‘अध्यादेशको विरोध गर्दा योगेशलाई पोल्यो’

|

विराटनगर : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री आफैँले ‘सरकार ढल्यो ढल्यो’ भन्दै गीत गाउने गरेको व्यंग्य गरेका छन्।

सुनसरीको इटहरी जाने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग अध्यक्ष नेपालले विपक्षी दलले नभएर   प्रधानमन्त्री केपी शर्मा ओली आफैँ ‘सरकार ढल्यो ढल्यो’ भन्दै गीत गाउने गरेको व्यंग्य गरेका हुन्।  

प्रधानमन्त्री ओलीले गत माघ १८ गतेको प्रतिनिधिसभाको बैठकमा माओवादीका अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै ‘सरकार ढल्यो ढल्यो’ भन्दै हिँडेको भनेका थिए।

त्यही अभिव्यक्तिलाई खण्डन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीप्रति कटाक्ष गर्दै प्रतिपक्षले नभई प्रधानमन्त्रीले नै सरकार ढल्यो ढल्यो भन्दै गीत गाएको बताए। 

सरकारबाट सबैतिर निराशामात्र छाएको आरोप लगाए। संविधान संशोधनजस्तो विषय अपरिपक्व ढङ्गले प्रधानमन्त्रीको अभिव्यक्ति आएकाले सरकार बन्नुको नियत के भएको भन्ने समेत क्लियर भएको उनले बताए। 

‘यो सरकारबाट निराशा छ। जुन अलिअलि अपेक्षा गरेका थिए। पहिला पनि धेरै आशा थिएन‚’ उनले भने, ‘त्यही पनि शङ्काको लाभ भने जनतामा थियो। त्यो अहिले पूर्ण रूपमा निराशामा परिणत भएको छ।’

सरकारको रवैया अत्यन्तै अलोकतान्त्रिक भएको आरोपसमेत उनले लगाए। सरकार गठन गर्दा पनि बडो रहस्यमय तरिकाले गरिएको उनको भनाइ छ। प्रधानमन्त्रीले २०८७ मा मात्रै संविधान संशोधन गर्ने भनेर दिएको वक्तव्यले सरकारको नियत क्लियर भएको उनले बताए। 

कुनै क्षेत्रमा आशालाग्दो परिणाम नदेखिएकाले सबै हिसाबले सरकार असफल देखिएको आरोप उनले लगाए। 

संसदमा विचाराधीन रहेका विधेयकहरू फिर्ता नै नगरी विधि प्रक्रिया नपुर्‍याइ सरकारले अध्यादेश ल्याउनु ठिक नभएको उनले बताए। अध्यादेश आवश्यकताले ल्याउनुपर्ने उनले बताए। 

अध्यादेशको विरोध गर्दा योगेशलाई पोल्यो’

उनले एमालेका सचिव प्रतिनिधिसभा सदस्य योगेश भट्टराईप्रति लक्षित गर्दै अध्यादेशको विरोध गर्दा उनलाई बढी पोलेको समेत बताए। 

‘एमालेकै एकजना सांसद पहिला विद्रोह गर्नुपर्छ भन्ने सबैभन्दा ठूलो आवाज उठाउनेमध्ये थिए। उनलाई सबभन्दा बढ्ता पोलेछ। बरु दास भएर बस्नुपर्छ भन्ने मान्यता उनमा थियो होला‚’ उनले भने, ‘तर हामी दास हुन चाहेनौँ। हामी क्रान्तिकारी कम्युनिष्टको रूपमा अगाडि बढ्न चाह्यो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.