काठमाडौँ : सर्वसाधारण जनता र उपभोक्तालाई मार पर्ने गरी कुनै पनि वस्तुको मूल्य बढाउन नहुने सांसदहरूले बताएका छन्।
बुधवार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा सिमेन्टको भाउ बढेको विषयमा भएको छलफलमा बोल्दै अधिकांश सांसदले यस्तो बताएका हुन्। उनीहरूले सरकारले कालोबजारी,कार्टेलिङ गरेर वस्तुको मूल्य निर्धारण भएको भए तत्काल नियन्त्रण गर्न माग गरेका छन्।
सांसदहरूले सरकारले सिमेन्टको मूल्यमा भएको कार्टेलिङ रोक्नुपर्ने बताए। उनीहरुले उद्योगी व्यवसायीहरूले पनि कार्टेलिङका आधारमा मूल्यवृद्धि गर्न नहुने धारणा राखेका छन्। उनीहरूले सिमेन्ट उत्पादक संघले कार्टेलिङ गरेर होङसी सिमेन्टलाई उत्पादन वृद्धिको कोटा बढी दिएर अन्य उद्योगको कटौती गरी मूल्य वृद्धि गर्न नपाउने बताए तर यता सिमेन्ट उत्पादकहरूले भने उद्योगीको घाटापूर्ति गर्नका लागि मूल्य वृद्धि नगरेर मूल्य समायोजन गरेको उल्लेख गरेका छन्।
बैठकमा बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले वस्तुको मूल्य खुला बजार अर्थतन्त्रमा बजारले नै तय गर्ने बताए। उनले बजारमा वस्तुहरूको कार्टेलिङ विश्वभर हुने तर सरकार कार्टेलिङ रोक्नुपर्ने बताए।
उनले भने,‘वस्तुको मूल्य खुला बजार अर्थतन्त्रमा बजारले नै तय गर्छ। बजारलाई नै तय गर्न दिनुपर्छ। कार्टेलिङ हुन्छ। विश्वभर हुने कुरा हुन्। कालोबजारी ऐनका विषयमा २० प्रतिशत नाफा खान पाउने व्यवस्था हटाएको विषय छ। डब्युटिओले ७ सय प्रतिशतसम्म नाफा खान सकिन्छ भनेको छ। नाफामा २० प्रतिशतको सिलिङ जायज नदेखिएकाले अध्यादेशमार्फत सरकारले हटाएको हो।’
नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले ट्रंकलाइन र डेडिकेटेड विद्युत् महसुलको रकम बुझाउनका लागि मूल्यवृद्धि गरेको आरोप लगाए। उनले सरकारले व्यवसायीको पक्षमा रहेकाले सरकारसँगको सेटिङमा मूल्यवृद्धि गरेको देखिएको बताए। नेकपा एमालेका सांसद ज्वालाकुमारी साहले तीन महिनाअघिकै मूल्य कायम गरिनुपर्ने बताइन्।
नेपाली काँग्रेसका सांसद राजन केहीले सिमेन्ट उद्योगीहरूले अस्वभाविक रूपमा मूल्य बढाउन नहुने बताए। सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्द मारूले सिमेन्टको मूल्यवृद्धि नभएर मूल्य समायोजन गरेको बताए। उनले उद्योगीहरूले मूल्यवृद्धि नभनेर मूल्य समायोजन गरेको दाबी गरे।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सिमेन्ट उत्पादकहरूले उद्योगमन्त्री सहितको सहमति कार्यान्वयन समेत नगरेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।