|

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई हातपातमा आफ्नो पार्टीका सदस्यको संलग्नता रहे कारबाही गर्ने चेतावनी दिएको छ। 

कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा  यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्यायप्रति विश्वास राख्ने राजनीतिक दलका लागि स्वीकार्य नभएको जनाइएको छ।

'आज काठमाडौँ जिल्ला अदालत परिसरभित्र सहकारी बचत अपचलन विषयको बहस भएपश्चात अदालतबाट निस्किँदै गर्दा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको घटनाबारे जानकारी पायौँ। यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्बन्धित अनुशासन विभागको ध्यानाकर्षण भएको छ र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुनेछ', विज्ञप्तिमा भनिएको छ। 

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि बुधवार काठमाडौँ जिल्ला अदालतबाहिर लामिछानेका समर्थकहरूले आक्रमणको प्रयास गरेका थिए।

जवाफी बहस सकेर अदालत बाहिर संचारमाध्यमसँग बोलिरहेका बेला रास्वपा तथा लामिछानेका समर्थकहरूले आक्रमणको प्रयास गरेका हुन्। धकेलाधकेलको अवस्थापछि प्रहरीले वरिष्ठ अधिवक्ता त्रिपाठीलाई भीडबाट जोगाएर सुरक्षित स्थानमा लगेको थियो।

थुनछेक आदेशको पर्खाइमा रहेको आक्रोशित भीडले रवि लामिछानेकाविरुद्धमा बहस गरेको भन्दै ‘ठोक्... ठोक्...’ र ‘हान्... हान्...’ भन्दै त्रिपाठीलाई घेरेका थिए।

वरिष्ठ अधिवक्ता त्रिपाठीले सहकारी पीडितका तर्फबाट बहस गरेका थिए। उनी कास्की जिल्ला अदालत पनि पुगेर बहस गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.