|

पर्वत : जिल्लाको जलजला गाउँपालिका–९ बनौँका कृषकहरूलाई फलफूल खेतीतर्फ आकर्षित गर्न तथा बाँझो रहेको जग्गाबाट आम्दानी गर्न ओखर खेती गरिने भएको छ।

नगदे बाली लगाउँदा धेरै स्याहार गर्नुपर्ने र गाउँ छाडेर बाहिर बसेकाहरूको लागि त्यो सम्भव नहुने भएकोले दीर्घकालीन आयका लागि दाँते ओखर उत्पादनका लागि पहिलो प्रयास गर्न लागिएको वडाध्यक्ष गौ बहादुर पुनले बताए। प्राय आलु खेतीका लागि प्रख्यात रहेको बनौँमा ओखर खेतीका लागि पनि उत्तम हुन सक्ने भएकोले यो वर्ष परीक्षणको रूपमा एक हजार पाँच सय बिरुवा कृषकहरूलाई दिन लागिएको हो।

समुन्द्री सतहबाट दुई हजार मिटरभन्दा माथिको उचाइमा दाँते ओखर राम्रो हुने भएकोले झन्डै दुई हजार तीन सय मिटरको उचाइमा रहेको बनौँमा यो प्रयास थालिएको वडाध्यक्ष पुनको भनाइ छ। कृषकहरूले खाडल खनिसकेपछि मात्र बिरुवा वितरण गर्ने मुस्ताङमा एक हजार पाँच सय बिरुवा ‘अर्डर’ गरिएको छ। वडाको करिब एक लाख रुपैयाँ लगानीमा बिरुवा खरिद गर्न लागिएको छ। सरकारी दर अनुसार बिरुवा किन्दा धेरै महँगो नपर्ने भएकोले थोरै बजेटमा पनि काम गर्न सकिने पुनले बताए।

एक पटक लगाएपछि दीर्घकालीन रूपमा आम्दानीको स्रोतको रूपमा ओखर खेतीलाई लिन सकिने भएकोले यसमा कृषकहरूको माग पनि बढेपछि वडाले ओखर खेतीमा लगानी गर्न लागेको हो। आफू जनप्रतिनिधिको रूपमा रहेको बेलामा गरेको काम आगामी बर्सहरूसम्म नै निरन्तर देखिने भएकोले पनि कृषकहरूको माग अनुसार दाँते ओखर लगाउन लागिएको वडाध्यक्ष पुन बताउँछन्।  

‘आफू जनप्रतिनिधिबाट बाहिर रहने बेलामा पनि यहाँका बारीमा ओखर फलेको देख्न पाउँदा आफ्नो कार्यकालमा गरेको काम हो भन्ने गर्व लाग्छ। यसले सामान्य दुःखमा नै कृषकहरूको आम्दानी बढाउँछ भन्ने लागेको छ’, उनले भने, ‘अन्य ठाउँमा जस्तो यहाँ पनि बसाईँसराईँको क्रम रोकिएको छैन। यहाँका बाँझा जग्गालाई सदुपयोग गर्नको लागि पनि यो बाली राम्रो हुन्छ। आगामी वर्ष आरुका बिरुवा पनि व्यावसायिक रूपमा लगाउने योजनामा छौँ।’

केही दिनमा कृषकको घरमा आइपुग्ने ओखरका बिरुवा लगाउन अहिले कृषकहरूले खाडल तयार पारिरहेका छन्। खाडल नै नबनाई बिरुवा बाँड्दा कोहीले बिरुवा नै नरोपी त्यत्तिकै खेर फाल्न सक्ने भएकाले खनिएका खाडलका आधारमा मात्रै बिरुवा दिने तयारी वडा कार्यालयले गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.