काठमाडौँ : प्रधानसेनापति अशोकराज सिग्देलले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको आज निरीक्षण गरेका छन्।
त्यस क्रममा उनले तालिम केन्द्रलगायत विभिन्न मिसनमा जाने ‘युनिट’को वस्तुस्थिति बारेमा जानकारी लिई आवश्यक निर्देशन दिए। उक्त अवसरमा प्रधानसेनापतिले संयुक्त राष्ट्रसंघको आह्वानमा निकट भविष्यमा सेन्ट्रल अफ्रिकन रिपब्लिकस्थित मिसनमा खटिई जाने रिपुमर्दन गण (शान्ति सेना) सातौँ डफ्फा र लेबनानस्थित मिसनमा खटिई जाने सबुज गण ६६औँ डफ्फाको पूर्वाभ्यास तालिमलाई सम्बोधन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
सेन्ट्रल अफ्रिकन रिपब्लिक मिसनका लागि ६ सयजना र लेबनानस्थित मिसनका लागि ८५० जना सकलदर्जाले उक्त तालिम लिएका छन्। शान्ति सैनिकको अदलीबदली यसैबीच राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि दक्षिण सुडानमा कार्यरत अरिदमन गण (शान्ति सेना) दशौँ डफ्फालाई बदली गर्न चण्डीप्रसाद गण ११औँ डफ्फाका २१३ जना नेपाली शान्ति सैनिकको पहिलो टोली प्रमुख सेनानी मनोज कार्कीको नेतृत्वमा त्यसतर्फ प्रस्थान गरेको छ।
सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दशौँ डफ्फामा कार्यरत २१२ जना शान्ति सैनिक सेनानी खिमबहादुर अधिकारीको नेतृत्वमा माघ १० गते स्वदेश फिर्ता भएका छन्। हाल उक्त मिसनमा नेपाली सेनाबाट सेक्टर कमाण्डर, सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र दुईवटा गण तथा एउटा गुल्म गरी कुल एक हजार ७५४ जना शान्ति सैनिक कार्यरत रहेको सेनाले जनाएको छ।
त्यसैगरी इराकमा तैनाथ गार्ड युनिटलाई बदली गर्न प्रमुख सेनानी हिमालय थापाको नेतृत्वमा २१ जना नेपाली शान्ति सैनिक मिसन इलाकातर्फ प्रस्थान गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।