|

काठमाडौँ : प्रधानसेनापति अशोकराज सिग्देलले इतिहासको पठनपाठन कम हुँदै जाँदा शिक्षित नागरिकमा नेपालको गौरवपूर्ण इतिहास, संस्कृति, परम्परा तथा मूल्यमान्यताबारे यथेष्ट जानकारी हुन छाडेको बताएका छन्।

नेपाली सेनाद्वारा जङ्गीअड्डामा आयोजित अवकाश प्राप्त रथीवृन्दसँगको अन्तरक्रिया समापनका अवसरमा उनले इतिहासको अध्ययन र अध्यापन नभए कालान्तरमा राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानमा नै असर पर्दै जानेमा चिन्ता व्यक्त गरे।

महारथी सिग्देलले इतिहासको महत्व जगाउन सेनामा सञ्चालन हुने सबै तालिममा इतिहासको अध्ययन अध्यापन सुरु गर्न लागिएको जानकारी दिए। नेपाली सेनाले ‘गौरवशाली नेपाल’ नामक पुस्तकसमेत तयार पारेको सो अवसरमा जानकारी दिइयो।

प्रधानसेनापति सिग्देलले कल्याणकारी योजनाअन्तर्गत आयमूलक सँगसँगै राष्ट्र र नागरिकको जीवनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान दिने खालको कार्यक्रम लागू गर्नसमेत अध्ययन भइरहेको बताए।

बलाध्यक्ष रथी प्रदीपजङ्ग केसीले अग्रजको अनुभव र विज्ञताका आधारमा सेनाले राष्ट्रिय सुरक्षा र राष्ट्रियहित तथा कल्याणकारी योजना तय गर्ने योजना रहेको बताए।

अवकाश प्राप्त ज्येष्ठ रथी कृष्णनारायणसिंह थापाले सेनाको योग्य र विज्ञ समूहले हालको विश्वसुरक्षा वातावरणमा नेपालको सुरक्षा अवस्थालाई मजबुत बनाउन राष्ट्रिय सुरक्षा परिषद्लाई सल्लाह सुझाव दिइ सक्षम बनाउनुपर्ने धारणा राखे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.