पर्वत : टाइगर ग्रुप अफ पोखराको आयोजनामा हुँदै आएको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब भलिबलमा कुल १२ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।
पाँचौँ संस्करणको यस वर्षको प्रतियोगितामा दुईवटा विदेशीसहित महिला र पुरुष विधामा कुल १२ वटा टोलीहरूले प्रतिस्पर्धा गर्ने निधो भएको प्रतियोगिताका संयोजक रामकृष्ण ज्ञवालीले बताए। पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा माघ १२ गतेदेखि यो प्रतियोगिता आयोजना हुँदै छ।
प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ ६/६ टोलीले सहभागिता जनाउने भएका छन्। पुरुषतर्फ विदेशी टोली श्रीलंकन भलिबल टिमसहित हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले सहभागिता जनाउनेछन्।
महिलातर्फ विदेशी क्लब युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डसहित नेपाल एपिएफ क्लब, टिपटप न्यु डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल सहभागी हुँदै छन्। प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ।
पाँचौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा पुरस्कार राशिसमेत बढाइएको छ। आयोजक टाइगर ग्रुपले पुरस्कार राशिमा चौथो संस्करणभन्दा पाँचौँ संस्करणमा ३० हजार रुपैयाँ थप गरेको हो। यो संस्करणमा पुरुष र महिला दुवैतर्फको विजेताले समान पाँच लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछ।
यस्तै उपविजेतालाई समान दुई लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरिने छ भने तृतीय हुने टोलीले एक लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ पाउनेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार सात सय ७७ रुपैयाँ प्राप्त गर्नेछन्। विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरिनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।