|

काठमाडौँ : सरकारले सन् २०२५-२०३५ लाई पर्यटन दशकका रूपमा मनाउने तयारी गरेको छ। गत माघ ८ गते  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै सन् २०२५ देखि सन् २०३५ सम्म पर्यटन दशकका रूपमा मनाउन कार्ययोजना तयार भइरहेको बताएका थिए।

नेपालका लागि पर्यटन वर्ष र पर्यटन दशकको चर्चा नयाँ भने होइन। यसअगाडि नेपाल पर्यटन दशक (सन् २०२३-२०३२) को रणनीतिक कार्ययोजना तयार भएको थियो।

रणनीतिक कार्ययोजनाको रुपरेखा तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई बुझाएको थियो‚ जुन प्रतिवेदन अहिले कहाँ थन्किएको छ कुनै अत्तोपत्तो छैन।

उक्त कार्ययोजनामा नेपालमा सबै मौसम र वर्षैभरि पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ सन् २०२३ देखि २०३२ सम्म हरेक वर्ष सम्पन्न गरिने कार्यक्रमबारे उल्लेख गरिएको थियो।

नेपाल आउने विदेशी पर्यटकको संख्या सन् २०३२ सम्ममा ३५ लाख पुऱ्याउने, पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै २ वर्षभित्र पर्यटन क्षेत्रलाई कोरोना संक्रमणकालभन्दा पूर्ववत अवस्थामा पुऱ्याउने उल्लेख उक्त कार्ययोजनामा थियो।

आगामी १० वर्षभित्र पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने पनि उक्त कार्ययोजनामा उल्लेख थियो।

विश्वव्यापी कोभिड महामारीका कारण विगत ३ वर्षमा पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएकोले दीर्घकालीन सोचसहितको पुनरुत्थान आवश्यक भएकाले पर्यटन दशक (२०२३-२०३२) को अवधारणा ल्याइएको थियो।

पुन: अहिले मन्त्री पाण्डेले (२५-३५) लाई पर्यटन दशक मनाउने घोषणा गरिदिए तर पर्यटन क्षेत्रमा विज्ञहरूले भने अहिलेकै अवस्थामा यसको घोषणाको औचित्यमाथि प्रश्न गरेका छन्।

नेपाल होटल व्यवसायी सङ्घ (हान)का अध्यक्ष विनायक शाह पर्यटक दशकभन्दा बरू पर्यटन प्राथमिकताको दशक घोषणा गरेर काम गर्नुपर्ने बताउँछन्।

उनले भने, ‘पर्यटक दशक मनाउनुभन्दा पर्यटनको प्राथमिकतालाई अगाडि बढाउनुपर्छ। सरकारले तीन कुरामा विशेष ध्यान दिनुपर्नेछ। पहिलो पूर्वाधारको विकास‚ दोस्रो मन्त्रालयहरूबीच समन्वय र तेस्रो प्रवर्द्धन।‘

पूर्वाधार विकास

पर्यटन दशक मनाउने भनेरमात्र हुँदैन। त्यसका लागि मुख्यतः आर्थिक तयारी गर्नुपर्नेछ। पर्यटन दशकका लागि राज्यले कति लगानी गर्न सक्छ? विदेशी सहयोग कति हुन्छ? अहिले नै त्यसबारेमा छलफल हुने पर्ने शाहले बताए। 

सरकारले पर्यटनमा छुट्ट्याएको बजेट पनि उचित तरिकाले खर्च गर्न नसकेको उनको बुझाइ छ।

उनका अनुसार सरकारले पर्यटन विकास गर्ने हो भने पर्यटन पूर्वाधारमा विकास गर्नुपर्छ। अहिले भएका संरचनाले पर्यटक दशकलाई सहज वातावरण निर्माण हुन सक्दैन।

उनले भने, ‘हाम्रा सडकहरूको अवस्था सहज छैन। विमानस्थलहरूमा विविध समस्या छन्। सहज र भरपर्दो सवारी आवागमनलाई प्रभावकारी बनाउनुपर्छ।‘

मन्त्रालयहरूको समन्वय

पर्यटन मन्त्रालयले मात्र पर्यटन दशकको हल्ला गरेर देशमा पर्यटन विकास नहुने उनले बताए। उनका अनुसार समग्र देशको पर्यटन विकासका लागि गृह मन्त्रालयदेखि सानाभन्दा साना विभाग र क्षेत्रसँगको सहकार्य आवश्यक छ।

उनले भने, ‘पर्यटकको सुरक्षा प्रहरीले गर्ने हो। उनीहरूको स्वास्थ्यको लागि स्वास्थ्य मन्त्रालय, सहज हिँडडुलका लागि यातायात मन्त्रालय होला। यी विविध विषय भएकाले कुनै एक मन्त्रालय, विभाग वा संस्थाले मात्र पर्यटन विकासका लागि मिहिनेत गरेर पुग्दैन।‘

प्रवर्द्धन

देशमा पर्यटन विकासका लागि उचित प्रचार हुन नसकेको शाहको बुझाइ छ। पर्यटन विकासका लागि पर्यटक आउने मुख्य देशहरूमा नेपालको प्रचार हुनुपर्ने उनले बताए।

नेपालले भारत र चीनबाट पनि सोचे जति पर्यटक ल्याउन नसकेको उनको दावी छ। ‘सरकारको पक्षबाट पहिले अन्तरराष्ट्रिय स्तरमा प्रचार गरौँ। त्यसपछि मात्र पर्यटन दशकले सार्थकता पाउँछ', उनले भने।

‘लगानीको वातावरण सिर्जना गरौँ’

नेपालमा पर्यटकमात्र बोलाएर पर्यटनको विकास नहुने बताउँछन् पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की। नेपालको सबैभन्दा ठूलो चुनौती नै हवाई भाडा रहेको उनले बताए।

‘बाह्य तथा आन्तरिक भाडा उस्तै महँगो छ। त्यही पैसाले अर्को देशमा एक रात बस्न पाइन्छ भने कसले बढी तिरेर यहाँ आउँछ?’, उनले भने।

देशका सबै राजमार्गको अवस्थाले पनि पर्यटन विकासमा अझ जटिलता थपेको उनले बताए। ‘उदाहरणका लागि पृथ्वी राजमार्गको २ सय किलोमिटर बनाउन त हम्मे हम्मे भइरहेको अवस्था छ। पर्यटकलाई सुरक्षित यात्रा आवश्यक पर्छ, खै बनाएको? विमानस्थलमा पनि समयमा प्लेनहरू नउड्ने हाम्रो साझा समस्या हो’, उनले भने।

पर्यटक आइहाले होटलमा राखेर मात्र हुँदैन। भारतबाट आएको तरकारी र अन्य मुलुकबाट आएको मायाको चिनो दिएर नेपालको पर्यटन प्रवर्द्धन नहुने उनले बताए।

‘हामीकहाँ आउने पर्यटक अर्को पटक आउने वातावरण निर्माण गर्न हाम्रा कृषिजन्य उत्पादनलाई जोड दिउँ। कृषिमा युवाहरूलाई जोड्नुपर्छ‚ कृषिलाई उद्योगमा जोड्नुपर्छ। उद्योगलाई व्यापार र व्यापारलाई पर्यटकको हातमा पुग्ने अवस्था सिर्जना गरौँ’, उनले भने।

विदेशमा नेपालको पर्यटनका क्षेत्रमा देखिएको नकारात्मक सोच हटाएर सकारात्मक दृष्टिकोण निर्माण गर्नुपर्ने उनले बताए।

‘पर्यटक ल्याउने भन्दै एउटा सरकारले घोषणा गर्छ अर्को सरकारले त्यसलाई सहयोग गर्दैन। स्थायी सरकार खै? अस्थिर सरकार पर्यटन विकासका लागि अर्को ठूलो चुनौती हो। निजी क्षेत्रलाई लगानी वातावरण नै बनेको छैन। कुनै पनि व्यवसायीहरूलाई थप लगानीको उत्साह देखिएको छैन। पहिलो कुरा स्थिर सरकार र लगानीको वातावरण निर्माण गर्न जरूरी छ। नत्र भने सरकारको घोषणा केवल घोषणामा नै सीमित हुने देखिन्छ’, कार्कीले भने।

सन् २०२४ मा साढे ११ लाख पर्यटक आए नेपाल

सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार गत वर्षको जनवरीदेखि डिसेम्बरसम्म ११ लाख ४७ हजार ५६७ पर्यटकले नेपाल भ्रमण गरेका हुन्।

बोर्डका निर्देशक मरिणराज लामिछानेका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा १४ प्रतिशतभन्दा बढी पर्यटक आगमन भएको छ। सन् २०२३ मा १० लाख १४ हजार ८७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए।

बोर्डले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटकभन्दा बढी आउने अनुमान गरेको थियो। सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए।

विदेशी पर्यटक आगमनको यो आँकडाले कोभिड–१९ महामारी (कोरोना भाइरस) का कारण शिथिल भएको मुलुकको पर्यटन क्षेत्र लयमा फर्किएको देखाएको छ। कोरोनाले ३ वर्ष विदेशी पर्यटक आगमन खुम्चियो। सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन ह्वात्तै घट्यो।

उल्लिखित आँकडाले एशिया प्यासिफिक क्षेत्रको भन्दा नेपालको पर्यटन पुनरुत्थान माथि रहेको बोर्डका निर्देशक लामिछानेको भनाइ छ। संयुक्त राष्ट्रसंघ विश्व पर्यटन सङ्गठन (यूएनडब्लूटीओ) को ६ महिनाको आँकडाअनुसार विश्वव्यापी रूपमा ९६ प्रतिशतले नेपालको पर्यटन पुनरुत्थान भएको छ।

उक्त अवधिमा विश्वव्यापी ९३ प्रतिशत पर्यटन पुनरुत्थान भएको जनाइएको छ।

निर्देशक लामिछानेका अनुसार पर्यटक आगमन सुधार हुनुमा बोर्डले बजारीकरणलाई तीव्रता दिएको तथा नेपालमै पहिलोपटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना, बुद्धिष्ट सम्मेलनका दौरानमा भएका आठ सयभन्दा बढी चार्टड उडान, अन्तरराष्ट्रिय बेलुन फेष्टिवल‚ चिनियाँ ड्रागन फेस्टिवलका साथै राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा भएका पर्यटन उत्सव, मेला र प्रदर्शनी रहेका छन्।

विदेशी पर्यटक आगमन बढाउन बोर्डले क्षेत्रीय पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेको उल्लेख गरेको छ।

कुन महिनामा कति पर्यटक?

मार्चमा सबैभन्दा बढी एक लाख २८ हजार १६७ पर्यटक नेपाल आएका थिए भने सबैभन्दा कम जुलाईमा ६४ हजार ५९९ पर्यटकले नेपाल भ्रमण गरेका थिए। अक्टोबरमा एक लाख २४ हजार ३९३, अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६ पर्यटक नेपाल आएका थिए।

डिसेम्बरमा ८९ हजार ७६५, नोभेम्बरमा एक लाख १४ हजार ५०१, सेप्टेम्बरमा ९६ हजार ३०५, जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२६, मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६ र अगष्टमा ७२ हजार ७१९ पर्यटक नेपाल आएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.