|

पर्वत : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष प्रदेश अस्पताल पर्वतलाई विशिष्टीकृत अस्पतालको रूपमा विकास गर्न पहल गरिदिने विषयमा अनुरोध गरिएको छ।

नेकपा (माओवादी केन्द्र) म्याग्दीको जिल्ला समन्वय समिति म्याग्दीद्वारा आयोजित खबरदारी सभामा सहभागी हुन म्याग्दीको बेनी आएका उनी बुधबार काठमाडौँ फर्किने क्रममा प्रदेश अस्पताल पर्वतमा पुगेर त्यहाँको सेवा सुविधाका बारेमा जानकारी लिएका थिए।

अस्पतालको व्यवस्थापन, भौतिक र सेवा प्रवाहको बारेमा जानकारी लिन पुगेका प्रचण्डसमक्ष अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरी, मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोला लगायतले विशिष्टीकृत अस्पतालको लागि पर्वत जिल्ला उपयुक्त भएकोले यसमा पहल गर्न अनुरोध गरेका छन्।

अस्पतालको विभिन्न पक्षहरूको बारेमा जानकारी लिएका माओवादी अध्यक्ष प्रचण्डले भौगोलिक हिसाब र सडक सहजताका कारण पनि पर्वतको अस्पताललाई विशिष्टीकृत अस्पतालको रूपमा विकास गर्न सकिने बताएका छन्। मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोरको केन्द्रमा कुश्मा पर्ने भएकोले पनि बागलुङ, म्याग्दी र पर्वत तीनवटै जिल्लाका नागरिकलाई सहज सेवा लिनको लागि पर्वत उत्तम हुने उनको भनाइ छ।

स्वास्थ्य क्षेत्रलाई सरकारले विशेष रूपमा लैजानुपर्ने भन्दै उनले सामान्य नागरिकको पहुँच पुग्ने तरिकाले स्वास्थ्य सेवा उपलब्ध हुनुपर्ने धारणा राखे।

पर्वत अस्पतालमा ‘डिजिटल’ सेवा सुरु गर्ने विषयमा आफूले समय दिन नसके पनि वर्तमान स्वास्थ्यमन्त्री प्रदीप पौडेलबाट शुभारम्भ गरिएको सेवाका बारेमा अध्यक्ष प्रचण्डले प्रशंसा गरे। स्वास्थ्य मन्त्री पौडेलले पर्वतमा शुभारम्भ गरेको ‘डिजिटल’ प्रणाली देशकै लागि नमुना भएको भन्दै उनले यसले नागरिकलाई सेवा लिनका सहज र सुलभ हुने उल्लेख गरे।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गिरीले प्रचण्डसमक्ष स्रोत र सधानको अभावका बिच पनि धेरै सुविधाहरू थप गरेर नागरिकलाई जतिसक्दो सहज र सुलभ सेवा दिइरहेको बताए। प्रदेश अस्पताल पर्वतमा सञ्चालनमा रहेका  हेमोडायलिसिस विस्तार, फोहोर व्यवस्थापन, आमा घर निर्माण, भेन्डिङ उपकरण लगायतको बारेमा पनि माओवादी अध्यक्ष प्रचण्डलाई जानकारी गराइएको छ।

२०४६ सालदेखि १५ शय्यामा चलेको अस्पताललाई अहिले समितिकै पहलमा ६५ शय्यामा सञ्चालन गर्न सक्नु, हालै मात्र फिजियोथेरापी सुरु गरिनु, ‘टोकन’ प्रणालीबाट बिरामीको उपचार व्यवस्थापन लगायतका सेवा सुविधाले अस्पताललाई माथि उठाएको अध्यक्ष गिरीले बताए।

ती सेवाहरूको बारेमा थाहा पाउँदा अध्यक्ष प्रचण्डले पनि खुसी व्यक्त गर्दै वर्तमानमा जस्तै भविष्यमा पनि सक्रियता दिन अनुरोध गरे। अस्पतालको आफ्नै आम्दानीमा चिकित्सक व्यवस्थापन गरेर सेवा दिनु पनि उदाहरणीय भएको उनको भनाइ छ।

प्रदेश अस्पताल पर्वतलाई विशिष्टीकृत अस्पतालको रूपमा विकास गर्न सकेमा म्याग्दी बागलुङ र पर्वतका आम नागरिकको लागि एकै ठाउँबाट सबै प्रकृतिका विशेषज्ञ सेवा प्रदान गर्न सकिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गिरी बताउँछन्। ‘हरेक अस्पतालमा छिरलिएका सेवा प्रदान गर्नुभन्दा विशेष सेवाहरू एकै ठाउँबाट दिने र आधारभूत सेवाहरू जिल्लामा रहने व्यवस्था भयो भने सेवा प्रवाह प्रभावकारी हुन सक्छ’, उनले भने, ‘थोरै जनशक्तिबाट पनि धेरै नागरिकलाई सेवा दिन सकिन्छ। एक जिल्लालाई एउटा विशेष सेवाको रूपमा विकास गर्न सकेमा त्यहाँबाट विशिष्ट सेवा प्राप्त गर्न सकिन्छ। तीन जिल्लालाई आपसमा जोडेर एक जिल्लालाई विशेष कुनै एक सेवाका लागि परिचित गराउन सकिन्छ।’

जनशक्ति व्यवस्थापनको लागि पनि यो राम्रो कुरा भएको भन्दै उनले सडक सुविधा र दूरीका हिसाबले पनि पर्वत उपयुक्त हुने बताए। पर्वतमा सक्रिय रहेका विभिन्न सामाजिक सङ्घ संस्थाहरूलाई जोडेर अस्पतालप्रति जिम्मेवारी बनाउनु नै आफूहरूको लक्ष्य रहेको बताउँदै अध्यक्ष गिरीले अब प्रदेश र सङ्घ सरकारले विशिष्टीकृत सेवाका लागि सहयोग गर्नुपर्ने माग गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.