काठमाडौँ : मलेशियामा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल स्कटल्याण्डसँग एक विकेटले पराजित भएको छ। यो नेपालको दोस्रो खेल हो।
मलेशियाको यूकेएम ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले जितका लागि दिएको ७४ रनको लक्ष्य स्कटल्याण्डले १८ ओभर ४ बलमा ९ विकेटको क्षतिमा पूरा गर्यो।
स्कटल्याण्डका लागि पिपा स्प्रोलले ४७ बलमा ३ चौकाको सहयोगमा ३५ रन बनाइन्। त्यसैगरी, ग्याब्रियला फोन्टेन्लाले १२ रन जोडिन्।
बलिङतर्फ नेपालकी सिमाना केसी र रचना चौधरीले २/२ विकेट लिए भने कप्तान पूजा महतो र कृष्मा गुरुङले समान १/१ विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८ ओभर ५ बलमा अल आउट हुँदै ७३ रनमात्र स्कोर गर्न सक्यो।
नेपालका लागि कप्तान पूजा महतोले ४३ बलमा ३ चौकाको सहयोगमा २७ रन जोडिन् भने सावित्री धामीले १० रन जोड्नुबाहेक अरु कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
स्कटल्याण्डका लागि मैसी म्याकिराले ५ विकेट लिइन् भने अमी बलडाई र नइमा शेखले २/२ विकेट लिए। क्रिस्टी म्यायाकोलले एक विकेट खसालिन्।
प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो। यसअघि भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको थियो।
जितसँगै स्कटल्याण्डले सुपर सिक्समा पुग्ने सम्भावना बलियो बनाएको छ। स्कटल्याण्डले यसअघि अष्ट्रेलियासँग खेलेको खेलमा पराजित भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।