|

काठमाडौँ : बानेश्वर बस्ने ३५ वर्षीया सीता शर्मा (नाम परिवर्तित)लाई केही दिनदेखि ज्वरो आउने र टाउको दुख्ने समस्या देखियो। चिसोको कारणले भएको फ्लु संक्रमण होला  भनेर घरमै घरेलु उपचार गरिन् तर ठिक नभएपछि नजिकैको स्वास्थ्य संस्थामा परीक्षण गराउँदा डेंगु संक्रमण पुष्टि भयो।

कलङ्की स्युचाटारका ३६ वर्षीय गणेश केसी (नाम परिवर्तित)लाई पनि ज्वरो आउने शरीर दुख्ने भएपछि परीक्षण गराउँदा डेंगु संक्रमण नै देखियो।

यी प्रतिनिधि पात्र मात्रै हुन्। यतिखेर डेंगु संक्रमण देखिएर उपचार गराइरहेका विरामीहरू विगतका चिसो मौसममा भन्दा धेरै छन्।

सामान्यतया डेंगु संक्रमण वैशाख जेठको गर्मी मौसमदेखि सुरु भएर भदौ असोजमा उच्च संक्रमण देखिएर चिसो मौसम सुरु भएसँगै डेंगु संक्रमण कम हुने भए पनि पछिल्ला वर्षहरूमा डेंगु संक्रमण प्रायः बाह्रै महिना देखिने गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का किटजन्य शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार केही वर्ष अघिसम्म गर्मी मौसममा डेंगु संक्रमण तीव्ररूपमा बढे पनि चिसो मौसम सुरु भएपछि शून्य संक्रमणमा झर्ने भए पनि विगत दुई/तीन वर्षयता बाह्रै महिना डेंगुका विरामी देखिन थालेका छन्। किटजन्य रोगका विज्ञ समेत रहेका डा. दाहालले भने‚ ‘खास गर्मी मौसमलाई डेंगु संक्रमणको सिजन भनिन्छ तर हाम्रोमा एक दुई वर्षअघिदेखि मंसिर पुसको जाडो सिजनमा पनि डेंगुका विरामी भेटिन थालेका छन्।’

जलवायु परिवर्तन हुँदा तापक्रम बढ्ने र लामखुट्टे बाँच्न सक्ने हुने, बसाइँसराइ, तीव्र शहरीकरण, कीटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायत कारणले अहिले  चिसो मौसममा पनि फाट्टफुट्ट डेंगु संक्रमण देखिने डा. दाहालले भनाइ छ।

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु एक प्रकारको किटजन्य रोग हो। पछिल्ला वर्षहरूमा यो मौसममा नेपालमा डेंगु पनि जनस्वास्थ्यको एक प्रमुख चुनौती बन्दै गएको छ। 

सामान्यतया डेंगु सार्ने लामखुट्टेलाई २५ देखि ३० डिग्री सेल्सियसको तापक्रम उपयुक्त मानिन्छ। आजभोलि योभन्दा कम तापक्रममा पनि डेंगु सार्ने लामखुट्टेले बाँच्ने गरी वातावरण अनुकूल आफूलाई परिवर्तन गर्दै लगेको हुँदा चिसो मौसममा पनि डेंगु संक्रमण देखिने गरेको बताउँछन्। ट्रपिकल मेडिसिनका विज्ञ  तथा शुक्रराज ट्रपिकल तथा सरुवा  रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर  पुन।

डा. पुनका अनुसार डेंगु सार्ने लामखुट्टे १० देखि १२ डिग्री सेल्सियस तापक्रम रहँदासम्म हराउँदैन। हिजोआज पहाडी क्षेत्रको तापक्रम १० देखि १२ डिग्री सेल्सियसभित्रै रहेका कारण लामखुट्टे हराएको छैन।

‘तापक्रम ३५ डिग्री सेल्सियस नाघेपछि डेंगु सार्ने लामखुट्टे बाँच्न सक्दैन र २०/३५ डिग्री सेल्सियसभन्दा कम हुँदा पनि डेंगु संक्रमण गराउने लामखुट्टे बाँच्दैन भनिन्थ्यो तर अहिले आर १० देखि १२ डिग्रीमा पनि डेंगु सार्ने लामखुट्टे सहजै बाँच्न सक्ने हुँदा चिसो मौसममा पनि डेंगुका विरामी भेटिने गरेका हुन्। त्यसैले जाडो मौसममा गर्मीमा जस्तो धेरै संक्रमित नभेटिए पनि संक्रमण भने शून्य हुने गरेको छैन। यसले गर्दा यो मौसममा पनि अस्पतालमा डेंगुका विरामी फाट्टफुट्ट आउने गरेका छन्‘‚ ट्रपिकल मेडिसिनका विज्ञ डा. पुनले भने।

चिसो मौसममा फ्लुको संक्रमण  पनि धेरै हुने गरेकाले धेरै जना डेंगुको लक्षण देखिदा पनि फ्लु नै हो भनेर बस्ने र धेरै गाह्रो  भएपछि मात्रै  स्वास्थ्य संस्थामा आउने हुँदा यो मौसममा डेंगु संक्रमण भए पनि कम जानकारी हुने समेत डा. पुनको भनाइ छ। उनले भने‚ ‘चिसो मौसममा धेरै फ्लु संक्रमण हुने गर्छ। डेंगु र फ्लुको लक्षण केही एकै खालको हुने हुँदा धेरै जना डेंगु भएर पनि घरै बस्नु हुन्छ तर एक हप्तासम्म पनि ठिक नभएपछि या धेरै गाह्रो भएपछि अस्पताल आउँदा परीक्षण गर्दा मात्रै थाहा हुने हो। त्यसैले फ्लुसँगै अहिले फाट्टफुट्ट डेंगु पनि देखिने हुँदा लक्षण अनुसार एकपटक परीक्षण नै गर्नुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.