काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउदले पार्टी र वर्तमान सरकारबारे नागरिकको धारणा बुझ्न लुम्बिनी प्रदेशका पाँच जिल्लामा स्थानीय नेता–कार्यकर्तासँग अन्तरक्रिया गरेका छन्।
साउदले २५ पुसमा बर्दियाबाट सुरु गरेको अभियान २९ पुसमा नवलपुरमा सम्पन्न गरे। जसमा स्थानीय नेता कार्यकर्ताले नेतृत्वमाथि कयौँ प्रश्नहरु उठाएका छन्। मुख्यरुपमा हालको सत्ता गठबन्धनको स्थायित्व, पार्टीको आगामी १५औँ महाधिवेशनको तयारीदेखि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेप्रतिको कांग्रेसको धारणाबारे कार्यकर्ताले प्रश्न उठाएका हुन्।
बर्दियामा भेला भएका नेता कार्यकर्ताले सबैभन्दा बढी द्वन्द्वपीडित भएको जिल्लाका पीडित र घाइतेहरुको उपचार हुन नसकेको गुनासो गरेका थिए । साथै वर्षौँदेखिको सुकुम्बासी समस्या समाधान हुन नसक्नुको कारणसमेत उनीहरुले खोजेका थिए।
नेता साउदले आफ्नै पार्टीको सरकार हुँदा पनि जनता निराश भएको प्रश्न सबैजसो जिल्लामा सामना गर्नु परेको छ। पुस २६ मा बाँकेमा भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमका अधिकांश सहभागीले कांग्रेस र एमालेसहितको गठबन्धन सरकारबाट नागरिक खुसी हुन नसकेको सुनाएका थिए।
कांग्रेस सत्तामा भएको जनतालाई महसुस गराउन नसकिएको, आर्थिक सुधार हुन नसकेको जस्ता गुनासा कार्यकर्ताले गरे। यतिमात्र होइन एमालेसँगको सहकार्यले २०८४ को चुनावमा कांग्रेसलाई घाटा हुने भन्दै कतिपय सहभागीले वर्तमान गठबन्धन अप्राकृतिक भएको आरोप लगाए।
यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन २०८७ मा हुने बताएको प्रशंगमा समेत कार्यताले आपत्ति प्रकट गरे। कार्यकर्ताको गुनासो सुनेका साउदले प्रधानन्त्रीको अभिव्यक्ति सहमति विपरीत आएको टिप्पणी गरे ।
प्रधानमन्त्रीले नै ०८७ मा संशोधन गर्ने जुन अभिव्यक्ति दिए, यो सरकार गठनका लागि भएको सहमति विपरित छ। यसले गठबन्धनको औचित्य र सान्दर्भिकताका विषयमा कांग्रेसले सोच्न आवश्यक छ।’ साउदले भने।
केद्रीय सदस्य डिला संग्रौला, गोविन्दबहादुर शाह, अब्दुल सतार र चम्पा खड्कासहित ५ सदस्यीय टोलीको नेतृत्व गरेर लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पुगेका साउदले अन्य जिल्लामा पनि एमालेसँगको सहकार्य, पार्टीको महाधिवेशन र रवि लामिछानेबारेको अवधारणा के हो जस्ता प्रश्नहरुको सामना गरे।
रवि लामिछानेको मुद्दा अदालती प्रक्रिया गइसकेको भन्दै यसबारे नबोलेका साउदले पार्टीको महाधिवेशन भने समयमै हुने आश्वासन दिए। पार्टीको क्रियाशील सदस्यता नवीकरण, नियमित प्रशिक्षण, युवा आकर्षण, भ्रातृ संस्थाहरुको महाधिवेशन, पार्टीका जिल्ला सम्मेलन जस्ता थुप्रै गुनासो लिएर भेट्न आईपुगेका स्थानीय नेता कार्यकर्तासँग साउदले रोकिएका नियमित कामहरुमा ध्यान केन्द्रित गरेर पार्टी अघि बढ्ने आश्वासन दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।