काठमाडौँ : सोमवार बालकोटमा बाबु र छोरा मृत भेटिए। छिमेकीले प्रहरीलाई खबर गरेपछि तत्कालै प्रहरी घटनास्थलमा पुग्यो।
हत्यापछि फरार रहेका उनकै जेठा छोरा रूपेश आचार्य 'मिलन'ले मंगलवार महाराजगञ्ज वृत्तमा आत्मसमर्पण गरे। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईका अनुसार पक्राउ परेका उनले प्रारम्भिक अनुन्धान र बयानमा बुबा र भाइको हत्या आफूले गरेको स्वीकारेका छन्।
बुबा र भाइबाट आफूमाथि तनाब बढेकाले हत्या गरेको उनले स्वीकार गरेको भट्टराईले बताए। बुबा र भाइको शनिवार राति हत्या गरेपछि आइतवार बिहान कोठामा ताल्चा लगाएर मिलन स्कुटरमा फरार भएका थिए।
जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख आचार्य गत मङ्सिर २८ गते बिदा लिएर छोराहरू बस्दै आएको स्थान बालकोट आएका थिए।
हत्यापछि राति नै स्कुटरबाट बाहिरिएका उनले भक्तपुरको बिरुवा भन्ने ठाउँमा गएर पासो लागेको समेत बताएका छन् तर पासो चुँडिएर आत्महत्याको प्रयास असफल भएपछि प्रहरी कार्यालय आइपुगेको उनले सुनाएका छन्।
आफूले लोकसेवामा ६ पटक परीक्षा दिए पनि पास नभएको र आफ्नो कारणले परिवारलाई तनाव थपिएको भन्ने लागेर हत्या गरेको आचार्यले बताएका छन्।
गत मंसिरमा धनकुटा नगरपालिका–१ निगालेमा एक पुरुषले श्रीमती र छोराको हत्या गरी आत्महत्या गरे। ३५ वर्षीय टिकाराम गुरुङले राति श्रीमती ३६ वर्षीया भीमा र छोरा १० वर्षीय आयुष गुरुङको हत्या गरी आत्महत्या गरेका थिए। अत्यधिक मादक पदार्थ सेवन गर्ने उनी काम्ने समस्याको उपचार गराइरहेका थिए।
बारामा साउन १० गते श्रीमानले श्रीमतीको घाँटी काटेर हत्या गरे। सिम्रौनगढ नगरपालिका–६ बजार टोलस्थित ससुराली बस्दै आएका राज चुडिहारले बुधवार बिहान ३ बजेको समयमा सुतिरहेकी २७ वर्षीया श्रीमती आसमी चुडिहारलाई धारिलो हतियारले घाँटीमा पटकपटक प्रहार गरी हत्या गरेका थिए। श्रीमान र श्रीमतीबीच विगत एक महिनादेखि आपसी विवाद हुँदै आएको स्थानीयहरूले बताएका थिए।
कार्तिक २३ गते भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको हत्या गरे। श्रेष्ठले ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरे। असोज ३० मा रूपन्देहीमा आफ्नै कान्छी श्रीमती ४० वर्षीया सुनिता भट्टराई चौधरीको हत्या गरेको अभियोगमा देवदह नगरपालिका-९ भलुही बस्ने ५० वर्षीय दशरथ चौधरी पक्राउ परे। साउन २९ गते मकवानपुरमा एक युवकले श्रीमतीको हत्या गरे।
कैलाश गाउँपालिका—५ काफलडाँडाका २८ वर्षीय मंगलबहादुर पाख्रिनले १८ वर्षीया लक्ष्मी पाख्रिनको बन्चरो प्रहार गरेर हत्या गरे। मानसिक रोगको औषधि सेवन गरेका पाख्रिनले श्रीमती लक्ष्मीको टाउको र गर्दनमा बन्चरो प्रहार गरेका थिए।
भदौमा २६ गते वाई-फाईको रिचार्ज नगरेको विषयमा विवाद हुँदा बारामा श्रीमान्ले श्रीमतीको हत्या गरे। बाराको निजगढ नगरपालिका-९ मा अन्दाजी ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको खुर्पाले प्रहार गरी हत्या गरेका थिए।
मंसिर १६ गते कञ्चनपुरमा श्रीमानले श्रीमतीको हत्या गरे। भीमदत्त नगरपालिका–८ तिलाचौरका ४९ वर्षीय नरेन्द्र सिंह विष्टले ३० वर्षीया श्रीमती ज्योतिको हत्या गरेका थिए। सामान्य घरायसी विवाद हुँदा विष्टले हँसियाले ज्योतिको घाँटी रेटी हत्या गरेका थिए। उनले मदिरा सेवन गरी झगडा गर्ने गरेका थिए।
घर परिवार आफन्तको साथ सबैभन्दा धेरै सुरक्षित घेरा मानिन्छ। मान्छे अन्य स्थानमा सुरक्षित महसुस नगर्दा आफ्नैलाई सम्झन्छ। ताकी जुनसुकै सानातिना समस्या र असुरक्षताबाट मुक्त हुन सकियोस्।
तर पछिल्लो समयमा आफ्नैबाट हत्याका घटना दैनिक सुनिन थालेका छन्। माथिका यी केही उदाहरण मात्र हुन्। समाजमा हरेक दिन केही न केही कारण आफ्नैमाथि हत्या गर्ने प्रवृत्ति बढेको छ। जब मान्छे पारिवारिक, सामाजिक तथा आर्थिक रूपमा समस्याग्रस्त बन्छ उसले कतै न कतै अपराधकर्म गर्ने गरेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरिक्षक विश्व अधिकारीले ०७९/८० मा ८४५१ वटा ज्यान मार्ने कसुर भएको बताए। यसमा करिब ५० प्रतिशतभन्दा बढी घटना परिवार र आफन्तबीच भएका छन्।
आखिर किन त? ‘किनभने परिवार आफन्तबीच नै अपेक्षा हुन्छ। आशा हुन्छ। तर ती चिजहरू प्राप्त हुँदैनन् तब अपराध हुन्छन्’, उनले भने।
लागुऔषध तथा मदिरा सेवन, करिअरको तनाव, परिवारको टर्चर, सामाजिक तथा आर्थिक जटिल अवस्था जस्ता विषयले मान्छेहरूले योजनाबद्ध तथा आवेगमा हत्या गर्ने गरेको प्रहरीको विश्लेषण रहेको छ।
मानसिक तथा मनोसामाजिक स्वास्थ्य समस्या, यातना वा हिंसा, सहयोगी व्यक्तिको कमी, इमानमाथि प्रश्न, दीर्घ रोग, व्यापार तथा परीक्षामा असफलता, बेरोजगारी तथा आर्थिक समस्याले नै अपराध भइरहेको अधिकारीले बताए।
‘निरासा बढ्दै जानु, विवाहेत्तर सम्बन्ध, उच्च महत्वकांक्षाले पनि घटना भइरहेका छन्। उनले किशोरावस्था वा युवाहरूको अवस्थामा हेर्दा पढाइमा असफलता र प्रेम जीवनको उतारचढावका कारण मान्छे हत्यासम्म पुग्ने गरेका छन्’, उनले भने।
सामाजिक रूपमा हरेक कुरा प्रतिस्पर्धाको जञ्जालमा पर्नु र असफलता हात पर्दा मान्छे हतोत्साही हुने गरेका छन्। हरेक कुरामाथि धेरै महत्वाकांक्षा पाल्ने तथा नैतिक शिक्षाको अभाव नै समस्याको मुल कारण देखिएको प्रहरीले जनाएको छ।
‘अत्यन्तै दुःखी, चिन्तित र पीडित भएको व्यक्तिलाई साहानुभूति दिने, मानसिक समस्या भए उपचारका लागि चिकित्सककोमा पुर्याउनुपर्छ’, प्रवक्ता अधिकारीले भने, ‘कुलतमा लाग्ने, लागुऔषध सेवन तथा कसैलाई पनि उपेक्षा नगर्ने हो भने केही हदसम्म हत्याका श्रृंखला कम हुन सक्छ।‘
आफूलाई व्यस्त बनाउने र आफ्ना कुरा खुलेर परिवारसँग गर्ने र परिवारले पनि साथ दिँदा कोही व्यक्तिले आफूलाई सहज महसुस गराउँदा पनि मान्छेले अपराध कम गर्ने उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।