काठमाडौँ : आईसीसी यू–१९ महिला टी–२० विश्वकपका लागि मलेशियामा रहेको नेपाली महिला टोली पहिलो अभ्यास खेलमा वेष्ट इण्डिजसँग ९ रनले पराजित भएको छ।
मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमवार भएको अभ्यास खेलमा नेपाल वेष्ट इण्डिजसँग ९ रनले पराजित भएको हो। वेष्ट इण्डिज जितका लागि दिएको ११० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर १ बलमा अल आउट हुँदै १०० रनमात्र बनाउन सक्यो र ९ रनले पराजित भयो।
नेपालका लागि सिमाना केसीले सर्वाधिक २३ रन स्कोर गरिन् भने कप्तान पूजा महतो र किरणकुमारी कुँवर दुवै जनाले १८/१८ रन बनाए। सोनी पाख्रिनले १५ रन बनाइन्।
वेष्ट इण्डिजका लागि अमिया गिल्बर्ट, आलिया विक्स र त्रिशा हर्डाटले २/२ विकेट लिए भने केनिका क्यासरले १ विकेट लिइन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ४ विकेटमात्र गुमाएर १०९ रन बनाएको थियो।
वेष्ट इण्डिजका लागि कप्तान समारा रामनाथले सर्वाधिक २५ रन बनाइन् भने असाबी क्यालेन्डरले २३ बनाइन्। जजारा क्याक्टनले २२ रन र एबिगेल ब्रायसले १९ रन बनाए।
नेपालका लागि रचना चौधरी र सिमाना केसीले १/१ विकेट लिए।
नेपालले अब अर्को अभ्यास खेल पर्सि (बुधवार) अमेरिकासँग खेल्नेछ।
यही माघ ५ गते शुरु हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ। यो समूहमा नेपालसँगै अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन्।
नेपालले विश्वकपको समूह चरणको पहिलो खेल माघ ५ गते नै बंगलादेशसँग खेल्नेछ। नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ भने तेस्रो खेल माघ ९ गते अष्ट्रेलियासँग खेल्नेछ।
विश्वकपको समूह ‘ए’ मा आयोजक मलेशियासहित भारत, श्रीलंका र वेष्ट इण्डिज रहेका छन् भने समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन्। समूह ‘सी’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाइजेरिया रहेका छन्।
नेपालले यसै वर्ष कात्तिकमा भएको एशियाली छनोट खेलमा यूएईलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक आयोजना हुन लागेको महिला यू-१९ विश्वकपमा स्थान बनाएको थियो।
विश्वकपमा छनोट भएकै कारण नेपालले हालै मलेशियामा भएको एसीसी महिला यू–१९ एशिया कप खेल्ने अवसर पाएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।