|

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी हिउँदे अधिवेशनमा पर्याप्त विधेयक आउने दावी गरेका  छन। केही वर्षदेखि प्रदेशसभामा विधेयकहरु नआइरहेको गुनासो आइरहेको बेला मुख्यमन्त्री कार्कीले यस्तो दावी गरेका हुन्। 

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा संघीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माणसम्बन्धी अध्ययन कार्यदलले बनाएको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री कार्कीले संघीयता कार्यान्वय गर्न प्रदेश सरकारले थप कानुनहरु बनाउने, कानुनको प्रभावकारी कार्यान्वयनको लागि संसोधन गर्नेतर्फ केन्द्रीत हुने बताए।

मुख्यमन्त्री कार्कीले संघीयता नयाँ संरचना रहेको हुँदा केन्द्र र प्रदेशबीच अधिकारहरु बाँडफाड समेत नभइसकेको सन्दर्भमा कार्यदलले दिएको प्रतिवदेन मार्गदर्शक हुने बताए। 

कार्यदलले प्रतिवेदनमा प्रदेश सरकारले बनाउनु पर्ने नयाँ कानुन, संसोधन गर्नुपर्ने र संघीय सरकारले अधिकार हस्तान्तरणका लागि बनाउनु पर्ने कानुनका विषय समेटेको छ।

प्रतिवेदन कार्यदलका संयोजक चुडामणी आचार्यले मुख्यमन्त्री हिक्मत कार्कीलाई हस्तान्तरण गरेका थिए। पछिल्लो पटक मुख्यमन्त्री नियुक्त भएपछि कार्कीले कानुन निर्माण र संसोधनको विषयलाई प्राथमिकतामा राख्दै कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका थिए।

कोशी प्रदेश सरकारले गएको वैशाख २७ गते प्रदेश सरकारले निर्माण गरेको कानुनको प्रभावकारी कार्यान्वयन भए नभएको, संघीयता सफल कार्यान्वयनको लागि कोशी प्रदेशमा आवश्यक रहेको कानुनका विषयमा अध्ययन गर्न कार्यदल गठन गरेको हो।

प्रतिवदेन बुझाउँदै कार्यदलका संयोजक आचार्यले अन्य प्रदेशमा कार्यान्वयनमा रहेका, कोशी प्रदेशमा बनेका कानुनको कार्यान्वयनको अवस्था र संघ सरकारले बनाउनु पर्ने ऐन कानुनको विषयमा अध्ययन गरेर प्रतिवेदन तयार गरिएको बताए।  

मुख्यमन्त्री कार्कीले कार्यदलले दिएको प्रतिवेदन अध्ययन गर्न आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीलाई हस्तान्तरण गरे। उनले अध्ययन गरी रायसहित बुझाउन २१ दिनको समयसीमा दिँदै त्यसपछि अध्ययन प्रतिवदेन सार्वजनिक गर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.