धनकुटा : धनकुटाको चौबिसे गाउँपालिकामा सम्पन्न दोस्रो त्रिवेणी कप पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल प्रहरीको रानी विराटनगरले जितेको छ।
चौबिसे गाउँपालिका वडा नं. ४ र ५ को संगमस्थलस्थित हंसमोरङमा मंगलवार सम्पन्न फाइनलमा नेपाल प्रहरीको रानी विराटनगरले कोशी प्रदेश ट्रेनिङ सेन्टरलाई पराजित गर्दै उपाधि जितेको हो।
फाइनल खेलमा प्रहरीले ट्रेनिङ सेन्टरलाई २६–२४, २५–२२ र २५–२३ को सोझो सेटमा हराउँदै उपाधि जितेको हो। विजेता नेपाल प्रहरी रानी विराटनगरले उपाधिसँगै नगद १ लाख २२ हजार २२२ रुपैयाँ हात पारेको छ भने उपविजेता कोशी प्रदेश ट्रेनिङ सेन्टरले ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझाएको छ।
कोशी प्रदेशका ८ टिमको सहभागिता रहेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्रहरीका बालकुमार रायमाझी घोषित भए। उनले नगद २५ सय रुपैयाँ हात पारे।
उत्कृष्ट स्पाइकर कोशी ट्रेनिङ सेन्टरका रोशन श्रेष्ठ, उत्कृष्ट सटर कोशी ट्रेनिङ सेन्टरकै मनोज घिमिरे, उत्कृष्ट ब्लकरमा प्रहरीका अम्बिका खत्री, उत्कृष्ट डिफेन्स प्रहरीका युगल मगर घोषित भए। उनीहरुले जनही नगद २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ।
नेपाल प्रहरीको रानी विराटनगरले सशस्त्र प्रहरी बल पकलीलाई र कोशी प्रदेश ट्रेनिङ सेन्टरले बेलबारीलाई हराउँदै फाइनलमा पुगेका थिए।
विजयी खेलाडीहरुलाई पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राई, चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङलगायतले पुरस्कार वितरण गरेका थिए।
गत वर्ष सुरु भएको प्रतियोगिताको यो पटक दोस्रो संस्करण त्रिवेणी खेलकुद विकास समितिको आयोजनामा भएको हो।
प्रतियोगितामा आयोजक त्रिवेणी खेलकुद विकास समिति, गुन्याहाङ तमु समाज मकालु संखुवासभा, तमोर करिडोर स्पोर्टिङ र केराबारी मोरङको पनि सहभागिता रहेको खेल आयोजक समितिका संयोजक रोशन भण्डारीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।