काठमाडौं : भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ मा अवलोकनकर्ताको आकर्षण बढेको छ। नयाँ-नयाँ प्रविधि र समाधानसहित सहभागी कम्पनीका स्टलमा अवलोकनकर्ताको चासो देखिएको छ।
क्यान इन्फोटेकलाई लक्षित गर्दै प्रदर्शनी स्थलमा विभिन्न प्रविधि कम्पनी तथा संघसंस्थाहरूले आफ्नो ब्राण्ड प्रवर्द्धनसँगै विशेष छुट र अफर घोषणा गरेका छन्। प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी ट्रेनिङ तथा इन्स्टिच्युट, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ता झुम्मिएका छन्।
क्यान इन्फोटेक २०२५ को ब्रान्डिङ कक्षमा कम्पनीहरूलाई ब्रान्डको प्रवर्द्धन गर्न 'बीटुबी जोन' समेत बनाइएको छ। यसमार्फत कम्पनीहरूले आफ्ना डिलर तथा क्लाइन्टसँग प्रत्यक्ष अन्तर्क्रिया गरिरहेका छन्।
शीर्ष प्रायोजक एचएमसी हिक्मेसीले आफ्ना उत्पादनको विशेष प्रदर्शनीसँगै उपभोक्ताका लागि आकर्षक स्किम घोषणा गरेको छ। यसअन्तर्गत वायरलेस क्यामेरामा २० प्रतिशत, हिक्सेमीका हरेक उत्पादनमा १५ प्रतिशत, मोनिटरमा २० प्रतिशत र यूपीएसमा १० प्रतिशत छुट दिइएको छ।
त्यस्तै सहशीर्ष प्रायोजक मर्कन्टाइल कम्युनिकेसन्सले एसर ब्राण्डका पछिल्ला ल्यापटप र डेस्कटपसँगै इप्सन ब्राण्डका प्रिन्टर र प्रोजेक्टरको विशेष प्रदर्शनी गरेको छ। त्यस्तै गोल्ड स्पोन्सर गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रा. लि.ले चार्ज सकिंदा ब्याट्री नै फेर्न मिल्ने गोगोरो स्कुटरमा विशेष स्किम राखेको छ।
यसअन्तर्गत ग्राहकले काठमाडौं सहरभित्र १००० किलोमिटर निःशुल्क यात्रा गर्न सक्नेछन् भने निःशुल्क टेस्ट ड्राइभका साथै लक्की ड्र अफर दिइएको छ।
क्यान इन्फोटेकको इन्टरनेट पार्टनर वर्ल्डलिङ्क कम्युनिकेसन्सले आफ्ना ग्राहकलाई बोट एयरड्रप्स १८१ प्रो र बोट स्टोन ३५२ मार्बल सिरिजमा ५० प्रतिशत छुट प्रदान गरेको छ। त्यस्तै राइड हेलिङ प्लेटफर्म टुटलले क्यान इन्फोटेकमा आउने अवलोकनकर्ताका लागि बाइक र क्याब दुवैमा ६० प्रतिशत छुट प्रदान गरेको छ।
एस पावर बीपीई प्राइभेट लिमिटेडले नेपालका शैक्षिक संघसंस्थाका लागि उपयोगी हुने स्मार्ट बोर्डसहित यूपीएस, अटोमेटिक भोल्टेज रेगुलेटर, वाटरपम्प लगायतका प्रविधिहरूको विशेष प्रदर्शनी गरिरहेको छ । यी उत्पादनमा क्यान इन्फोटेक अवधिभर कम्पनीले अधिकतम ४० प्रतिशतसम्म छुट घोषणा गरेको छ।
त्यस्तै विभिन्न कम्पनीले विश्वविख्यात नेटवर्किङ प्रडक्टहरू, वायरलेस क्यामेरा, सीसीक्यामेरा, स्मार्ट बोर्ड तथा अन्य सेक्युरिटी प्रडक्टहरू विशेष छुटसहित प्रदर्शनीमा राखेका छन् । क्यान इन्फोटेकमा स्वदेशी सफ्टवेयर कम्पनीले आफ्ना नयाँ उत्पादन सार्वजनिक गर्नुका साथै क्यान इन्फोटेक अवधिभर ३० प्रतिशतसम्म छुट घोषणा गरेका छन्।
त्यस्तै, एआईमा आधारित क्यामेरादेखि ह्युमनाइड रोबोट र सेल्फ ड्राइभिङ कारले यसपालिको क्यान इन्फोटेकको रौनकता थपेका छन् । साथै, क्यान इन्फोटेकमै राष्ट्रिय परिचयपत्रको लाइभ इनरोलमेन्ट सुविधा दिइएको छ । क्यान इन्फोटेकमा साइबर सुरक्षा सहायता डेस्कदेखि विद्यार्थीहरूले तयार पारेका डेटा साइन्स, सेन्सर टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स लगायतका प्रोजेक्ट राखिएका छन् । कुल १५५ ओटा स्टलसहित सञ्चालन भइरहेको क्यान इन्फोटेक सोमबार सम्म चल्नेछ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।