|

काठमाडौं : काठमाडौंको सार्वजनिक ठाउँमा हिँडडुल गर्ने र कसैको स्वामित्वमा नभएको कुकुरलाई के भनिन्छ? सामान्य बोलीचालीमा यसलाई यसलाई भुस्याहा कुकुर भनिन्छ। तर काठमाडौं महानगरपालिकाले यस्ता कुकुरलाई सामुदायिक कुकुर भनेको छ।

काठमाडौंमा हिजोआज यस्ता २२ हजार कुकुर छन्। ती कुकुरहरुलाई कुनै भ्याक्सिन लगाइएको छैन। त्यसकारण यस्ता कुकुरले टोकेमा रेविज लाग्ने सम्भावना बढी हुने महानगरपालिकाको शहरी स्वास्थ्य महाशाखाका प्रमुख हरिकुमार श्रेष्ठले बताए।

महानगरपालिका अहिले यस्तै सामाजिक कुकुर न्युनीकरण गर्न क्रियाशील छ। त्यसका लागि उपयोगी ठानेको छ, स्थायी बन्ध्याकरण। महानगरपालिकाले बैशाख ८ गते सिहंदरबार परिसरबाट बन्ध्याकरण सुरु गरेको र हालसम्म ८१ वटा सामुदायिक कुकुरको बन्ध्याकरण भइसकेको श्रेष्ठले जानकारी दिए।

यस्ता कुकुरको न्युनीकरणका लागि महानगरपालिकालाई एक अमेरिकी संस्थाले सघाएको छ। महानगरपालिकाले पाँच प्रतिशत र बाँकी ९५ प्रतिशत बजेट सहित प्राविधिक सेवा अमेरिकी संस्था ह्युमेन सोसाइटी इन्टरनेसनले गरिरहेको श्रेष्ठले बताए।

महानगरपालिकाले चाँडै नै टेकुमा अस्पताल स्थापना गरी काठमाडौंमा रहेका सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने, रेविज भ्याक्सिन दिने र विरामी कुकरको उपचार गर्ने उनले जानकारी दिए। “हामीले यो कामको थालनी सिहंदरबारबाट गरेका छौं, चाँडै नै टेकुमा अस्पताल स्थापना गरी उपत्यकामा भएका सामुदायिक कुकुरहरुको सामूहिक बन्ध्याकरण, औषधिउपचार र भ्याक्सिन दिइ केही बर्षभित्रमा उपत्यकाबाट यस्ता कुकुर अन्त्य गर्ने अभियानमा लागेका छौं' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.