काठमाडौँ : मलेशियामा माघ ५ गतेदेखि शुरु हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकपको ट्रफी सार्वजनिक गरिएको छ।
मलेशियाको राजधानी क्वालालम्पुरको सिटी सेन्टरस्थित पेट्रोनास ट्विन टावरमा आज (मंगलवार) विश्वकप खेल्ने १६ वटै देशका कप्तानले संयुक्त रुपमा विश्वकप ट्रफी सार्वजनिक गरेका हुन्।
विश्वकपमा भाग लिन सबै टोली मलेशिया पुगिसकेका छन्। नेपालले पहिलो पटक यू–१९ महिला टी–२० विश्वकप खेल्न लागेको हो।
पूजा महतोको कप्तानीमा रहेको नेपाली महिला टोलीले विश्वकपअघि वेष्ट इण्डिजसँग सोमवार खेलेको पहिलो अभ्यास खेलमा ९ रनले पराजित भयो।
नेपालले दोस्रो अभ्यास खेल भोलि (बुधवार) अमेरिकासँग खेल्नेछ। विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ।
समूह ‘डी’ मा नेपालसँगै अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन्।
नेपालले समूह चरणको पहिलो खेल आगामी माघ ५ गते बंगलादेशसँग खेल्नेछ। दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ भने तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ।
विश्वकपको समूह ‘ए’ मा आयोजक मलेशियासहित भारत, श्रीलंका र वेष्ट इण्डिज छन्।
समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् भने समूह ‘सी’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाइजेरिया छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।