अमरकान्ति ४–२ ले पराजित, विपिन बने सर्वोत्कृष्ट खेलाडी
अमरकान्ति ४–२ ले पराजित, विपिन बने सर्वोत्कृष्ट खेलाडी
काठमाडौँ : दोस्रो संस्करणको गोदावरी नगरपालिकास्तरीय अन्तर विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि बाँडेगाउँको बुद्ध माविले जितेको छ।
ढोलाहिटीस्थित विनायक स्पोर्ट्स कम्प्लेक्समा बिहीवार भएको फाइनलमा लेलेको अमरकान्ति माध्यमिक विद्यालयलाई ४–२ गोल अन्तरले हराउँदै बुद्ध माविले दोस्रोपटक गोदावरी नगर विद्यालयस्तरीय प्रतियोगिता जितेको हो।
बुद्धको जितमा सचिन तामाङले २ तथा राज घिमिरे र प्रमेश थिङले १/१ गोल गरे। पराजित अमरकान्तिका लागि जिगरजंग सिलवालले दुवै गोल गरे।
विजेता भएसँगै बुद्ध माविले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। यस्तै उपविजेता अमरकान्तिले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ।
श्री ज्ञानकुण्ड युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी गंगा जमुना स्कुलका विपिन मर्हजन भए। उत्कृष्ट गोलकिपर बुद्ध माविका सुमन तिरुवा भए भने उदीयमान खेलाडीको पुरस्कार सरस्वती मावि लेलेका कर्मा तामाङले पाए।
सरस्वती माविकै उत्सव नगरकोटी सर्वाधिक गोलकर्ता भए। विधागततर्फ उत्कृष्ट खेलाडी, गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले जनही ५ हजार पाएका छन्।
विजेता तथा उपविजेता खेलाडीलाई गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले पुरस्कार प्रदान गरे। सेमिफाइनलमा बुद्ध माविले लेलेको गंगा जमुना माविलाई तथा लेलेको अमरकान्तिले रिदभान एकेडेमीलाई हराएर फाइनलमा पुगेका थिए।
प्रतियोगिताको अवसरमा डेढ दशकदेखि खेलकुद पत्रकारिता गर्दै आएका पत्रकार थाहाकर्मी नवीन लुईटेललाई सम्मान गरिएको छ।
प्रतियोगितामा नगरपालिकाभित्रका १७ वटा विद्यालयको सहभागिता रहेको थियो। गोदावरी नगरपालिकाका मेयर महर्जनले नगरभित्र फुटबलको दिगो विकासका लागि विद्यालयस्तरीय फुटबल कोसेढुङ्गा हुने बताए।
मेयरकप फुटबलको तयारीमा नगरपालिका रहेको बताउँदै उनले प्रतियोगितासँगै पूर्वाधार निर्माणको काममा पनि नगरपालिका जुटिरहेको बताए।
नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष मिलन सिल्वालले विद्यालयस्तरको फुटबलले नगरको फुटबललाई ग्रास रुटमै बलियो बनाउने प्रयास गरेको बताए।
क्लबका कार्यवाहक अध्यक्ष एवं प्रतियोगिता संयोजक निकेश श्रेष्ठले नगरले आर्थिक सहयोग गरेको खण्डमा हरेक वर्ष यस्तै प्रतियोगिता आयोजना गरिरहने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।