काठमाडौँ : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आज साँझ झापामा आक्रमण भएको छ।
नेपाल प्रेस युनियन झापाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री थापामाथि यहाँको सुरुङ्गामा आक्रमण भएको हो।
आक्रमणबाट उनको आँखामाथि निधारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले थाहाखबरलाई जानकारी दिए। घटना साँझ ६ बजेतिर भएको हो।
उनका अनुसार आक्रमण गर्ने नेपाल विद्युत् प्राधिकरणका कर्मचारी रहेका छन्। प्राधिकरणका चालक र सहयोगीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको पनि उनले बताए। उनले कच्ची बाटो रहेको र त्यहाँ ओभरटेकका विषयमा आक्रमण भएको पाइएको पनि बताए।
पूर्वमुख्यमन्त्री थापाले आफू चढेको बा१झ ६५३ नंको गाडीलाई अवरोध गरी अपरिचित समूहद्वारा अचानक आक्रमण गरिएको बताए। “हामी निवास फर्किंदै थियौँ, सुरुङ्गामा आइसकेपछि अपरिचित समूहले हाम्रो सवारीसाधनलाई रोकेर ममाथि हातपात गर्यो।”
आक्रमणमा थापाको आँखा र अनुहारमा सामान्य चोट लागेको छ। विर्तासिटी हस्पिटलमा उपचारपछि उनी निवास फर्किसकेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।