काठमाडौँ : पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको ६०० पृष्टको अनुसन्धान प्रतिवेदन कास्की प्रहरीले तयार गरी सरकारी वकिललाई बुझाएको छ।
जसमा ३७ जना फरार छन् भने १४ जना मात्रै पक्राउ परेका उल्लेख छ। सबै ५१ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो मागदाबी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्त शर्माले जानकारी दिए।
उनका अनुसार रुविसँग मात्रै २७ करोड ८९ लाख बिगो असुल गर्नुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिललाई दिइएको छ। लामिछानेविरुद्ध सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउनुपर्ने र बिगो असुल गर्नुपर्ने राय प्रहरीले दिएको छ।
प्रहरीले लामिछानेलाई सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद सजाय हुनुपर्ने राय दिएको छ। सहकारी ऐन, २०७४ को दफा १२२२ को उपदफा (छ), (ढ) र (त) विपरीत कसुर गरेको अनुसन्धानमा देखिएको भन्दै प्रहरीले सहकारी ऐन, २०७४ को दफा १२४ को उपदफा (१) को खण्ड (घ) को (४) (ङ) बमोजिम ४ देखि ६ वर्षसम्म कैद सजाय हुनुपर्ने राय दिएको हो।
उक्त राय अध्ययन गरेपछि जिल्ला सरकारी वकिल कार्यालय कास्कीले अदालतमा मुद्दा दायर गर्नेछ। लामिछानेले गत कार्तिक २ देखि कास्की प्रहरीको हिरासतमा छन्। यो मुद्दामा प्रहरीसँग ९० दिनसम्म अनुसन्धान गर्ने हदम्याद भएकाले चार दिन अघि नै प्रतिवेदन बुझाइएको उनले बताए।
सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन अध्ययनका लागि समय लाग्ने भएकोले प्रहरीले भोलि ४ दिनको म्याद थपका लागि रवि र छविलाई अदालतमा पेश गर्ने तयारी गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।