|

काठमाडौँ : सरकारले आगामी वर्षहरूका माध्यमिक शिक्षा परीक्षा(एसइई) उत्तीर्णदरमा ७० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पटक-पटक सार्वजनिक कार्यक्रममा आउँदो कक्षा-१० को एसइईको नतिजा ७० प्रतिशतसम्म पुर्‍याउने घोषणा गर्दै आएका छन्।

गत असोज २ गते राष्ट्रिय शिक्षादिवस, २०८१ मूल समारोह समितिको कार्यक्रममा उनले भनेका थिए, ‘अनलाइन कक्षाबाट विद्यार्थीलाई मुख्य विषयहरू पढाएर एसइईको नतिजामा उल्लेख्य सुधार गरी ७० प्रतिशतसम्म पुर्‍याउने काम थालिएको छ। समयानुकूल शिक्षातिर अघि बढ्नुपर्नेछ। हामीले एउटा नयाँ अठोट लिएका छौँ। आगामी दिनमा शिक्षा जीवनोपयोगी‚ ज्ञान सीपसँग जोडिएको होस्, हाम्रा नयाँ पुस्ताका बालबालिका अक्षम छैनन्, पढ्न नसक्ने नजान्ने छैनन्।’

२०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी पास भएपछि सरकारको चर्को आलोचना भयो। सरकारले नयाँ लेटर ग्रेडिङ निर्देशिका लागू गर्दा परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये करिब ४८ प्रतिशत विद्यार्थी मात्रै पास भए। त्यसो त नेपालको शैक्षिक गुणस्तरमै प्रश्न उठ्न थालेपछि सरकारले उक्त लक्ष्य लिएको हो।

सरकारले उक्त लक्ष्यअनुसार नतिजा सुधार गर्न विभिन्न उपाय अवलम्बन गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले एन.सी.इ.डी भर्चुअल (NCED Virtual) मा एसइई परीक्षार्थीहरूलाई लक्षित गरी कक्षा-१० का सबै विषयको पाठ्यसामग्री राखेको छ।

तर उक्त युट्युब च्यानलमा ७०,८० हजार विद्यार्थी बाहेक अरूले हेरेका छैनन्। ‘हामीले तालिम प्राप्त शिक्षकहरूबाट आवश्यक पाठ्यसामग्री बनाई हालेका छौँ तर ४०,४५ हजार जतिले मात्रै हेर्ने गरिएको देखियो’, मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले भने, ‘अपेक्षानुसार हेरेको पाइएन, करिब पाँच लाखले त वर्षेनि एसइई परीक्षा दिन्छन्, यदि सबै एसइई दिने विद्यार्थीहरूले यो भिडियो हेरेमा धेरै सहज हुने थियो।’

उनका अनुसार कक्षा १० को मात्रै नभई अन्य कक्षाका पनि अङ्ग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयका भिडियो पाठहरू युट्युबमा हालिएको छ। उनले एसइई नतिजामा सुधार गर्ने लक्ष्यसहित दुई महिनासम्म एनटिभी, रेडियो नेपालबाट हरेक दिन पाठ्यसामग्री प्रसारण गरिरहेको जानकारी दिए।

गोरखापत्रमा पनि त्यस्ता आवश्यक पाठहरू छाप्दै आएको उनको भनाइ छ। त्यसैगरी सरकारले शिक्षाका लागि ‘एम्बिसन गुरु’सँग पनि सहकार्य गरेको छ। उक्त नामक मोबाइल एपमार्फत अहिले विद्यार्थीहरूले एसइई परीक्षा के कसरी दिने भन्ने पूर्वतयारी, प्रेरणा जगाउने लगायत आवश्यक विषयहरू अनलाइन कक्षाबाट सिकाइरहेको छ।

ग्रामीण क्षेत्रमा के गर्दै छ सरकार ?

सरकारले एसइई परीक्षार्थी लक्षित अनलाइन कक्षा, भिडियो पाठहरू युट्युबमा हाले पनि अधिकांश ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच छैन। जसकारण उक्त सेवाबाट वञ्चित हुन्छन् विद्यार्थीहरू। तर त्यसरी ती विद्यार्थीहरू उक्त सेवाबाट वञ्चित नभएको विकास केन्द्रका महानिर्देशक दीपक शर्माको दाबी छ।

‘अहिलेको समय पहिलाको जस्तो छैन, अब त सबै गाउँपालिकाहरूमा इन्टरनेट पुगिसक्यो, अधिकांश स्कुलमा पनि यो सुविधा छ, ती ठाउँमा गएर डाउनलोड गर्न पनि सकियो, अहिले त अधिकांश व्यक्तिमा एन्ड्रोइड फोन हुन्छ। त्यसैले इन्टरनेट नभए पनि समस्या छैन, डाटा प्याक तानेर भए पनि एनसिइडी भर्चुअलमा राखिएको भिडियो डाउनलोड गर्न मिल्छ’, उनले भने।

उनका अनुसार एसइई परीक्षा दिने तयारीमा रहेका विद्यार्थीहरूले आफूलाई इच्छा लागेको जुनसुकै समयमा मन लागेका, आवश्यक पर्ने जुनसुकै पाठ निःशुल्क डाउनलोड गरी हेर्न र सुन्न सकिने व्यवस्था मिलाइएको छ। ‘यसका लागि क्लास नै लिनुपर्छ भन्ने छैन, डाउनलोड गरी घरमै बसीबसी हेर्न र सुन्न सकिन्छ’, उनले भने।

यदि यी सुविधा पनि नभएका ठाउँ छन् भने त्यस्ता ठाउँमा अनलाइनमा तयार गरिएको सामग्रीको अफलाइन मोडमा (सिडी वा पेन ड्राइभ-हार्डकपी) विद्यालय तथा स्थानीय तहमार्फत विद्यार्थीलाई उपलब्ध गराइएको र त्यसबाट पनि हेर्न सकिने उनले जानकारी दिए।

‘कतिपय स्थानीय तह, विद्यालयले कमजोर विद्यार्थीलाई निःशुल्क ट्युसन नै चलाएका छन्, रेडियोबाट पनि प्रशारण गरिरहेका छौँ, कुनै नबुझेका प्रश्न, विषय म्यासेन्जर, एसएमएसबाट पनि सम्बन्धित शिक्षकलाई सोध्न सक्नु हुनेछ, त्यो सुविधा पनि छ’, उनले भने, ‘हामीले एसइई नतिजा सुधारकै लागि सक्दो पहल लागिरहेका छौँ।’

एनसिइडी भर्चुअलमा राखिएको भिडियो पाठ हेर्न आग्रह

केन्द्रका महानिर्देशक शर्माले केन्द्रले एनसिइडी भर्चुअलमा भिडियो पाठ राखे पनि अझै कतिपय विद्यार्थीले जानकारी नभएरै नहेरेको बताए। एसइई परीक्षा नतिजा सुधारका लागि यसैलाई प्रभावकारी मानिएको उनको भनाइ छ।

‘यो अवस्थामा मुख्य त शिक्षक र विद्यालयहरूले मूख्य भूमिका खेल्नुपर्छ। उहाँहरूले आफ्नो विद्यार्थीहरूलाई एनसिइडी भर्चुअलमा भिडियो पाठहरू छन्, त्यहाँ गएर हेर्नु भनी स्कुलमा जानकारी गराउनुपर्छ, म विनम्र आग्रह गर्दछु कि- शिक्षक, विद्यालय, अभिभावकहरूले यस विषयमा जानकारी गराइदिनुहोला, विद्यार्थीहरूले पनि चासो दिएर हेर्नु सुन्नुहोला, तालिम प्राप्त शिक्षकहरूले बुझ्ने गरी भिडियो बनाएर हालेका छौँ। सबैले सहयोग गरेमा लक्ष्यअनुसार पुग्न सक्छौँ’, उनले भने।

यस वर्षको एसइई परीक्षा नजिकिदै छ। राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८१ को (एसइई) परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ। पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.