|

काठमाडौँ : जय नेपाल कप दक्षिण एशियाली विश्वविद्यालय टी-२० क्रिकेट प्रतियोगिता आगामी माघ ७ गतेदेखि शुरु हुने भएको छ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)को आयोजनामा नेपाल, भारत र बगंलादेशका गरी कुल आठवटा विश्वविद्यालयले प्रतिस्पर्धा गर्ने जय नेपाल टी-२० क्रिकेट माघको दोस्रो सातादेखि हुन लागेको हो। प्रतियोगिताका खेलहरू त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछन्।

नेविसंघले बिहीवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको दिएको हो। टी-२० क्रिकेट प्रतियोगितामार्फत जलवायु परिवर्तनको मुद्दालाई पनि उठाउने आयोजकको उद्देश्य रहेको छ।

नेपालका चार टोली त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय, भारतका दिल्ली विश्वविद्यालय, लखनउ विश्वविद्यालय, बाबासाहेब भीमराव विश्वविद्यालय, बिहार विश्वविद्यालय तथा बंगलादेशको ढाका विश्वविद्यालयले जय नेपाल कपमा प्रतिस्पर्धा गर्ने भएका छन्।

बंगलादेश र नेपालका विश्वविद्यालयबाट राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरू खेल्ने आयोजकले जनाएको छ। कुल ९ दिनसम्म चल्ने प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ। कुल आठ टोलीलाई दुई समूहमा भागमा विभाजन गरिएको छ। समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

विजेताले १५ लाख र उपविजेताले १० लाख रूपैयाँ पाउनेछन्। ५ लाखको पुरस्कार भने विधागत उत्कृष्टलाई प्रदान गरिने प्रतियोगिता संयोजक गणेश थापाले जानकारी दिए।
आयोजकका अनुसार प्रतियोगिताका विजेतालाई संसारको सर्वोच्च शिखर सगरमाथाको सुन्दर दृश्य अवलोकन गराइने भएको छ। नेविसंघले यस प्रतियोगिताका लागि सबैभन्दा कान्छा पर्वतारोही नीमा रिन्जी शेर्पा ब्राण्ड एम्बासडर नियुक्त पनि गरेको जनाएको छ।

नेविसंघका सभापति दुजाङ शेर्पाले यस प्रतियोगितामार्फत दक्षिण एशियाका ऊर्जाशील युवाहरूलाई स्थिरता र वातावरणप्रति संवेदनशील बनाउन एकत्रित गर्ने उद्देश्य रहेको उल्लेख गरे।

यो प्रतियोगितामा सामान्यतर्फको टिकट एक सय र भिआइपीतर्फ पाँच सय निर्धारण गरिएको छ। त्यहाँबाट उठ्ने रकम जाजरकोटका भूकम्प पीडितका लागि खर्च गरिने नेविसंघका सभापति शेर्पाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.