|
फाइल फोटो

काठमाडौं : सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार जवाफी बहस सक्ने तयारी गरेको छ।

सरकारी वकिलको कार्यालयको तर्फबाट समयमै बहस सकिए बिहीबार नै थुनछेक आदेश आउने सम्भावना रहेको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए। 

यसअघि बुधबार सबै प्रतिवादीतर्फको थुनछेक बहस सकिएपछि जाहेरवाला पक्षको जवाफी बहस पनि सकिएको थियो। गएको १६ गते सरकारी वकिलको कार्यालयका तर्फबाट थुनछेक बहस शुरु भएको थियो। रास्वपाका सभापति एव‌ पूर्वगृहमन्त्री लामिछानेसहित सहकारीको रकम अपचलन मुद्दामा जोडिएका पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनालको थुनछेक बहस भइरहेको हो। 

बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि मुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ। यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। 

लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ। लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ। 

थुनछेक आदेशको समय आएसँगै पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.