|

लमजुङ : यहाँका किसानले अलैँची बिक्री गरेर २२ करोड रुपैयाँ आम्दानी गरेका छन्। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन् । यो वर्ष जिल्लामा प्रतिकिलो एक हजार पाँचदेखि दुई हजार ४०० रुपैयाँसम्ममा अलैँची बिक्री भएको छ । 

त्यसैगरी, गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका किसानले २५१ मेट्रिक टन अलैँची बिक्री गरी २४ करोड आम्दानी गरेका थिए । मिजारका अनुसार गत वर्ष जिल्लाका किसानले प्रतिकिलो रु एक हजार दुई सयका दरले अलैँची बिक्री गरेका थिए। गत वर्षको तुलनामा यो वर्ष उत्पादन घटेको हो । 

त्यसैगरी, आर्थिक वर्ष २०७९/८० मा  ३८० मेट्रिक टन अलैँची बिक्रीबाट २० करोड रुपैयाँ आम्दानी भएको थियो। उक्त वर्ष प्रतिकिलो अलैँची कम्तीमा ५५० देखि ७०० सम्म बिक्री भएको थियो । 

आव २०७८/७९ मा ३३५ मेट्रिक टन अलैँची बिक्री गरी १५ करोड रुपैयाँ आम्दानी भएको थियो । आव २०७७/७८ मा तीन हजार ५०० क्विन्टल अलैँची बिक्री गरी  १८ करोड २० लाख रुपैयाँ आम्दानी भएको थियो । आव २०७६/७७ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची बिक्री गरेर किसानले १२ करोड रुपैयाँ आम्दानी गरेका थिए । त्यसैगरी, आव २०७५/७६ मा ७५० क्विन्टल अलैँची बिक्री गरी किसानले पाँच करोड २५ लाख आम्दानी गरेका थिए । 

जिल्लामा सबैभन्दा बदी मस्र्याङ्दी गाउँपालिकाका किसानले अलैँची उत्पादन गर्ने गरेका छन् । मर्स्याङ्दी गाउँपालिका- ५ सन्जापुका स्थानीयले मात्र यस वर्ष छ हजार ७०० केजी अलैँची बिक्री गरी एक करोड ५० लाख रुपैयाँ आम्दानी गरेको सन्जापु अलैँची कृषक समूहका अध्यक्ष कामकाशी गुरुङले बताए। गाउँका करिब ६० घरधुरीले अलैँचीखेती गरेका छन्। 

भारतको एकाधिकारका कारण किसानको मागअनुसार अलैँचीको मूल्य नपाएको गुनासो भए पनि यस वर्ष केही राहत महशुस गरेको किसान बताउँछन्। 

जिल्लामा ७५० हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आए पनि तीन सय ७५  हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएको कार्यालयले जनाएको छ । उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रूपमा मर्स्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होँलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ । यो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ। 

जिल्लामा सात सय मिटरदेखि एक हजार दुई सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बर शाही, एक हजार २०० मिटरदेखि १६ मिटर उचाइमा गोलशाही र एक हजार ६०० देखि दुई हजार २०० मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची लगाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.