|

फाप्ला : प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफले लगातार दोस्रो जित निकालेको छ। बुधवार भएको खेलमा साविक विजेता एपिएफले गण्डकी प्रदेशलाई ८ विकेटले हराएको हो।

जितसँगै एपिएफ २ खेलबाट ४ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ। पहिलो खेलमा एपिएफले कर्णाली प्रदेशलाई १११ रनले हराएको थियो। गण्डकीको भने यो लगातार दोस्रो हार हो। 

पहिलो खेलमा गण्डकी सुदूरपश्चिम प्रदेशसँग ७ विकेटले पराजित भएको थियो। 

धनगढीस्थित फाप्ला मैदानमा गण्डकीले दिएको ७१ रनको लक्ष्य एपिएफले ९ ओभर २ बलमा २ विकेटमात्र गुमाउँदै पूरा गर्‍यो। 

एपिएफको जितमा कप्तान इन्दु बर्माले अविजित रहँदै सर्वाधिक २६ रन बनाइन्। ममता चौधरी १८ र राजमती ऐरी ८ रनमा आउट हुँदा रोमा थापा १४ रनमा अविजित रहिन्। 

गण्डकीकी आकृति तिवारी र यशोदा भुजेलले समान १/१ विकेट लिए। 

त्यसअघि टस हारेर ब्याटिङ थालेको गण्डकीले १५ ओभरमा ५ विकेट गुमाउँदै ७० रनमात्र बनाउन सक्यो। खराब मौसमका कारण खेलको ५ ओभर घटाइएको थियो।

गण्डकीकी कप्तान सिर्जना पौडेलले सर्वाधिक २५ रन बनाइन्। रेखा तामाङले १७ रन र श्रेया शाहीले १३ रन बनाइन्।

बलिङतर्फ एपिएफकी बिनु बूढामगरले २ विकेट लिइन्। उनी प्लेयर अफ द म्याचसमेत चुनिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.