|

तत्कालीन नेकपा सर्वोच्च अदालतबाट बदर हुनुअघि एक प्रभावशाली नेता थिए वामदेव गौतम। पार्टीमा अन्तरविरोध चुलिँदै जाँदा दुई अध्यक्षमध्ये पुष्पकमल दाहाल ‘प्रचण्ड’को पक्षमा उभिएका गौतम नेकपा बदरपछि भने एक्लै डिँड्ने निर्णयमा पुगे। 

२०७८ भदौमा गौतमले एकता राष्ट्रिय अभियानको घोषणा गरे तर उनको उक्त अभियान क्रमशः खिइँदै गयो र एमालेमै फर्कने इच्छा जाहेर गरे। 

सुरुमा एमाले अध्यक्ष ओली नै इच्छुक नदेखिएपछि गौतमले एमालेबाटै विभाजित भएर बनेको एकीकृत समाजवादीमा जाने तयारी गरे। समाजवादी उनलाई तेस्रो वरियता दिन तयार थियो।

त्यहीबीच पुनः एमालेसँग संवाद अघि बढाए। पदीय हैसियत टुंगो नलाग्दै गौतम एमालेमा फर्कन राजी त भए तर एमाले उनलाई भित्र्याइहाल्न तयार भएन।

एकैपटक दुईवटा डुङ्गा राखेका गौतम अहिले यता न उताको भएका छन्। उनै गौतमसँग समग्र घटनाक्रम र उनका अबका रणनीतिबारे कुराकानी गरिएको छ। प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

१, तपाईं एमालेमा फर्किने कुरा के भइरहेको छ?

एमालेले मलाई साह्रै हल्कारूपमा लियो। मेरो महत्त्व बुझेन। अब अगाडि कसरी जाने भन्नेमा विचार गर्नुपर्छ। 

२, पछिल्लो भेटमा एमाले अध्यक्ष केपी ओलीले के भन्नुभएको थियो? 

उहाँ(ओली)ले एकता एकीकरण भन्ने हुँदैन। किन भने पार्टी तपाईँकै हो। तपाईँले निर्माण गरेको पार्टी हो। आउँदा खेरी एकता एकीकरणभन्दा पनि समाहित हुने गर्नुपर्छ। समाहित भइसकेपछि एउटालाई पनि यत्तिकै रहन दिन्न मैले। सबैले जिम्मेवारी पाउँछन्। त्यसपछि व्यवस्थापन हुन्छ, भन्नुभएको थियो तर पछि सहकार्य भनेर एउटा नयाँ कुरा ल्याउनुभयो। त्यसको तह कति ? कति अधिकार ? कति काम गर्न पाउने ? कसरी गर्ने केही थाहा छैन। यतिकै अलमलमा पार्नुभएको छ, मैले राम्रो मानेको छैन।  

३, एमालेले वास्ता नगरेपछि तपाईंले चासो दिएर सोधखोज गर्नुभएको छैन? 

मैले थप चासो दिएको छैन।  किनभने छर्लंगै भइसकेपछि थप कोट्याउन किन जाने र? उहाँहरूले सम्मान गर्नुहुन्न, आवश्यकता महसुस गर्नुहुन्न भन्ने कुरा प्रष्टै भयो।

४, एमालेमा तपाईंलाई दिने पद नै छैन रे त? 

होइन, काम गर्न पद नै चाहिँदैन भन्ने हो मेरो पहिलो कुरा त तर काम गर्न पाए जुनसुकै पद दिएर जे जिम्मेवारी दिए पनि म तयार छु, भनेको थिएँ। 

५, पद नै नभइ कुन हैसियतले काम गर्ने त? 

यो त उहाँहरू(एमाले)ले बुझ्ने कुरा हो। पद पनि फेरि ठूलै हुनुपर्छ भन्ने हुँदैन। इलाका, पालिका, वडा इन्चार्ज भनेर पठाउन सकिन्छ। गाउँगाउँमा पार्टी कस्तो छ? के छ? त्यसलाई सुदृढ गर्ने, संगठित र सक्रिय बनाउने, सिकाउने बुझाउने काम हुन्छन् नि। 

६, एमाले सचिवालय बैठकले त सहकार्य मात्र गर्ने भनेको हो वामदेवसँग, पार्टीमा ल्याउने भनेको होइन भन्ने टिप्पणी पनि सुनिन्छ नि, के हो खास?

होइन, अघि नै भनेँ, एमालेमा समाहित हुने भनेर अध्यक्षले नै भन्नुभएको थियो तर पछि जे भयो त्यो मलाई राम्रो लागेन।

७ कहिले माधव नेपालतिर कहिले केपी ओलीतिर गर्दा अविश्वास पैदा भएको हो कि?

हामीले एकैपटक दुई/तीन ठाउँ छलफल चलाएका थियौँ पार्टी एकीकरणका निम्ति। एउटासँग नभए अर्कोसँग, अर्कोसँग नभए अर्कैसँग। यसैबारे छलफल चल्दै गर्दा एमाले अध्यक्ष स्वयंले यहीँ आउनुस् भन्नुभयो। त्यसमा विश्वास गरियो र गइयो। विश्वास गरेर जाँदा भोलि निर्णय हुन्छ, पर्सी निर्णय हुन्छ भनेर समय लगाउनुभयो। बल्ल निर्णय गर्न सचिवालय बस्यो भनेर खुशी भइयो। अन्तिममा त सहकार्य भनेर भनिदियो।  

८, एकीकृत समाजवादीमा जाने अन्तिम तयारीका बीच बाटो मोड्नुभएको थियो, त्यता पनि ढोका बन्द भइसकेको छ कि खुलै राखेर हिँड्नुभएको हो? 

एकीकृकत समाजवादीसँगको ढोका पनि खुलै छ।  

९, तपाईंमाथि व्यक्तिवादी राजनीति गर्ने गरेको आरोप छ, एकीकृत समाजवादीमा पनि माधव नेपालबाहेक अरुलाई नेता मान्दिन भनेपछि एकता प्रक्रिया भाँडिएको होइन?

मैले मभन्दा माथिको कार्यकारी नेता माधव र झलनाथ हो। अरु त मभन्दा जुनियर पनि हुन् र उनीहरू कसैले पनि मलाई नेता मान्नुपर्छ भनेका पनि थिएनन्। त्यसकारण त्यही कारण एकता प्रक्रिया भाँडियो भन्न मिल्दैन। 

१०, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको एजेन्डा पनि तपाईंका लागि घातक भएको हो कि? 

एक हिसाबले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री हुनुपर्छ भन्ने मेरो कुरा पनि उहाँहरूका लागि अफ्ठ्यारो भएको त होला तर मैले यसलाई एउटा अडानका रूपमा भन्दा पनि प्रस्तावका रूपमा अघि बढाउन चाहेको हो। म जुन पार्टीमा जान्छु त्यसमा छलफलका लागि मेरो प्रस्ताव रहन्छ, चाहे केन्द्रीय कमिटी होस्, चाहे अरू वर्कशप आयोजना गरेर भए पनि छलफल गर्ने भनेको थिएँ।  

११, तपाईंलाई चाहिँ किन चाहिएको प्रत्यक्ष कार्यकारी नै? 

हाम्रो देशमा विकास भएन। विकास हुनलाई विकास गर्ने सरकार चाहिन्छ, त्यसका लागि स्थिर सरकार चाहिन्छ तर अहिले हेर्‍ यौँ भने हरेक ५/६ महिनामा परिवर्तन हुने सरकारले के काम गर्न सक्छ? त्यसो भएर एकपटक निर्वाचित भएपछि कसैले केही गर्न नसक्ने व्यवस्था चाहियो भन्ने पक्षमा उभिएको हुँ।  

१२, एकैपटक दुईवटा डुङ्गामा खुट्टा राख्दा हरिबिजोग भयो, अब त वामदेव गौतमको राजनीति नै समाप्त भयो भन्नेहरू धेरै छन्, कसरी अघि बढ्ने सोचिराख्नुभएको छ?

अब हेरम कोही न कोही त आउलान्। एमालेले सहकार्य गर्ने त भनेको छ तर सुरुमै त्यत्ति महत्व नदिइसकेपछि सहकार्य पनि सहजरूपमा अघि बढ्ला भन्ने लाग्दैन। 

१३, माओवादीमा जाने सम्भावना छ?  

किन नहुनू! माओवादी भन्ने नाम मात्रै हट्यो भने समस्या छैन। नेकपा कालमा हामीले जे गरेका थियौँ, त्यही शैली अपनाइए सम्भवाना छ। 

१४, संवाद पनि भएको छ माओवादी नेताहरूसँग? 

अहिलेसम्म चाहिँ छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.