धनकुटा : नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेकपा माओवादी केन्द्रसँगको गठबन्धन सरकार विघटनको प्रसंग उठाउँदै ३२ सिट भएको पार्टीले एमाले र कांग्रेसभन्दा ठूलो भएको दम्भ देखाएकाले वर्तमान गठबन्धन बनेको बताएका छन्।
पार्टी जिल्ला कमिटी धनकुटाले आयोजना गरेको तीनमहिने ‘जराकेन्द्रित अभियान’ को आज धनकुटामा उद्घाटन गर्दै उनले साना दलविना सरकार नै नबन्ने नकारात्मक सन्देश तोड्न वर्तमान सरकार बनेकाले यो निरन्तर अगाडि बढ्ने दावी गरे।
संसदमा प्रतिनिधित्वका आधारमा कांग्रेस र मतका आधारमा एमाले पहिलो दल भएकाले जनताको मतको सम्मान गर्न र साना दलहरूको अनावश्यक दम्भ अन्य गर्न पनि वर्तमान सरकारले स्थायित्व पाउने महासचिव पोखरेलको भनाइ थियो।
वर्तमान गठबन्धन सरकार जनताले दिएको जनमत र देशको आवश्यकताअनुसार बनेकाले कसैले चाहँदैमा नढल्ने दावी पनि उनले गरेका छन्।
महासचिव पोखरेलले हालको संसदमा दलहरूको उपस्थितिले गर्दा सरकार सञ्चालनको जनमत एमाले र कांग्रेसलाई मिलेर अगाडि बढ्ने रहेको भन्दै सोहीअनुसार सत्ता सहकार्य भएको धारणा राखे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।