‘खो–खो विश्वकप’ को फाइनलमा भारतसँगको चुनौती कस्तो ?
‘खो–खो विश्वकप’ को फाइनलमा भारतसँगको चुनौती कस्तो ?
काठमाडौँ : भारतमा जारी पहिलो संस्करणको ‘खो–खो विश्वकप’ मा नेपालले इतिहास रच्ने अवसरसहित पहिलो उपाधिको परीक्षा दिँदै छ। पुरुष र महिला दुबैमा नेपालले भारतसँग उपाधि भिडन्त गर्दै छ।
प्रतियोगितामा जानुअघिसम्म गुमनाम रहेको खो खो टिम एकपछि अर्को उत्कृष्ट नतिजासँगै चर्चा बटुल्न सफल हुँदै गएको छ। गाह्रोसाह्रो गर्दै विश्वकपको तयारीसँगै नयाँ दिल्ली पुगेको खो खोको पुरुष र महिला टिम नतिजा आफ्नो पक्षमा पार्न उद्यत देखियो।
नेपाल खो खो संघका अध्यक्ष प्रदीप महर्जन प्रतियोगितामा जानु केही दिन अघिसम्म कुनै चर्चा नभए पनि पछिल्लो समय राम्रो चर्चा कमाइरहेको बताउँछन्। सुरुमा चर्चा नै थिएन, जब हामी खेल्न जाने २ दिनअघि केही समाचार आए‚ त्यसपछि हामीलाई हौसला मिल्यो’‚ उनले भने‚ ‘दुबै टोलीले राम्रो खेल पस्किए, अहिले सोचेभन्दा धैरै चर्चा पाइरहेका छौँ।’
महिला र पुरुष दुबैको खेलमा भारत पनि फाइनलमा छ। नेपालसँग सेमिफाइनलमा भेट नहुँदा नेपालका लागि फाइनल पुग्न त्यति कठिन नभएको संघका अध्यक्ष प्रदीप महर्जन बताउँछन्। हामीले सुरुदेखि नै भन्दै आएका थियौँ कि हाम्रो मुख्य तगारो भनेकै भारत मात्र हो’, उनले भने‘‚ ‘अब उपाधिका लागि हाम्रो भेट भारतसँगै हुँदै छ। हाम्रो वास्तविक भिडन्त भनेकै फाइनलमा हो’‚ उनले भने।
समूहचरणको हारको बदला लिने अवसर
अहिलेसम्म पुरुष टिम समूह चरणमा भारतसँग पराजित हुनु बाहेक अन्य कुनै खेलमा हार्न परेको छैन। समूह ‘ए’को पहिलो खेलमै हारेको नेपालका लागि समूहचरणको बदला लिने अवसर फाइनल खेल हुनसक्छ।
नेपाल भारतसँग ४२–३७ अंकले पराजित भएको थियो। जम्मा ५ अंकले हारेको हुँदा नेपालका लागि भारतसँगको खेल जित्नै नसक्ने भन्ने नरहेको उनी बताउँछन्। ‘हाम्रो मनोबल बढ्दै गएको छ’, उनले भने, ‘हामीले खेलमा सुखद नतिजा ल्याउनेछौँ, खेलाडीहरू पनि उत्साहित छन्।’
नेपालले भारतसँग समूहचरणमा हार बेहोरे पनि अन्य खेलमा भने भारतको भन्दा बढी अन्तरले खेल जितेको छ। नेपालले समूहचरणमा पेरुलाई ८०–३४ ले हराउँदा भारतले ७०–३८ अंकले हराएको छ। यस्तै नेपालले ब्राजिललाई १३४–८ ले हराउँदा भारतले भने ब्राजिललाई ६४–३४ अंकले निराश पारेको छ।
यसैगरी नेपालले भुटानलाई ९८–८ को अन्तरमा हराउँदा भुटान भारतसँग ७१–३४ को अन्तरमा हारेको छ।
महिला टिम पनि शतप्रतिशत नतिजाका साथ फाइनलसम्म पुगिसकेको छ। उसले भारी अन्तरले नै अधिकांश खेलमा जित आफ्नो पक्षमा पारेको छ।
नयाँदिल्लीस्थित इन्दिरा गान्धी इन्डोर रंगशालामा शनिबार सम्पन्न खेलमा पुरुष टिमले इरानलाई हराउँदै तथा महिला टिमले युगाण्डालाई पाखा लगाउँदै अन्तिम दुईमा पुगेका हुन्।
विश्व विजेता बन्न नेपालले पुरुष र महिला दुबैमा भारतकै चुनौती पन्छाउनुपर्नेछ। भारतले पनि पुरुषतर्फ दक्षिण अफ्रिकालाई १८ अंंकले तथा महिलामा पनि दक्षिण अफ्रिकालाई नै ५० अंकले निराश बनाउँदै फाइनलको यात्रा तय गरेको हो।
शनिबार सम्पन्न सेमिफाइनल खेलमा नेपाली पुरुष टिमले इरानलाई ५२ अंकले हराउँदै फाइनलमा स्थान बनाएको हो। खेलमा इरानले २० अंक बनाउँदा नेपालले ७२ अंक बनाएको थियो। खेलमा उत्कृष्ट खेलाडी जनक चन्द भए भने उत्कृष्ट एट्याकर सुरज पुजारा चुनिए।
यसअघि क्वार्टरफाइनलमा नेपालले बंगलादेशलाई ६७–१८ अंकले निराश बनाएको थियो। भारतको पुरुष टिमले क्वार्टरफाइनलमा श्रीलंकालाई ६० अंकले हराएको थियो। समूह ‘ए’बाट उपविजेता भएर नेपाली पुरुष टिम क्वार्टर फाइनलमा पुगेको थियो।
महिला टिम पनि उपाधि नजिक
खो खो विश्वकपको महिलातर्फको उपाधिका लागि भारतसँगको भेट पक्का गर्ने क्रममा नेपालले युगाण्डालाई ७१ अंकले हराएको हो। भारतले भने दक्षिण अफ्रिकालाई ६६–१६ को अन्तरमा हराएर फाइनलमा पुगेको हो।
नयाँदिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा नेपालले ८९ अंक बनाउँदा युगाण्डाले मात्र १८ अंक बनाउन सक्यो। खेलमा नेपालकी पूजा अड उत्कृष्ट खेलाडी भइन् भने उत्कृष्ट डिफेण्डर दीपा विक भइन्। यसअघि क्वार्टरफाइनलमा नेपालले इरानलाई ९५ अंकको भारी अन्तरले पाखा लगाएको थियो। सो एकपक्षीय खेलमा नेपालले इरानविरुद्ध १०३ अंक बनाउँदा इरानले मात्र ८ अंक जोड्न सक्यो।
समूह ‘सी’को विजेताका रूपमा क्वार्टरफाइनलमा पुगेको नेपालले समूह चरणका कुनै खेलमा हार बेहोर्न परेन। समूह ‘सी’मा नेपाल अपराजित रहेको थियो। पहिलो खेलमा भुटानलाई ९३–२४ अंकले हराएको नेपालले दोस्रो खेलमा जर्मनीलाई ७३–३४ अंकले पाखा लगायो।
यस्तै तेस्रो खेलमा श्रीलंकालाई ११०–१० अंकले हराएकोे नेपालले चौथो खेलमा बंगलादेशलाई ८४–२४ ले हराएर शतप्रतिशत नतिजा निकाल्दै समूह विजेता बनेको थियो।
भारतको महिला टिमले क्वार्टरफाईनलमा बंगलादेशलाई ९३ अंकले पाखा लगाएको थियो। सन् २०२३ मा भारतको गुवाहटीमा भएको एशियन च्याम्पियनसीपमा नेपाल भारतसँग नै पराजित हुँदै उपविजेता बनेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।