काठमाडौँ : शक्तिशाली सरकारमाथि दबाव बढाउन विपक्षी दलहरूलाई एक ठाउँमा ल्याएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देश दौडाहामा छन्। २९ पुसमा सिन्धुपाल्चोकको सुकुटे पुगेर फर्किएका उनले ४ माघमा विपक्षी दलहरूलाई सरकारविरुद्ध एक ठाउँमा उभ्याए।
विपक्षीहरूको सातदलीय मोर्चा कसेर विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएपछि देश दौडाहामा निस्किएका प्रचण्डले पछिल्लो एक हप्तामा कोशी प्रदेशको विराटनगरदेखि, बागमती, लुम्बिनी र कर्णालीसम्मको यात्रा भ्याइसकेका छन्।
प्रचण्डको दौडधुप सत्तामै रहेर पनि निरन्तर सरकारको आलोचना गर्दै आएको कांग्रेसको संस्थापन इतर समूहका नेता केन्द्रित रहेको देखिन्छ। ५ माघमा प्रचण्ड कांग्रेस इतरपक्षीय नेता डा. शेखर कोइरालाको गृहजिल्ला मोरङ पुगेका थिए।
कांग्रेस इतर समूहका नेतृत्वकर्ता डा. कोइरालाले सुरुदेखि नै सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै आएका मात्र छैनन्, उनकै कारण सरकारका कतिपय कदममा लगामसमेत लागेको छ।
दुई दिनपछि ७ माघमा प्रचण्ड आफू निर्वाचित भएको जिल्ला गोरखा पुगे। उनी गोरखा २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने गोरखा १ बाट कांग्रेस इतर समूहकै सांसद राजेन्द्र बजगाईं सांसद छन्, जसले आफ्नै पार्टी सम्मिलित वर्तमान सरकारप्रति असन्तुष्टि मात्र होइन, आफ्नै पार्टीका मन्त्रीलाई भ्रष्टाचारको आरोप लगाएका थिए।
विराटनगर र गोरखामा प्रचण्डले एउटै आशयको अभिव्यक्ति दिए। आफू प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान अघि बढेपछि तर्सेर रातारात बिचौलियाहरूले सरकार ढालेको आरोप उनले लगाए। यो सत्ताविमुख भएपछि प्रचण्डको भाषणको नियमित वाक्यांश नै हो।
माघ ८ गते गृहजिल्ला चितवन पुगेका प्रचण्डले सत्तारुढ दलकै नेताहरूलाई साथमा राखेर सरकारको आयु लामो नभएको जिकिर गरे। कांग्रेस नेताहरू डा. शशांक कोइराला र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर उनले वर्तमान सत्ता गठबन्धन अप्राकृतिक रहेको टिप्पणी गर्दै ओली सरकार लामो समयसम्म नजाने बताए।
‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन। मैले प्रस्ट भन्ने गरेको छु। यो प्राकृतिक, स्वाभाविक र पारदर्शी छैन। सरकारले गरेका काम पनि उल्टापाल्टा हुँदै गएका छन्। अध्यादेशसम्म आउँदा लाजमर्दो भएको छ’, उनको भनाइ थियो।
प्रचण्डपछि बोलेका कांग्रेस नेता कोइरालाले सत्तासीन हुनुको धर्म निभाउँदै तत्कालै सरकार तलमाथि हुने सम्भावना नरहेको तर राजनीतिमा जे पनि हुनसक्ने बताए। लगत्तै प्रचण्डले भने, ‘उहाँले राजनीति हो, जे पनि हुनसक्छ भनेपछि बुझ्नुभयो होला नि !’
माघ १० गते कर्णालीको सुर्खेत पुगे। कांग्रेसका कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाहीले ‘एमालेसँगको सहकार्य जटिल बनेको’ बताएपछि कर्णालीको सुर्खेत पुगेका हुन्। शाहीले प्रदेशका मुख्यमन्त्रीसमेत रहेका यमलाल कँडेल एकलौटी ढंगले अघि बढेको भन्दै सहकार्य जटिल मोडमा पुगेका बताएका थिए।
त्यहाँ पुगेर प्रचण्डले कांग्रेसमा मात्र नभई एमालेमा पनि उकुसमुकुस रहेको उल्लेख गर्दै वर्तमान सत्ता गठबन्धन लामो समय नजाने दोहोर्याए। यद्यपि सरकारमा जाने आफूहरूको चाहना नभएको भने भन्न छुटाएनन्।
देश दौडाहाका क्रममा प्रचण्ड १० गते नै लुम्बिनीको बाँके पुगेका थिए। शुक्रबार (माघ ११ गते) उनी दाङ पुगेका छन्। त्यहाँका विभिन्न कार्यक्रमलाई सम्बोधन गरेर उनी शनिबार काठमाडौँ फर्कने तालिका छ।
प्रचण्डको यो सक्रियतालाई लिएर विभिन्न विश्लेषण तथा अड्कलबाजी भइरहेका छन्। आफ्नै पार्टी सहभागी सरकारको आलोचना गरिरहेको कांग्रेसको संस्थापन इतर समूहलाई साथ लिने प्रयासमा उनी देखिन्छन्।
‘कुलमानमाथिको कारबाही र थ्रेसहोल्डले गर्दा हो’, थाहाखबरसँग माओवादीका एक नेता भन्छन्, ‘कांग्रेसको एउटा पंक्ति प्रतिस्पर्धी पार्टीलाई काँधमा बोकेर दिनानुदिन परिस्थिति बिग्रिरहेको भन्ने निष्कर्षमा छ। कांग्रेसको त्यो पंक्ति सिफ्ट हुन खोजेको सत्य हो। छलफल भइरहेको छ।’
पछिल्लो पटक विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङविरुद्ध थप कडा बन्नुका साथै थ्रेसहोल्ड बढाउनेतर्फ सरकार अग्रसर भएपछि दुुई ठूला सत्तारुढ दलबीच फाटो ल्याउन माओवादी अध्यक्ष प्रचण्डले सक्रियता बढाएको देखिन्छ। यद्यपि माओवादी नेताहरूले सरकार आफूहरूको प्राथमिकतामा नरहेको जिकिर गर्न छाडेका छैनन्।
सार्वजनिक रूपमा माओवादी नेताहरूले सरकार ढाल्ने खेलमा आफूहरू नरहेको बताए पनि प्रचण्डको सक्रियतालाई यसैसँग जोडेर विश्लेषण गर्ने गरिएको छ। राजनीतिशास्त्री केशव पौड्याल सत्ताविरुद्ध संकट निम्त्याउने प्रमुख प्रतिपक्षीको धर्म भएकाले प्रचण्डका गतिविधिलाई अस्वाभाविक ठान्दैनन्।
‘सत्तालाई अस्थिर बनाइदिने, संकटमा पार्ने, उसले गरेका कामलाई जस नदिने र सत्तामा पुनरागमनको प्रयास गर्ने त प्रमुख प्रतिपक्षीको धर्म नै हो’, उनी भन्छन्, ‘ओलीलाई फ्याँक्नु प्रचण्डको पहिलो ध्येय हो। कांग्रेसभित्रको असन्तुष्टिमा टेकेर भए पनि उनीहरूको सहकार्यमा ब्रेक लगाउन सकियो भने साना दललाई फाइदा हुन्छ। उहाँ (प्रचण्ड) त्यही धर्म पूरा गर्न लागिपर्नुभएको देखिन्छ।’
अर्का राजनीतिक विश्लेषक शंकर तिवारी प्रचण्डको देश दौडाहालाई सत्ता बाहिरको छट्पटीकै रूपमा अर्थ्याउँछन्। यद्यपि उनको प्रयास तत्काल सफल नहुने उनको बुझाइ छ।
‘प्रचण्डको सत्ता बाहिरको छट्पटी अस्वभाविक देखिन्छ। आफ्ना कुरासँग मेल खाने सत्तापक्ष र अरु शक्तिहरूसँग वार्ता गर्दै आउनुभएको छ’, उनी भन्छन्, ‘तर यसैका कारण तत्काल सरकारको आयुमा कुनै फरक पर्ने देखिँदैन। किनभने शेखर कोइरालाको मतमा कुनै स्थिरता छैन। उहाँ बिहान एउटा र बेलुका अर्को बोल्नुहुन्छ। आफ्नो पक्षमा बहुमत बनाउन सक्नुभएको पनि देखिँदैन।’
राजनीतिशास्त्री पौड्याल पनि तत्काल प्रचण्ड प्रयास सफल नहुने औंल्याउँछन्। ‘प्रचण्डको यो प्रयास तत्काल पूरा होला भन्ने लाग्दैन’, उनी भन्छन्, ‘किनभने कांग्रेस सभापति शेरबहादुर देउवाको विगत हेर्दा सम्झौता तोडेर अघि बढ्ने खालका देखिँदैन। शेखरले रहर गर्ने एउटा कुरा होला तर देउवा कमजोर भइसकेका छैनन्।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।