|

काठमाडौं : दुई नगरपालिका र नौ गाउँपालिका रहेको गोरखामा अहिलेसम्म नगरपालिका बाहेक अन्य स्थानीय तहमा सरकारी कर्मचारीहरु खटिएका छैनन्।

जिल्लामा रहेका छ वटा विषयगत कार्यालयबाट कुन स्थानीय तहमा को कर्मचारी जाने भन्ने टुंगो लागे पनि कर्मचारीहरु कार्यथलोमा नगएका स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्यले बताए। 

‘सबै विषयगत कार्यालयहरुबाट कुन गाउँपालिकाका को–को कर्मचारी जाने भन्ने टुंगो लागिसकेको छ,’ आचार्यले भने,‘को कर्मचारी कहाँ जाने भन्ने टुंगो लागेर के गर्नु? कर्मचारी यहाँबाट गएर कार्यालयमा बसेर काम गर्ने कुर्सी, टेबल राख्ने ठाउँ त हुनुपर्‍‍यो। पहिले पूर्वाधार निर्माण हुने बित्तिकै सबै कर्मचारीहरु तोकिएको ठाउँमा गइहाल्छन्।’ जिल्लाका नौ गाउँपालिकाहरुमध्ये अहिलेसम्म अजिरकोट गाउँपालिकाकाले कार्यालय भाडामा लिएर कार्यालय सञ्चालन गरिएको छ। बस्ने र खाने ठाउँको सुविधा अहिलेसम्म अजिरकोट गाउँपालिका र आरुघाट गाउँपालिकामा मात्र देखिएको जिल्ला समन्वय समिति गोरखाले जनाएको छ। अन्य गाउँपालिकामा कार्यालय र बस्ने खाने ठाउँकै अभाव छ।

गण्डकी गाउँपालिकाकी उपप्रमुख ललिता अधिकारी भन्छिन्,‘कर्मचारी आएनन् भन्दा पनि आएकाहरुले बसेर काम गर्ने ठाउँको अभाव छ,’ उनले भनिन्,‘जस्तापाताले छाएको साधारण टहरोमा कार्यालय चलाइरहेका छौँ। यहाँको लागि खटिएर आएका कर्मचारीहरुले कार्यालयमा बसेर काम गर्ने ठाउँ छैन। अर्को गाउँमा उनीहरु खाने र सुत्ने ठाउँको समेत ठेगान छैन।’

त्यस्तै हिमालपारीको गोरखाका चुमनुब्री गाउँपालिकाका कार्यकारी अधिकृत सहितका कर्मचारी समेत त्यहाँ पुग्न सकेका छैनन्। कार्यकारी अधिकृतले काठमाडौंमै बसेर सिफारिसहरु दिइरहेका छन्। 

गाउँपालिकाको कार्यालय भाडामा लिनका लागि घर समेत नपाइएको सिरान्चोक गाउँपालिकाका प्रमुख राजु गुरुङ बताउँछन्। ‘गाउँपालिकाको कार्यालय स्थापनाका घर, कोठा, सटर भाडामा लिन केही पाइँदैन,’ उनले भने ‘भूकम्पले धेरैका घर भत्केका छन्। पुनर्निर्माण भइसकेको छैन। कर्मचारी आएर बसेर सेवा दिने ठाउँ छैन। ठाउँ बनाउन सकिएको छैन।’

‘केही दिनअघि गण्डकी गाउँपालिकामा सबै विषयगत कार्यालयका साथीहरु काम गर्न भनेर आफ्ना सरसामान बोकेर जानुभो। अनि हाजिर मात्रै गरेर फर्कनु भयो,’ उपप्रमुख अधिकारीले भनिन्,‘अनि म भएको ठाउँमा आएर भन्नु भयो सर हामी त्यहाँ बसेर काम गर्न सक्दैनौँ। कम्तीमा टेबल कुर्सीमा बसेर काम गर्ने ठाउँ हुनु पर्‍‍यो।’ 

अहिले विभिन्न गाउँपालिकाका कार्यालयहरु साविकका गाविसका कार्यालयहरुमा सञ्चालन भइरहे पनि ति कार्यालय स्वत: वडा कार्यालय हुने भएकोले गाउँपालिकाहरुले नयाँ कार्यालय बनाउनु पर्नेछ। धार्चे गाउँपालिका २  केरौँजाका वडाअध्यक्ष सुकबहादुर गुरुङका अनुसार गाउँमा आएर कर्मचारीले बसेर सेवा दिने ठाउँ छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.