काठमाडौं : साँखुस्थित शालीनदीमा माधवनारायणको एकमहिने कठोर व्रत गरिरहेका व्रतालु शनिबार बेलुकी चाँगुनारायणको परदेश यात्रामा निस्केका छन्।
माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्नानको यात्रा गर्ने व्रत विधि छ। माघ शुक्ल द्वादशीका दिन व्रतालुले चाँगुनारायण मन्दिरमुनिको जङ्गलमा रहेको पोखरीमा स्नान गरी चाँगुनारायणमा साँखुबाट बोकेर लगिएका माधवनारायणको पूजा आराधना गर्ने परम्परा छ। परदेश यात्रा सकी व्रतालु चाँगुबाट साँखु फर्किने परदेश यात्राको नियम छ। आइतबार साँखु फर्किने व्रतालुले त्यहीँ भोजन गर्न पाउनेछन्। माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन व्रतालुलाई खीर (तस्मी_ खुवाइएको थियो।
व्रतालुले माघ कृष्ण त्रयोदशी बज्रयोगिनीको यात्रा गरेका थिए। माघकृष्ण चतुर्दशीका दिन साँखुबाट बज्रयोगिनी र पशुपति गइन्छ। त्यसको भोलिपल्ट पशुपतिबाट फर्पिङ बास हुन्छ। अर्को दिन फर्पिङबाट साँखु बास बसेर शुक्ल प्रतिपदामा यात्रा सकेका थिए। माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती पुगी एक रात बास बसिएको थियो। भोलिपल्ट पनौतीबाट साँखु फर्कने परम्परा छ। साँखुमा श्रीपञ्चमी र लगला सप्तमी पर्व मनाइएको थियो।
परदेशमा भोजन गर्ने स्थान
परदेश यात्राका क्रममा भोजन गर्ने स्थान पनि तोकिएको हुन्छ। पशुपतिबाट फर्पिङ जाँदा सानो गौचरण, फर्पिङबाट साँखु आउँदा शङ्खमूल, पनौतीबाट साँखु आउँदा बनेपा र नालाको मध्यभागस्थित भोखुसीमा र चाँगुबाट साँखु आउँदा साँखुमा भोजन गर्ने ठाउँ तोकिएको छ।
परदेश यात्रामा चिउरा, सुन्तला, चाकु, घ्यू, चिनी, लप्सी, रातो मुला, अदुवा आदि लग्नुपर्छ। नजिकका आफन्तले निराहार बसी दूध उमालेर लगिदिएमा खान हुने भोजन विधि रहेको साँखुका स्थानीय जयराम श्रेष्ठले बताए। परदेश यात्रामा व्रतालुका साथ स्वयंसेवक पनि हुन्छन्। व्रतालुले खाली गोडा पैदल हिँडेर परदेश यात्रा गर्ने व्रत विधि रहेको माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।