|

संखुवासभा : संखुवासभाको चिचिला गाउँपालिका –३  का खर्सुका दिनेश थुलुङ राई ब्यवसायिक रूपमा अलैचीँ खेतीमा लागेका छन्।  लामो समयसम्म अर्काको देशमा पसिना बगाएर गाउँ फर्केलगत्तै पाखोबारीमा ब्यावसायिक रूपमा अलैचीँ खेतीमा लागेका दिनेश अहिले अलैचीँ खेतीबाट बार्षिक ५० लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्।

स्वदेशमा रोजगारी नपाएपछि धेरै मानिसको रोजाई विदेश हुने गरेको छ। तर, चिचिला –३  का खर्सुका थुलुङ राई वैदेशिक रोजगारीबाट नै फर्किएर गाउँमै ब्यवसायिक रूपमा अलैचीँ खेतीमा रमाउँदै कमाउँदै छन्।

विदेश र स्वदेशका विभिन्न ठाउँ घुमफिर गरेका थुलुङ राई आत्मनिर्भर बन्नुपर्छ भनेर व्यवसायिक रुपमा अलैंची खेती गर्न थालेको बताउँ छन्। २००८ मा इराक गएका थुलुङ राई २०१२ मा गाउँ फर्के।

विदेशबाट फर्किएर थुलुङ राईले पुर्ख्यौली गाउँ खर्सुमा २०७७ साल देखि ५० रोपनी पाखोबारीमा ब्यावसायिक अलैँची सुरु गरेका हुन्। थुलुङ कृषि पशुपन्छी तथा जडीबुटी फर्म दर्ता गरेर अहिले राईले करिब ३ सय रोपनी पाखोबारीमा अलैचीँ खेती विस्तार गरेका छन्।

विदेशमा गएर पनि श्रम गर्नुपर्छ भने आफ्नै गाउँमा पसिना र श्रम गर्ने भन्ने सोचका साथ अलैचीँ खेतीतर्फ लागेको थुलुङको भनाइ छ। थुलुङ अहिले त यही बगानमा नै बस्दै आएका छन्। थुलुङ विहानदेखि बेलुकीसम्म अलैंचीको बगानको हेरचाहमा बिताउने गरेका छन्। उनले आफ्नो पाखोबारी र जंगलमा रहेको रुखलाई पातलो बनाएर अलैंची बगान विस्तार गरेको देखेर गाउँ छाडेर शहर बस्न थालेको छिमेकीहरु समेत आर्कषित भएको उनको भनाइ छ।

उत्कृष्ट कृषकको रुपमा पुरस्कृत

थुलुङले गत वर्ष ९० मन अलैची उत्पादन गरे। ‘कालो सुन’ भनेर चिनिने अलैंचीँको मूल्य पछिल्लो समय एक मन (४० किलोग्राम) अलैचीँको मूल्य एक लाख रुपैयाँ बढीमा कारोवार भइरहेको छ।  मसलाबाली उत्पादन ब्यवसाय तर्फ राष्ट्रिय स्तरमा उत्कृष्ट कृषकको रुपमा थुलुङ ४३ औं विश्व खाद्य दिवसको अवसरमा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय बाट पुरस्कृत भइसकेका छन्।

जिल्लामै ब्यवसायिक रुपमा अलैचीँ खेती गरेर ९० मन (४० किलोग्राम) उत्पादन गरेर पुस्कृत भएका हुन्। संखुवासभामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई अलैचीँ जोन कार्यक्रम लागू भएपछि अलैचीँ उत्पादन बढ्दै जान थालेको थुलुङले बताए।

जिल्लामा सञ्चालित अलैचीँ जोन कार्यक्रमबाट कृषकलाई प्राविधिक सहयोग,सिचाईँ,आधुनिक भट्टी,विउ,विषाधी सहयोगले अलैचीँ खेती तर्फ आर्कषित भएको थुलुङले बताए। उनले जोन मार्फत प्राप्त भएका दुई वटा आधुनिक भट्टी  र दुईवटा परम्परागत  भट्टी सञ्चालनमा छन्। उनी भन्छन्, श्रीमति यशोदा राईको साथ सहयोगले गर्दा यहाँ सम्म आइपुगेको बताए।

उनले हालसम्म १ लाख विरुवा समेत रोपेका छन्। यी बिरुवा बढेकाले आगामी वर्ष ५० देखि ६० मोनसम्म अलैंची उत्पादन हुने उनको अनुमान छ। जोनमा कृषि र्फम दर्ता भएपछि थुलुङ राईको  मेहनत र परिश्रम देखेर परियोजनाले चक्लाबन्दी कार्यक्रममार्फत अनुदान रकम, प्रविधी र यान्त्रीकरण उपलब्ध गराएको छ।

जोनले थुलुङलाई उन्नत जातका बिउ वितरण, अलैंची सुकाउन सुधारिएको आधुनिक भट्टीको प्रयोग, अलैंची बगानमा सिंचाई र पूर्वाधार लगायत विभिन्न अनुदानसमेत प्रदान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यन्वयन एकाई संखुवासभाका कार्यालय प्रमुख नवराज गुरुङले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.