काठमाडौँ : प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको दौडधुप केही दिनयता तीव्र छ। उनीहरूले तारन्तार भेटवार्ता तथा छलफल गरिरहेका छन्।
बिहीबार (पुस २५ गते) सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको थियो। भेटमा माओवादीबाट उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीबाट वरिष्ठ नेता डा. वेदुराम भुसाल पनि सहभागी थिए।
प्रचण्ड–नेपालले भेटवार्तालाई भोलिपल्ट पनि निरन्तरता दिए। उनीहरूबीच समसामयिक विषय र समाजवादी मोर्चालाई क्रियाशील बनाउने सन्दर्भमा छलफल भएको दाबी नेताहरूको छ।
‘समाजवादी मोर्चालाई सशक्त र बलियो बनाउने विषयमा हाम्रा अध्यक्ष र माओवादी अध्यक्षबीच सरसल्लाह भएको हो’, दुई अध्यक्षबीचको भेटबारे एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले भने, ‘साथै पुस सकिँदा पनि सरकारले संसद् अधिवेशन बोलाएको छैन। फेरि पनि विघटन गर्ने प्रयासमा पो प्रधानमन्त्री छन् कि भन्ने आशंका छ।’
तर स्रोतका अनुसार प्रचण्ड र नेपालबीचको भेटको मुख्य उद्देश्य अर्कै छ। कांग्रेस–एमाले गठबन्धन सरकारले न्यूनतम मत प्रतिशत (थ्रेसहोल्ड) बढाउने, दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने र विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई हटाउने तयारी गरेपछि उनीहरूले सक्रियता बढाएका हुन्।
प्रचण्ड र नेपालबीच सक्रियताबारे माओवादी केन्द्रका एक नेताले थाहाखबरसँग भने, ‘कुलमान घिसिङ माथिको कारबाही र थ्रेसहोल्डले गर्दा हो।’
सरकारले राष्ट्रिय दलको मान्यताका लागि चाहिने थ्रेसहोल्डको सीमा बढाउने तयारी गरेको छ। समानुपातिकतर्फ प्रतिनिधिसभामा कम्तीमा तीन र प्रदेशसभामा १.५ प्रतिशत मत ल्याउने दलले सिट पाउने अहिलेको कानुनी प्रावधानलाई सरकारले संशोधन गर्न लागेको हो।
सरकारले राष्ट्रिय दल बनेर समानुपातिक सिट प्राप्ति गर्न कुनै पनि राजनीतिक दलले प्रतिनिधिसभामा सदर मतको कम्तीमा पाँच र प्रदेशसभामा तीन प्रतिशत मत ल्याउनुपर्ने प्रावधान राखेर कानुन संशोधन प्रक्रिया अघि बढाएको छ। विधेयकको मस्यौदालाई गृह मन्त्रालयले सहमतिका लागि कानुन मन्त्रालयमा पठाइसकेको छ।
यसैगरी आफ्नो पहिलो कार्यकालमै लोडसेडिङ अन्त्य गरेको श्रेय पाएका विद्युत् प्राधिकरणका प्रमुख घिसिङलाई हटाउन चाहेको छ। डेडिकेटेड फिडर तथा ट्रंकलाइन महसुल विवादमा ओली सरकार उनीसँग शुरुदेखि नै सकारात्मक छैन।
लामो रस्साकस्सीपछि २२ पुसमा ‘पदबाट किन नहटाउने’ भन्दै स्पष्टीकरण ने सोधेपछि सरकारसँग माओवादी थप क्रुद्ध बनेको छ।
देउवा भेटेर माधवको नेपालको हारगुहार
दल विभाजनसम्बन्धी अध्यादेशको मुख्य निशानामा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी छ। पार्टीले विभाजनको औचित्य पुष्टि गर्न नसकेको भन्दै एमालेमा फर्कन चाहनेको संख्या धेरै रहेको बताइन्छ।
माओवादीमा पनि अन्तरसंघर्ष हल भइसकेको छैन। नेतृत्वमाथि प्रश्न उठाएका उपमहासचिव जनार्दन शर्माले पार्टी नै विभाजन गर्न लागेको चर्चा पनि नचलेको होइन। यद्यपि अध्यक्ष प्रचण्डले महाधिवेशनलाई देखाउँदै तत्काललाई यो बहस साम्य पारेका छन्।
यस्तो अवस्थामा एकीकृत समाजवादीसँगै माओवादी पनि दल विभाजनलाई सहज बनाउने अध्यादेशको विपक्षमा छ। यसका लागि निरन्तर दुई दिन प्रचण्डसँग छलफल गरेर शनिबार एकीकृत समाजवादी अध्यक्ष नेपालले सत्तारुढ कांग्रेसकै सभापति शेरबहादुर देउवालाई भेटेका छन्।
देउवानिवास बूढानीलकण्ठ पुगेर नेपालले दल विभाजनसम्बन्धी अध्यादेश रोकिदिन आग्रह गरेका छन्। ‘प्रधानमन्त्री ओली संसद् नबोलाएर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारीमा छन्। यो विषयमा कांग्रेसको मनोविज्ञान के छ भनेर सभापतिसँग भेट गर्नुभएको हो’, एकीकृत समाजवादीका एक नेताले थाहाखबरसँग भने, ‘कांग्रेसले पनि ल्याउन हुँदैन र त्यसमा हाम्रो साथ रहँदैन भन्नुभएको छ।’
कात्तिक पहिलो साता नै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने प्रधानमन्त्री ओलीको अघिल्लो प्रयास पनि कांग्रेसकै कारण रोकिएको थियो। अहिले पनि कांग्रेसको असहमतिका करण मात्रै ढिलाइ भइरहेको बताइन्छ।
पहिले ल्याइएको अध्यादेश खारेज भएपछि ऐन जगाउन प्रतिस्थापन विधेयक पारित नगरिएकाले राजनीतिक दलसम्बन्धी ऐन अहिले निष्क्रिय छ। तत्कालीन देउवा नेतृत्वको सरकारले संसदीय दल र केन्द्रीय समितिमध्ये कुनै एकमा २० प्रतिशत भए पार्टी विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो।
अध्यादेश संसद्मा पेस नभएपछि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ असोज ११ मा खारेज गरेकी थिइन्। त्यसपछि ऐनमा साविककै व्यवस्था राख्न प्रचण्ड नेतृत्वको सरकारले २०८० माघ १८ मा संसद्मा विधेयक दर्ता गरेको थियो तर त्यो विधेयक पनि अघि बढाइएको छैन।
ऐन निष्क्रिय रहेकै अवस्थामा केही समयअघि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल अशोक राईको नेतृत्वमा विभाजित भयो। नियमावलीलाई देखाउँदै उसलाई निर्वाचन आयोगले वैधता प्रदान गरे पनि त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको रिट विचाराधीन छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।