सोमवार अन्तिम दुई चरणका खेल हुने
सोमवार अन्तिम दुई चरणका खेल हुने
काठमाडौँ : पुष्पसदन सेकेण्डरी बोर्डिङ स्कुलको आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन पाँच चरणका खेल सम्पन्न भएका छन्।
नेपाल तथा भारत सिक्किमका विद्यार्थी सम्मिलित प्रतियोगितामा यू–११, यू–१३ र यू–१५ उमेर समूहका विद्यार्थीबीच चलिरहेको प्रतिस्पर्धामा भारतीय विद्यार्थीले अग्रता लिएका छन्।
काठमाडौँको कीर्तिपुरस्थित पुष्पसदन विद्यालय प्राङ्गणमा छात्रतर्फ यू-१५ समूहअन्तर्गत सिक्किम चेस एशोसिएशन, भारतबाट प्रतिस्पर्धा गरिरहेका आभानिष प्रधानले उत्कृष्ट खेल प्रदर्शन गरि सबै खेल जित्न सफल भएका छन्।
आभानिषले ५ अंक जोड्ने क्रममा क्रमशः आयन्स पौडेल, रेन्बो एकेडेमीका आर्यन पुन, गुरुकुलका स्पर्श सारावोगी, बज्र एकेडेमीका विभष जोशी र त्रियोग हाई स्कुलका सइस घिमिरेलाई पराजित गरेका छन्।
छात्रातर्फको यु-१५ प्रतिस्पर्धामा भारतकी डेसियल ओङ्गमु भुटियाले ४.५ अंक जोडेर एकल अग्रता कायम गरेकी छिन्। उनले चौथो चरणको एकमात्र खेल हिमालयन चेस एकेडेमीकी प्रज्ञा पन्तसँग बराबरी गरेकी थिइन् भने बाँकी ४ जना प्रतिस्पर्धीलाई हराउन सफल भएकी छिन्।
यसै समूहमा आयोजक पुष्पसदन बोर्डिङ सेकेण्डरी स्कुलकी शिवानी रिजाल र सबनम रिजाल दुवैजनाले समान ४ अंक बनाउँदै संयुक्त दोस्रो स्थानमा उभिन सफल भएका छन्।
प्रतियोगितामा १३ वर्ष उमेर समूहको छात्रतर्फ पाठशाला सेकेण्डरी स्कुलका ओस्कार पन्थीले ५ अंक जोडेर एकल अग्रता कायम गरेका छन्।
भेलियन चेस एकेडेमीका उत्पादन ओस्कार पन्थीले क्रमशः हिल टाउन स्कुलका ओरने महर्जन, हिमालयनका आयन जोशी, जेनिश गुरुङ्ग र ज्ञानोदय बालबाटिकाका प्रविर केसीमाथि जित दर्ता गरेका छन्।
दोस्रो स्थान ओगटेका भारतीय निरभ ढकालले ४.५ अंक बनाएर छैटौँ चरणको खेलमा पन्थीसंग भेट पक्का गरेका छन्।
यसै समूहको छात्रातर्फ बिएन एकेडेमीकी विविशा तामाङ्गले पूर्ण ५ अंक बनाएर अग्रता कायम गर्न सफल भएकी छिन्। उनलाई भारतकी मानस्वी आचार्य र मार्भेलस इङ्गिलस स्कुलकी कृति रिजालले समान ४ अंक बनाउँदै पछ्याइरहेका छन्।
यसैगरी यू-११ छात्रतर्फ सूर्योदय सेकेण्डरी स्कुलका अग्रिम सैंजुले सबै खेल आफ्नो पक्षमा पार्दै समूहमा अग्रता बनाउन सफल भएका छन्।
पेभेलियन चेस एकेडेमीका उत्पादन अग्रिम सैंजुलाई पछ्याउने क्रममा ग्रीनल्याण्ड स्कुलका सुलभ पन्थी र गोल्डेन पिक स्कुलका आयुष शर्माले समान ४.५ अंक जोडेर दोस्रो स्थानमा उभिएका छन्।
यता यू-११ छात्रा समूहमा मार्भलस इङलिस स्कुलकी निहाना श्रेष्ठले सबै खेल जितेर ५ अंकका साथ एकल अग्रता हासिल गर्न सफल भएकी छिन्।
हिमालयन चेस एकेडेमीकी उत्पादन निहानाले क्रमशः रुबेर्सि चौलागाईं, नयुमा मगर, प्रशंसा चौधरी, ओजस्वी श्रेष्ठ र भारतकी पालक अग्रवालमाथि जित हासिल गरेकी छिन्।
यसै समूहमा अन्नपूर्ण सेकेण्डरी स्कुलकी ओजस्वी श्रेष्ठ, मार्भलसकी सुहानी सिंह र सिक्किमकफ पालक अग्रवाल समान ४ अंकमा रहँदै संयुक्त दोस्रो स्थानमा छन्।
यससँगै प्रतियोगिताका संयोजक एवं पूर्वनेपाल च्याम्पियन केशव श्रेष्ठले २४७ जना नेपाली विद्यार्थी र ११ जना सिक्किम चेस एशोसिएशन, भारतको तर्फबाट सहभागी भएको प्रतिस्पर्धामा प्रत्येक समूहका विजेता खेलाडीलाई आकर्षक ट्रफी, स्वर्ण, रजत र काँस्य पदकसहित प्रमाणपत्र प्रदान गरिने जानकारी गराएका छन्।
उनका अनुसार ७ चरणको खेलका बाँकी २ चरण भोलि सोमवार हुनेछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।