|

विश्वकपमा जानुअघिसम्म गुमनाम रहेको नेपाली राष्ट्रिय खोखो टिम एकपछि अर्को उत्कृष्ट नतिजासँगै उपविजेताबन्दा चर्चा बटुल्न सफल भएकोे छ। विश्वकप खेल्न भारत जाँदा सुटुक्क गएको टोली उपविजेता बनेर आउँदा तामझामका साथ स्वागत भएको छ। 

गार्‍हो-साह्रो गर्दै विश्वकपको तयारीसँगै नयाँ दिल्ली पुगेको खोखोको पुरुष र महिला टिम नतिजा आफ्नो पक्षमा पार्न उद्यत् देखियो। महिला र पुरुष दुवैमा भारतसँग नै फाइनलमा पराजित हुँदै उपविजेता बनेको नेपालले खोखो कस्तो खेल हो र यसको सम्भावना कत्तिको छ भन्ने उजागर गरिदिएको छ। 

विश्वकपमै उपविजेता बन्नु नेपालकै लागि ऐतिहासिक र गौरवको कुरा भएको नेपाल खो खो संघका अध्यक्ष प्रदीप मर्हजन बताउँछन्। उनका अनुसार जिल्ला तहमा खेल्ने खेलाडी समेत यो नतिजाबाट उत्साहित भएका छन्। 

संघका अध्यक्ष मर्हजन प्रतियोगितामा जानु केही दिन अघिसम्म कुनै चर्चा नभए पनि उपविजेतासम्म बन्दा राम्रो चर्चा कमाइरहेको बताउँछन्।

‘शुरुमा चर्चा नै थिएन, जब हामी खेल्न जाने २ दिन अघि केही समाचार आए त्यसपछि हामीलाई हौसला मिल्यो’, उनले भने,  ‘दुवै टोलीले राम्रो खेल पस्किए, अहिले सोचेभन्दा धैरै चर्चा पाइरहेका छौँ।’ उनले विभिन्न ठाउँमा जाँदा खोखो के हो भनेर सोध्नेहरूका लागि यो नतिजा जवाफ भएको बताए। अब हामी परिचित भएका छौ, उनले भने, ‘एसियन च्याम्पियनसिपमा दोस्रो हुँदा पनि त्यत्ति चासो थिएन, राखेपबाट पनि पहिला चासो थिएन। अहिले विश्वकपमा उपविजेता बन्दा चासो भएको छ।’ उनले विश्वकपको यो नतिजाले अब यसले खोखोको इतिहास कोर्ने बताए। 

भारतसँग क्वार्टरफाइनल र सेमिफाइनलमा भेट नहुँदा नेपालका लागि फाइनल पुग्न त्यति कठिन नभएको उनी बताउँछन्। ‘हामीले शुरुदेखि नै भन्दै आएका थियौँ।कि हाम्रो मुख्य तगारो भनेकै भारत मात्र हो’, उनले भने, ‘उपाधिका लागि हाम्रो भेट भारतसँग नै हुन्छ भनेर शुरुदेखि नै भन्दै आएका थियौँ।  हाम्रो वास्तविक भिडन्त भनेकै फाइनलमा  भएको हो’ , उनले भने। 

पुरूष टिमका कप्तान हेमराज पनेरुले सफलतासँगै आएको चर्चाले खोखो खेलको भविष्य निर्धारण गरेको बताए। ‘हामी विश्वकपमै राम्रो नतिजा ल्याउने भनेर गएका थियौँ। विजेता नभए पनि उपविजेता बन्यौँ। त्यो पनि ऐतिहासिक हो’ , उनले भने, ‘अब यसको प्रभावले आगामी दिनमा खोखो खेलको सम्भावना बढाएको छ।’ 

महिला टिमकी कप्तान सरस्वती कठायतले पनि उपविजेता बन्न पाउँदा खुशी लागेको बताइन्। ‘यति खुशी छौँ। यसको सीमा छैन। मेहनत अनुसारको परिणाम आएको छ’ , उनले भनिन्, ‘विश्वकपमा जानुअघि भागेको पीडा अहिलेको माया सद्भावले भुलाएको छ।’ 

नेपाल पहिलो संस्करणको खो खो विश्वकपको उपविजेता बनेको छ। पुरुष र महिला दुवैतर्फको उपाधि भारतले जितेको छ भने दुवैमा नेपाल उपविजेता बनेको छ। 
आइतबार सम्पन्न फाइनलमा घरेलु टोली भारतसँग पराजित भएपछि नेपाल उपविजेता बनेको हो। नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इण्डोर हलमा भएको पुरुषतर्फको फाइनलमा नेपाल भारतसँग १८ अंकले पराजित भएको हो। खेलमा नेपालले ३६ अंक बनाउँदा भारतले ५४ अंक बनाएको छ। 

भारतले दुवै इनिङ्समा एट्याकिङमा नेपालभन्दा धेरै अंक बनायो। पहिलो इनिङ्समा भारतले एट्याकिङबाट २६ अंक जोड्दा दोस्रो इनिङ्समा २८ अंक बनाएको थियो। नेपालले भने दुवै इनिङ्समा समान १८-१८ अंक जोडेको थियो।

यसैगरी महिला टिम भने फाइनलमा भारतसँग ७८–४० ले पराजित भएको हो। महिलातर्फ नेपाल र भारत दुबै अपराजित रहँदै फाइनल पुगेका थिए। पुरुषतर्फ समूह ए को पहिलो खेलमै नेपाल भारतसँग निराश बनेको थियो।

नेपाल भारतसँग ४२–३७ अंकले पराजित भएको थियो। नेपालले भारतसँग समूह चरणमा हार बेहोरे पनि अन्य खेलमा भने भारतको भन्दा बढी अन्तरले खेल जितेको छ। 

नेपालले समूह चरणमा पेरुलाई ८०–३४ ले हराउँदा भारतले ७०-३८ अंकले हराएको थियो। यस्तै नेपालले ब्राजिललाई १३४–८ ले हराउँदा भारतले भने ब्राजिललाई ६४–३४ अकले निराश पारेको थियो।  नेपालले भुटानलाई ९८–८ को अन्तरमा हराउँदा भुटान भारतसँग ७१–३४ को अन्तरमा हारेको थियो। 

महिला टिम पनि शतप्रतिशत नतिजाका साथ फाइनलसम्म पुगे पनि भारतसँग हार टार्न सकेन। नेपाली पुरुष टिमले इरानलाई हराउँदै तथा महिला टिमले युगाण्डालाई पाखा लगाउँदै अन्तिम दुईमा पुगेका हुन्।

भारतले पनि पुरुषतर्फ दक्षिण अफ्रिकालाई १८ अंंकले तथा महिलामा पनि दक्षिण अफ्रिकालाई नै ५० अंकले निराश बनाउँदै फाइनलको यात्रा तय गरेको थियो। 

यसअघि क्वार्टरफाइनलमा नेपालले बंगलादेशलाई ६७-१८ अंकले निराश बनाएको थियो। भारतको पुरुष टिमले क्वार्टरफाइनलमा श्रीलंकालाई ६० अंकले हराएको थियो। समूह ए बाट उपविजेता भएर नेपाली पुरुष टिम क्वार्टरफाइनलमा पुगेको थियो। 

खो खो विश्वकपको महिलातर्फको उपाधि भारतले नै जित्दा नेपाल उपविजेता मै सीमित भयो। भारतले नेपाललाई ७८-४० अकले हराउँदै उपाधि जित्यो।

सेमिफाइनलमा नेपालले युगाण्डालाई ७१ अंकले हराएको थियो भने भारतले दक्षिण अफ्रिकालाई ६६-१६ को अन्तरमा हराएर फाइनलमा पुगेको थियो। 
यसअघि क्वार्टरफाइनलमा नेपालले इरानलाई ९५ अंकको भारी अन्तरले पाखा लगाएको थियो।

समूह सी को विजेताका रूपमा क्वार्टरफाइनलमा पुगेको नेपालले समूह चरणका कुनै खेलमा हार बेहोर्न परेन। समूह सी मा नेपाल अपराजित रहेको थियो।

पहिलो खेलमा भुटानलाई ९३-२४ अकले हराएको नेपालले दोस्रो खेलमा जर्मनीलाई ७३-३४ अंकले पाखा लगायो। यस्तै तेस्रो खेलमा श्रीलंकालाई ११०–१० अंकले हराएको नेपालले चौथो खेलमा बंगलादेशलाई ८४-२४ ले हराएर शत प्रतिशत नतिजा निकाल्दै समूह विजेता बनेको थियो। भारतको महिला टिमले  क्वार्टरफाइनलमा बंगलादेशलाई ९३ अंकले पाखा लगाएको थियो।

सन् २०२३ मा भारतको गुवाहटीमा भएको एसियन च्याम्पियनसीपमा नेपाल , भारतसँग नै पराजित हुँदै उपविजेता बनेको थियो। 
नेपाली टोलीले कीर्तिपुर स्थित कर्भडहलमा बढो संघर्षका साथ तयारी गरेका थिए। फाइनान्सीयल अभावका कारण तयारीका लागि बसेको टिममा समेत कठिनाइ थियो।

कस्तो खेल , के खेल भन्ने सबैले बुझ्न नसक्दा प्रायोजक पाउनै मुस्किल भएको संघका अध्यक्ष मर्हजन बताउँछन्। खेलाडीलाई डाइट पनि राम्रोसँग खुवाउन सकिएन , उनले दुखेसो गरे , तैपनी नतिजाका लागि खेलाडीहरुले शतप्रतिशत खेले। 

कुल २० राष्ट्रको सहभागिता रहेको पहिलो विश्वकपमा एकैपटक महिला र पुरुषको प्रतिस्पर्धा भएको हो। यसअघि २१ राष्ट्रले सहभागिता जनाउने भने पनि पाकिस्तानले भारतमा गएर नखेल्ने जनाएपछि सहभागी राष्ट्रको संख्या २० पुगेको थियो। पुरुष खोखोमा २० देश सहभागी थिए भने महिलातर्फ १९ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए।​

खोखो पुरुष टिम

हेमराज पनेरु (कप्तान), जनक चन्द, समीर चन्द, विश्वास चौधरी, सुरज पूजारा, रोहित कुमार वर्मा, यमन पुरी, वेदबहादुर वली, झलक विक, विकराल सिंह रत्गैया, विशाल थारु, राजन बल, जोगेन्द्र राना, भरत सारु, गणेश विश्वकर्मा।
पुरुष टिम प्रशिक्षक : बिक्कीराज महर्जन
अर्का प्रशिक्षक : कयामुद्दिन मन्सुर

महिला खोखो टिम 

सरस्वती कडायत (कप्तान), मानमति धामी, पूजा ओड, आशा थारु, दीपा विक, निशा शाही, कर्माकुमारी शाही, कन्चन चौधरी, पुनम थारु, सम्झना विक, दीपाकुमारी बिक, खुश्बु राना, वर्षा पण्डित, गीता चौधरी र अनिशा गोले।

महिला टिम प्रशिक्षक : लक्ष्मीनारायण वैद्य

अर्की प्रशिक्षक : उषा कवर मगर

सेफ दी मिसन : सुशीलमान व्यञ्जनकार 

प्रतियोगितामा एसियाबाट नेपाल भारत, , भुटान, बंगलादेश, श्रीलंका, इण्डोनेसिया, इरान, मलेसिया, दक्षिण कोरिया रहेका थिए। अफ्रिकाबाट घाना, केन्या, दक्षिण अफ्रिका, युगाण्डा तथा युरोपबाट इंग्ल्यान्ड, जर्मनी, नेदरल्याण्ड्स, र पोल्याण्ड रहेका थिए।

यस्तै दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल र पेरु तथा उत्तर अमेरिकाबाट संयुक्त राज्य अमेरिका र ओसियाना क्षेत्रबाट अष्ट्रेलिया र न्युजिल्याण्डले भाग लिएका थिए।

खो खो व्यापक रूपमा दक्षिण एसियामा खेलिन्छ र दक्षिण एसिया बाहिर दक्षिण अफ्रिका र इंग्ल्याण्ड जस्ता क्षेत्रहरूमा पनि यसको बलियो उपस्थिति छ। यो खेल ‘नेपाल खो खो संघ’ अन्तर्गत दर्ता छ। जुन राष्ट्रिय खेलकुद परिषदमा ३६ नम्बरमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.