|

काठमाडौँ : नागरिकतालाई विस्थापित गर्न ल्याइएको राष्ट्रिय परिचयपत्र बनाउँदा नागरिकको व्यक्तिगत विवरणको दुरुपयोग हुने जोखिम रहेको भन्दै सांसदहरूले चिन्ता व्यक्त गरेका छन्।

शुक्रवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले राष्ट्रिय परिचयपत्र बनाउने कम्पनीमार्फत डेटा चुहावट हुने जोखिम रहेको चिन्ता व्यक्त गरेका हुन्। उनीहरूले नागरिकको व्यक्तिगत विवरण सुरक्षित राख्न सरकारले के गरेको छ भन्दै गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका हुन्।

बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले तथ्यांकको सुरक्षा गर्न नसके नागरिकको जीवनमै खतरामा पर्ने बताए। उनले डिजिटलको दुनियाँमा व्यक्तिगत विवरण चोरीका घटना बढेको उल्लेख गर्दै यसमा सरकार चनाखो हुनुपर्ने बताए। राष्ट्रिय परिचयपत्र लागू गर्दा ज्येष्ठ नागरिक र अशक्त नागरिक समस्यामा परेको उनले बताए। उनले सेवा लिनकै लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएका कारण दुर्गम भेगका नागरिकले समस्या झेल्नुपरेकाले सरकारले तत्काल समाधान गर्नुपर्ने बताए।

सांसद बडूले भने‚ ‘तथ्यांकको सुरक्षा गर्न सकेनौँ भने नागरिकको जीवन जोखिममा पर्छ। राष्ट्रिय परिचयपत्र बनाउँदाखेरि नागरिकको व्यक्तिगत विवरणको सुरक्षाका लागि अहिलेसम्म के के प्रबन्ध भयो? के–के विवरण त्यसमा राख्न आवश्यक छैन? यसमा हामी स्पष्ट हुनुपर्ने देखिन्छ। अब राष्ट्रिय परिचयपत्रको अनिवार्य प्रयोग गरिसकेपछि हामीले अशक्त र सामाजिक सुरक्षा लिने व्यक्तिको समस्याको तत्काल समाधान गर्नुपर्छ भन्ने लाग्छ। त्यसो गर्न नसकिएको अवस्थामा उनीहरुको सबै काम रोकिने खतरा रहेको छ। दुर्गम गाउँहरूमा अझै यस्तो समस्या झेल्नुपरेको अवस्था छ। यो समग्र परिस्थितिमा सरकारको धारणा राख्नुपर्‍यो। यसको सुरक्षा प्रमुख कुरा छँदै छ।’

नेकपा (एमाले) का सांसद रघुजी पन्तले संसारको सबैभन्दा ठूलो थ्रेट डेटा सुरक्षा भएको उल्लेख गर्दै यसमा सरकार चनाखो हुनुपर्ने बताए। उनले राष्ट्रिय परिचयपत्र छपाइको जिम्मा विदेशी कम्पनीलाई दिए नागरिकको व्यक्तिगत विवरण सुरक्षित नहुने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले राष्ट्रिय परिचयपत्र कार्यान्वयनको सवालमा धेरै समस्या रहेको रहेको उल्लेख गर्दै त्यसको समाधान गर्नुपर्ने बताइन्।  

बैठकमा अधिकांश सांसदले राष्ट्रिय परिचयपत्र विवरणमा गति दिन सुझाव दिए। साथै अमेरिका लगायत विश्वका विकसित देशमा समेत सर्भर ह्याक गरी डेटा चोर्न समस्या रहेको भन्दै यसको सुरक्षामा सरकारले गम्भीर ध्यान दिनुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.