|

काठमाडौँ : बिहीवार शुरु हुने सभापति कप फुटबल प्रतियोगितामा सहभागी ८ मध्ये ६ टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन्।

नेपाली कांग्रेसअन्तर्गतको नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा बिहीवार दशरथ रंगशालामा सभापति कप फुटबल प्रतियोगिता शुरु हुँदै छ। 

खेलअघिको पत्रकार सम्मेलनमा सहभागी ८ टोलीमध्ये ६ टोलीले उपाधि जित्ने दावेदारी प्रस्ततु गरेका हुन्। बिहीवार उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा क्लब भिड्दैछन्। 

संकटाका टिम अफिसियल राजुमान तुलाधरले युवा खेलाडीसहित राम्रो तयारी गरेको र आफ्नो टिम च्याम्पियन हुने लक्ष्य रहेको बताए। 

उनले टोलीका कप्तान दीप कार्की उपस्थित नहुने उल्लेख गरे। टोलीमा नेपालको यू–२० टोलीका सदस्य, राष्ट्रिय खेलाडी र विदेशी खेलाडीमा पिटर सेगुन रहेकाले आफ्नो टोली बलियो रहेको उनको विश्वास छ। 

चर्च ब्वाइजका टिम अफिसियल लबिस राईले यो सिजन चर्च ब्वाइजले मोफसलमा राम्रो गरिरहेको उल्लेख गर्दै टिम बलियो रहेको बताए। 

उनले यो सिजनमा ७/८ गोल्डकप खेलेको र नतिजा पनि राम्रो आइरहेको उल्लेख गरे। उनले पनि सभापति कप जित्नेगरी खेल्ने बताए। उनले ‘ए’ डिभिजन लिग पनि छिट्टै हुने आशा गरे। 

प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ८ टोली टिमले प्रतिष्पर्धा गर्दैछन्। मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक सन्तोष न्यौपानेले धेरै पछि दशरथ रंगशालामा खेल्न पाउँदा खेलाडीहरू उत्साहित रहेको उल्लेख गर्दै प्रतियोगिताका लागि तयार रहेको बताए। 

मच्छिन्द्रका कप्तान तथा गोलकिपर विशाल श्रेष्ठले करिब एक महिनादेखि मोफसलका प्रतियोगिताहरू खेलिरहेको उल्लेख गर्दै सभापति कप जित्ने लक्ष्यसहित उत्रने बताएका छन्। 

उनले टोलीमा केही विदेशी खेलाडी थपिन सक्ने उल्लेख गरे। अधिकांश खेलाडी पुरानै रहेकोले टोली सेट रहेको उनको बुझाइ छ। 

सभापति कपमा खेल्ने क्लब एनआरटीका अफिसियल सुरेन्द्रकुमार श्रेष्ठले पनि तयारी राम्रो भइरहेको बताए। उनले मोफसलमा खेलिरहेको टोली नै निरन्तरता दिने उल्लेख गदै उपाधि जित्ने दावेदारी व्यक्त गरेका छन्। उनले अन्जन विष्टको कप्तानीमा टोलीले खेल्ने उल्लेख गरे। 

विभागीय टोली एपिएफले मच्छिन्द्रसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ। एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले प्रतिद्वन्द्वी धेरै राम्रो रहे पनि उनीहरूको टिमअनुरूप आफूले पनि तयारी गरेको बताएका छन्। 

उनले उपाधि जित्ने लक्ष्यसहित तयारी गरेको पनि उल्लेख गरे। काठमाडौँमा धेरै पछि फुटबल फर्कँदा उत्साहित रहेको उनले उल्लेख गरे। 

आयोजक टोलीका रूपमा बागमती क्लबले खेल्दै छ। बागमती क्लबका अफिसियल उज्वल श्रेष्ठले छोटो समयमा पनि राम्रो तयारी गरेको बताएका छन्। 

४ जना विदेशी खेलाडी रहेको श्रेष्ठले उल्लेख गरे। टिम राम्रो बनेकाले उापधिमा दावेदारी प्रस्तुत गर्ने उनको भनाइ छ। 

अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले नगद २६ लाख रुपैयाँ र उपविजेताले नगद १३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। प्रतियोगिता माघ १७ गतेसम्म हुनेछ। 

लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिकै आयोजनामा दुर्गादत्त जोशी स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता माघ १८ गतेदेखि कैलालीको धनगढीमा आयोजना हुने जानकारी पनि कार्यक्रममा दिइयो। 

तीनदिने प्रतियोगिताको सिनियर र जुनियरतर्फ क्योरागीमा २० र पुम्सेमा ६ गरी २६ स्पर्धामा खेल हुनेछ। शीर्ष ३ स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने समितिका सचिव पूर्णसिंह बोहराले जानकारी दिए। 

उत्कृष्ट पुरुष/महिला खेलाडी र निर्णायकलाई जनही १५ हजार रुपैयाँ नगदबाट पुरस्कृत गरिनेछ। नेपाल तेक्वान्दो संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको उदीयमान खेलाडीले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.