोलाई कम गर्ने गरी काम गरिरहेको बताए। उनले नियमनको पाटो बलियो बनाउँदै लग्ने कार्यमा सरकार लागि परेको बताए।

उनले बैंकमा भएको तरलतालाई उत्पादनमूलक काममा लगाउनु आवश्यक रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.