|

काठमाडौँ : आगामी माघ ४ गते नेपाल कबड्डी लिग (एनकेएल) प्रतियोगिता शुरु हुँदै छ। दुई साता चल्ने प्रतियोगिताको पहिलो सिजन फ्रेन्चाइज टिमको अवधारणामा विभिन्न ६ शहरका ६ टिमले प्रतिस्पर्धा गर्दै छन्।

ती टिममध्येको एक काठमाण्डु माभरिक्सका मार्की खेलाडी एवं नेपाली राष्ट्रिय कबड्डी खेलका कप्तान घनश्याम रोका मगरले नेपाली कबड्डी खेलको विकास र विस्तारमा प्रतियोगिता महत्वपूर्ण हुने बताए। 

उनले आफ्नो टिमले प्रतियोगिताको उपाधि जित्ने विश्वाससहित तयारी गरेको बताए। रोल्पा घर भई हाल भारतमा बसोबास गर्दै आएका घनश्यामले भारतमा आयोजना भएका विभिन्न कबड्डी प्रतियोगितामा पनि सहभागिता जनाइसकेका छन्। 

प्रतियोगितामा काठमाण्डु माभरिक्ससँगै विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, पोखरा लेकर्स, बुटवलको हिमालयन रेडर्स र धनगढी वाइल्डक्याट्स सहभागी हुँदै छन्। 

उद्घाटन खेलमा काठमाण्डु माभरिक्स र पोखरा लेकर्सबीच प्रतिस्पर्धा हुनेछ। 

यसैगरी विराटनगरले पहिलो खेलमा धनगढी वाइल्डक्याट्सको सामना गर्नेछ भने जनकपुर नाइट्सले बुटवलको हिमालयन रेडर्सविरुद्ध प्रतिस्पर्धा गर्दै एनकेएलमा डेब्यु गर्नेछन्। 

राउन्ड रोबिन लिगमा १५ खेल हुनेछन्, जसको शीर्ष ४ टिम नकआउट चरणमा प्रवेश गर्नेछन्। लिगका शीर्ष २ टिमले माघ १४ गते पहिलो क्वालिफायर खेल्नेछन्, जसको विजेता सीधै फाइनलमा पुग्नेछ। 

लिगको तेस्रो र चौथो स्थानमा रहेका टिमले माघ १४ गते नै एलिमिनेटर खेल्नेछन्, जसको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ। 

पहिलो क्वालिफायरमा पराजित टिम र एलिमिनेटरको विजेताबीच माघ १६ गते दोस्रो क्वालिफायर हुनेछ, जसको विजेता टोलीले फाइनलमा स्थान पाउनेछ।

फाइनल खेल भने माघ १८ गते हुनेछ। एनकेएलमा दैनिक एक वा दुई खेल सञ्चालन गरिनेछ।

दुई खेल हुँदा दिनको पहिलो खेल साँझ साढे ५ बजे हुनेछ भने दोस्रो खेल साढे ६ बजे हुने आयोजकले जनाएको छ। एउटामात्र खेल भएको दिन प्रतिस्पर्धा साँझ साढे ६ बजे हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.