८ मध्ये ५ इभेन्ट्समा विजेता

|

काठमाडौँ : पुष्पसदन विद्यालयस्तरीय टेबल टेनिस प्रतियोगितामा प्राइम ग्लोबल स्कुलले अधिकांश इभेन्ट्समा बाजी मारेको छ। 

कीर्तिपुरस्थित पुष्पसदन सेकेण्डरी बोर्डिङ स्कुलको आयोजनामा ३ दिन चलेको प्रतियोगितामा प्राइम ग्लोबलले ८ मध्ये ५ वटा इभेन्ट्समा विजेता बनेको छ। 

पहिलो दिन बिहीवार छात्र र छात्रा टिम इभेन्ट्स जितेको प्राइमले दोस्रो दिन शुक्रवार सिनियर छात्र एकल र यू–१३ को इभेन्ट्समा बाजी मारेको थियो। शनिवार अन्तिम दिन यू–११ छात्रातर्फको उपाधि पनि जितेको छ। 

बाँकी ३ वटा इभेन्ट्स सेन्ट मेरिज सेकेण्डरी स्कुल, बृहस्पति विद्या सदन र डिलाइट स्कुलले जितेका थिए। सेन्ट मेरिजले सिनियर छात्रा एकल, बृहस्पति विद्या सदनले छात्र यू–११ र डिलाइटले यू–१३ छात्रतर्फको उपाधि जितेका हुन्। 

पुष्पसदनको टेबल टेनिस कोर्टमा शनिवार सम्पन्न खेलमा छात्रातर्फको यू–११ को स्पर्धामा आयोजक पुष्पसदन विद्यालयकी क्रिष्टल भुषाललाई हराउँदै प्राइम ग्लोबलकी यामिला श्रेष्ठले उपाधि जितिन्। 

यो इभेन्ट्समा द एक्सेलसायरकी सुप्रिया रोका र युवक बुद्ध मण्डलकी मेरिसा श्रेष्ठ संयुक्त रुपमा तेस्रो हुँदा सम्बृद्धि स्कुलकी एन्ड्री महर्जन राइजिङ प्लेयर भइन्।  

शनिवारै सम्पन्न अर्को फाइनल खेलमा प्राइम ग्लोबलकै संभवराज वन्तले मंगल सेकेण्डरी स्कुलका मनुषलाल श्रेष्ठलाई हराउँदै सिनियर छात्रतर्फको उपाधि जिते।

यो इभेन्ट्समा पुष्पसदनका सफल महर्जन र आइडियल मोडल स्कुलका सोयम महर्जन तेस्रो भएका छन्। एकल छात्रमा मागुस इंगलिस स्कुलका सक्रिन महर्जन राइजिङ प्लेयर बनेका छन्। 

प्रतियोगितामा छात्रा एकलतर्फ सेन्ट मेरिज स्कुलकी सुष्मा शाक्य विजयी भएकी छिन्। प्रगति आर्दश इंगलिस स्कुलकी इशानवी महर्जन दोस्रो हुँदा पुष्पसदनकी मिचुली महर्जन र लिटिल एन्जल्सकी प्रमिला जोशी तेस्रो भए। यो इभेन्ट्सको राइजिङ प्लेयर ह्वाइट फिल्ड सेकेण्डरी स्कुलकी बिदिसा महर्जन भइन्।

यू–१३ छात्रतर्फको उपाधि डिलाएट स्कुलका आरंभराज शाक्यले जिते। उनले आफ्नै स्कुलका निर्भिक शाक्यलाई फाइनलमा पाखा लगाउँदै उपाधि जितेका हुन्। यो इभेन्ट्समा पुष्पसदनका सुसन प्रधान र डिलाइटकै आयनराज शाक्यले तेस्रो स्थान हात पारे। यो इभेन्ट्सको राइजिङ प्लेयर पारागन पब्लिक स्कुलका सुचन बढा भए।

यही यू–१३ उमेर समूहकै छात्रातर्फको उपाधि प्राइम ग्लोबल स्कुलका प्राज्ना महर्जनले जितिन्। उपविजेता फ्युचर स्टार हाइ स्कुलकी इमरीन महर्जन भइन्। पुष्पसदनका रिसु ज्ञवाली र दाईसी महर्जनले तेस्रो स्थान हात पारे।

यो इभेन्ट्सको राइजिङ प्लेयर क्रिएटिभ एकेडेमीकी मेलिना महर्जन भइन्। यू–११ छात्रतर्फको उपाधि बृहस्पति विद्यासदनका विनम्र घिमीरेले जितेका छन्।  

आइडियल मोडल स्कुलका सत्भिकरत्न शाक्य दोस्रो हुँदा डिलाइट किण्डरगार्डेन स्कुलका रुसन शाक्य र केटिएम ग्लोबल स्कुलका कीर्तन श्रेष्ठ तेस्रो भएका छन्। राइजिङ प्लेयर संस्कृति इन्टरनेशनल स्कुलका संस्काररत्न बज्राचार्य भए। 

टिम इभेन्ट्सको छात्रतर्फ प्राइम ग्लोबल पहिलो हुँदा मंगल सेकेण्डरी स्कुल दोस्रो भएको छ भने हिल टाउन सेकेण्डरी स्कुल र आइडियल मोडल स्कुल संयुक्त रुपमा तेस्रो भएका छन्। 

यसैगरी पुष्पसदन टेबल टेनिसको टिम इभेन्ट्सको छात्रातर्फ प्राइम ग्लोबल विजेता बन्दा स्वर्णीम स्कुल दोस्रो तथा मंगल सेकेण्डरी स्कुल र आयोजक पुष्पसदन तेस्रो भएका छन्। 

विजेताले ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन्। विजेता‚ उपविजेता तथा तृतीय हुनेलाई कीर्तिपुरका मेयर कृष्णमान डंगोल, वरिष्ठ टेबल टेनिस प्रशिक्षक मोहनदास बासुकला, सोफेज नेपालका अध्यक्ष प्राडा रामकृष्ण महर्जन, नेपाल टेबल टेनिस संघका अध्यक्ष वीजेन्द्र हमाल, पुष्पसदनका संस्थापक अध्यक्ष महेश श्रेष्ठ, टेबल टेनिसकी ९ पटक राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले पुरस्कार वितरण गरे।

बिहीवार शुरु भएको ३ दिने प्रतियोगितामा ३० वटा विद्यालयका २३० जना विद्यार्थी सहभागी भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.