वासिङटन : अमेरिकामा अवैध आप्रवासीहरूविरुद्ध धरपकड शुरु भएको छ। डोनल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको शपथ लिएको पहिलो दिनमा ५३८ अवैध आप्रवासी पक्राउ परेको अन्ताराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
ह्वाइट हाउसकी प्रेससचिव क्यारोलिन लेविटका अनुसार अहिलेसम्म ५३८ अवैध आप्रवासीहरूलाई पक्राउ गरिएको छ। तीमध्ये ३७३ जनालाई हिरासतमा राखेर शिविरमा पठाइएको छ। पक्राउ परेकाहरू सबै अपराधी रहेको लेविटको दाबी छ। उनीहरूमाथि बलात्कार, हत्या र अपहरणको आरोप लगाइएको छ।
फक्स न्यूजसँगको अन्तरवार्ताका क्रममा लेविटले ट्रम्प प्रशासनले इतिहासकै सबैभन्दा ठूलो देश निकाला अभियान चलाएको बताएकी छन्। अपराधीहरूलाई पक्राउ गरी सैन्य विमानमा राखेर देश निकाला गरिएको छ। यद्यपि, तिनीहरूलाई कहाँ पठाइएको छ भन्ने बारेमा उनले केही खुलाएकी छैनन्।
अध्यागमन तथा भन्सार विभागले वासिङटन डीसी लगायत धेरै शहरमा अवैध आप्रवासीहरूलाई समात्न छापा मारिरहेको छ। सन् १९९० मा अमेरिकामा अवैध आप्रवासीको संख्या ३५ लाख रहेकोमा अहिले १ करोडभन्दा बढी पुगेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।